पुसको दोस्रो साता पोखरामा नेपाल–चीन मैत्रीपूर्ण ‘ड्रागन बोट रेस’ हुने भएको छ। पर्यटकीय राजधानी पोखरामा वाटर स्पोर्टसको रुपमा गतवर्षदेखि थपिएको ड्रागन बोट रेसको दोस्रो संस्करण १३ देखि १५ (डिसेम्बर २८–३०) सम्म फेवातालमा हुनेछ।
महोत्सवका रूपमा सञ्चालन गर्न लागिएको प्रतियोगितामा नेपालका ११, मित्रराष्ट्र चीनका ८ र सिंगापुरको एउटासहित गरी कुल २० समूहको सहभागिता रहनेछ। प्रतियोगिता २०५ मिटर गरी दुई विधामा हुनेछ। नेपालबाट नेपाल टीम, पोखरा महानगरपालिका टिम, राना टिम, ड्रागन बोट एसोसिएसन बागमती, कर्णाली, गण्डकी, त्रिभुवन आर्मी क्लब, हिमालयन रिभर गाइड एशोसिएनसन, नेपाल र्याफ्टीङ एसोसिएसन, बेगनास र रुपाताल टिमको सहभागिता रहनेछ।
चीनबाट वुहान स्पोट्र्स युनिभर्सिटी, हुवेइ युनिभर्सिटी, डोङवान ड्रागन बोट क्लब, साउथवेष्ट्रन मेडिकल युनिभर्सिटी, लिओचिङ युनिभर्सिटी, टिम अफ लिन्झी टिी, युनान नर्मल युनिभर्सिटी र युनान मिन्जु युनिभर्सिटीको सहभागिता रहने छ। यस्तै सिंगापुरबाट केजिएच सिंगापुर एसजी ड्रागन्सको सहभागिता रहनेछ।
गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सहआयोजनामा हुन लागेको हो।
प्रतियोगिताको विजेताले नगद ५ हजार अमेरिकी डलर (नेपाली करिब ६ लाख ७९ हजार रुपैयाँ), उपविजेताले नगद २ हजार डलर (नेपाली करिब २ लाख ७१ हजार रुपैयाँ), तृतीय हुनेले नगद १ हजार २ सय डलर (नेपाली करिब १ लाख ६३ हजार रुपैयाँ) प्राप्त गर्नेछन्।
प्रतियोगितामा सहभागी बाँकी १७ वटा समूहलाई नगद ५ सय अमेरिकी डलर (नेपाली करिब ६८ हजार रुपैयाँ) पुरस्कार दिइने छ।
मित्र राष्ट्र चीनमा अत्यन्त लोकप्रिय रहेको ऐतिहासिक ड्रागन बोर्ड रेस प्रतियोगिता गतवर्षदेखि पोखराको फेवा र वेगनासतालमा सञ्चालन गरिँदै आइरहेको छ।
प्रतियोगिताले नेपाल–चीन दुईपक्षीय सम्बन्धमा नयाँ आयाम थप्ने, पोखरामा वाटर स्पोर्टसका नयाँ सम्भावनाहरूको खोजीमा सहयोग गर्ने, पोखराका तालहरूलाई आकर्षणको केन्द्रका रूपमा विकास गर्ने, पोखरा र आसपासको पर्यटन विकासमा टेवा पुराउन महत्त्वपूर्ण सहयोग पुग्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए।
मेयर आचार्यले हालैमात्र नेपालका प्रधानमन्त्री केपी ओलीले चीन भ्रमणको क्रममा रहँदा पोखरामा आयोजना हुने ड्रागन बोट रेस र नेपाल–चीन क्रस कन्ट्री रेसलाई मित्रताको प्रतिकको रुपमा लिइए स्मरण पनि गरे। यी दुई प्रतियोगिताका कारण चीनका पर्यटक पोखरामा आउने दरमा बृद्धि हुने पनि उनको भनाइ थियो। उनका अनुसार पोखराले आगामी २०२५ लाई पोखरा भ्रमण वर्षको रुपमा मनाउन लाग्दा चीनलेसमेत २०२५ लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउन लागेको छ।
प्रतियोगिताबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ राजदूतावासका डिसिएम वाङ् सीले पोखराको अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार र पोखराको पर्यटन प्रवद्धनका लागि विभिन्न खाले कार्यक्रमहरूमा सहकार्य गर्न तत्पर रहेको बताए।
Shares

प्रतिक्रिया