ad ad

गण्डकी


९ वर्षका १०८ कन्याबाट महायज्ञ शुभारम्भ, बिहीबार राष्ट्रपतिले साढे ५ हजार किलोको घण्टी उद्घाटन गर्ने

९ वर्षका १०८ कन्याबाट महायज्ञ शुभारम्भ, बिहीबार राष्ट्रपतिले साढे ५ हजार किलोको घण्टी उद्घाटन गर्ने

नेपालखबर
फागुन ९, २०८० बुधबार २१:४७, ढोरपाटन (बागलुङ)

बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा अनन्तश्री ब्रह्माण्डीय महायज्ञ आज (बुधबार)  सुरु भएको छ। पञ्चकोटका संस्थापक एवं यस महायज्ञका परिकल्पनाकार मुक्तिनाथ पीठाधीश्वर स्वार्मी कमलनयनाचार्यको आह्वानमा मुक्तिनाथदेखि नवलपारासीको त्रिवेणीधामसम्मका ९ वर्षीया १ सय ८ कन्याबाट महायज्ञ शुभारम्भ गरिएको हो। नेपालमा पहिलोपटक आह्वान गरिएको यस ब्रह्माण्डीय महायज्ञ यही फागुन २३ गतेसम्म सञ्चालन हुनेछ। 

त्यसैगरी महायज्ञअन्तर्गत बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले पाँच हजार पाँच सय ५५ किलोको महाघण्टको उद्घाटन गर्ने कार्यक्रम रहेको महायज्ञ आयोजक मूल समारोह समितिले जनाएको छ।

विश्वमा शान्तिको सन्देश दिने उद्देश्यसहित देश दर्शन गरेर पञ्कचकोटमा  सो महाघण्ट राखिएको हो। 

महायज्ञस्थलमा ३१ फिट अग्लो धान्य मौलो राखिएको छ। मौलो २५ फिट जमिनमाथि रहने र त्यसलाई धानले पुर्ने महायज्ञको कार्यक्रम रहेको स्वामी कमलनयनाचार्यले बताए। मौलो पुर्नका लागि आवश्यकपर्ने २१ हजार पाँच सय ५५ मुरी धान सङ्कल्पकर्ताहरुबाट सङ्कलन भएको र महायज्ञमा आफैँ उपस्थित भएर अनुष्ठान गरी तथा विभिन्न माध्यमबाट नेपाली दाजुभाइ दिदीबहिनीहरूले सहयोग उपलब्ध गराइरहेको पनि उनले जानकारी गराए। 

आजै महायज्ञमा धनधान्याञ्चल सुरु भएको छ भने यहाँ ब्रह्माण्डका सबै देवीदेवतालाई आह्वान गरी यजन र पूजन गरिने र कार्यक्रम छ। त्यसैगरी यसै महायज्ञअन्तर्गत १५ दिनमा विभिन्न फरकफरक विषयमा विज्ञहरुका कार्यपत्र तथा विचारसहितका सम्मेलन पनि हुने कार्यक्रम छ। 

यसअन्तर्गत हरेक श्रीफल (नरिवल) मा विभिन्न ५४ प्रकारका हवनीय द्रव्यहरूको मिश्रण गरी एक लाख नरिवल हवन गर्ने पनि कार्यक्रम छ। अनुष्ठानसहित हरेक दिन महायज्ञमा वैदिक पूजन जारी रहनेछ भने महायज्ञस्थलमै हरेक दिन फरक-फरक विषयका बहस तथा सम्मेलन पनि जारी रहनेछ। 

जलसम्पदाको संरक्षण गर्ने विश्वव्यापी सन्देश दिन पञ्चकोटमा निर्माणाधीन कलश निर्माण यस महायज्ञका उद्देश्यमध्ये एक हो। विश्वमा सङ्कटपूर्ण बन्दै गएको जलसम्पदाको संरक्षणको सन्देश पनि हामीले नेपालबाटै दिन सकिने उद्देश्य लिइएको र यस महायज्ञमा राष्ट्रिय बहसका कार्यक्रमलाई अघि सारिएको उनले बताए। 

पञ्चकोट विकास परिषद्का अध्यक्ष दामोदर शास्त्री दाहालले राष्ट्रपति, प्रधानमन्त्रीसहित राष्ट्रिय रूपमा विभिन्न व्यक्तित्व उपस्थित हुने जानकारी दिए। उनले महायज्ञका लागि देशभरबाट साधुसन्तहरूको आगमन भएको र भारतलगायतका देशबाट आउने क्रम जारी रहेको जानकारी पनि दिए। 

महायज्ञमा पुग्ने भक्तजनहरूका लागि भोजन र बासको व्यवस्था गरिएको छ। यसका लागि विभिन्न व्यक्ति एवं सङ्घसंस्थाले स्वतःस्फूर्त रूपमा सहयोग गर्ने क्रम जारी रहेको महायज्ञका आयोजकले जनाएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .