शनिबार बिहान पोखराका मेयर धनराज आचार्य अघिल्लो वर्षको चैत ४ गतेजस्तै व्यस्त र प्रफुल्ल देखिन्थे। अघिल्लो वर्ष तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई प्रमुख अतिथि बनाएर पोखरालाई ‘पर्यटकीय राजधानी’ घोषणा गरेका उनी शनिबार नै ‘पोखरा भ्रमण वर्ष २०२५’ को विधिवत् सुरुवात गर्दै थिए।
प्रमुख अतिथिको रुपमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल पोखरा आइसकेका थिए। घोषणा सभाभन्दा अघि चिप्लेढुंगाबाट नयाँबजारसम्म आयोजित र्यालीमा दौरा–सुरुवालमा ठाँटिएका मेयर सरिक थिए।
चालु अंग्रेजी वर्ष २०२५ भित्र पोखरामा २० लाख आन्तरिक र बाह्य पर्यटक भित्र्याउने महत्वकांक्षासहितको भ्रमण वर्षको उद्घाटन सत्र पनि भव्य नै थियो। आकर्षक मञ्चको निर्माण, साँस्कृतिक झाँकी र नृत्यले माहौल गर्माएकै थियो। त्यस्तैमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई कार्यक्रम उद्घाटनको आग्रह गरियो। उनले हातमा भएको रिमोट दबाएर मञ्चको अगाडि रहेको विद्युतीय बत्ति बाले।
त्यसपछि पोखरा भ्रमण वर्ष २०२५ लेखिएको बेलुन उडाउन भन्दै उनीहरु तल झरे।

मञ्चको अगाडि विद्युतीय स्पार्कल राखिएको थियो। बेलुन उडाउन तम्तयार परेका प्रमुख अतिथि पौडेल र मेयर आचार्यले हातमा लिएको बेलुनको झुत्तोमा एकाएक आगो देखियो र सेकेण्डभरमै बिस्फोट भयो। बिस्फोटपछि त्यहाँ भागाभाग भयो। आगोको लप्काले मेयर आचार्यको गालामा पोलेको प्रष्टै देखियो।
उता, प्रमुख अतिथि पनि घाइते भए। उनीहरु दुवैलाई तत्काल पोखराको गैह्रापाटनमा रहेको फिस्टेल अस्पताल लगियो र सामान्य उपचारपछि काठमाडौंको शिक्षण अस्पतालअन्तर्गतको जलन उपचार केन्द्रमा लगियो।अस्पतालले दुवैजनाको अनुहारमा ५/६ प्रतिशत जलन भएको जानकारी गराएको छ।
‘उहाँहरुको प्रारम्भिक मूल्यांकन अनुसार ५–६ प्रतिशत जलेको तर अनुहारमा जलन भएकोले स्वासनली र फोक्सोमा असर पर्न सक्ने सम्भावना रहेकोले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता देखिन्छ,’ अस्पतालले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

आगो कसरी लाग्यो?
उडाउन लागेको बेलुन एकाएक कसरी बिस्फोट भयो? पोखरा यतिबेला यो प्रश्नले तातेको छ। सामान्यतयाः हिलियम ग्यास भरिन्छ। हिलियम बल्दैन। तर, भ्रमण वर्षको उद्घाटन सत्रमा उडान लागिएको बेलुनमा हाइड्रोजन भरिएको अनुमान लगाइएको छ। आगोको झिल्को चाहिँ मञ्चको अगाडि रहेको स्पार्कलको बेलुनमा पर्यो र बिस्फोट भयो।
‘यस्तो दुर्घटना जन्मदिन मनाउने क्रममा पनि भएका हामीले सुनेका छौँ, स्पार्कलबाट निस्कने झिल्काले आगो लगाउने सम्भावना बढी हुन्छ। आज पनि भएको त्यही हो,’विद्युतीय सामग्री बिक्री–बितरण गर्ने एक व्यवसायीले भने,‘बेलुनलाई त्यस (स्पार्कल) बाट जोगाउनुपर्थ्यो। नजोगाउँदा दुर्घटना भयो।’
उनले बेलुनमा के भरिएको थियो भन्नेबारे चाहिँ थाहा नभएको बताए।

त्यो पर्यटकी राजधानी र यो भ्रमण वर्ष
अघिल्लो वर्षको मध्यतिर गण्डकी प्रदेश सरकार र पोखरा महानगर मिलेर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नका निम्ति अध्ययन समिति गठन गरियो। गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा। कृष्णचन्द्र देवकोटाको संयोजकत्वमा गठित समितिले राजधानी घोषणासँगै हुने लाभ, गर्नुपर्ने कामहरुको फेहरिस्त बुझायो। प्रधानमन्त्रीकै उपस्थितिमा राजधानी घोषणा पनि भयो तर त्यसलाई संघीय मन्त्रिपरिषद्ले भने घोषित रुपमा मान्यता दिएन/दिएको छैन।
घोषणा कार्यक्रममा भने तत्कालीन प्रधानमन्त्री प्रचण्डले ‘कसैले भने पनि नभने पनि पोखरा पर्यटकी राजधानी नै भएको र यसलाई औपचारिकता प्रदान गर्ने’ भन्ने अभिव्यक्ति दिएका थिए। मेयर आचार्य संघीय सरकारले नै पोखरालाई औपचारिक रुपले पर्यटकी राजधानी घोषणा गरोस् भन्ने चाहन्थे।
त्यसो त भएन नै,घोषणापछि अन्तर्राष्ट्रिय रुपले पोखरा चिनिएको दाबी गरिए पनि त्यसले यहाँको पर्यटनमा तात्विक फरक पारेन। अघिल्ला वर्षजस्तै सामान्य गतिविधि भए। जसले गर्दा घोषणाको औचित्यमाथि प्रश्न उठाइयो। अवस्था अहिले पनि उस्तै छ।

अझ, पोखरा विमानस्थलबाट सोझो अन्तर्राष्ट्रिय उडान सुनिश्चित नहुँदा तथा पृथ्वी राजमार्गको स्तरोन्नतिको काम ढिला हुँदा यहाँबाट संघीय राजधानीसम्मको यात्रा पनि कष्टकर भन्यो। २ सय किलोमिटर बाटो काट्न ८ घण्टाभन्दा बढी लाग्ने भएपछि पर्यटकहरुले पोखरा आउन झिँजो माने।
उता, बुटबलसँग जोडिएको सिद्धार्थ राजमार्ग दुई लेनको बनाउन संघीय सरकारलाई गरिएको आग्रह पनि कार्यान्वनयमा आएन। सडक मार्ग सहज नहुँदा पर्यटक घट्नु स्वभाविक थियो। त्यो कुरा भ्रमण वर्ष घोषणा कार्यक्रममा गण्डकीका मुख्यमन्त्रीले पनि स्वीकारेका थिए।
पृथ्वी राजमार्गको स्तरोन्नतिमा ढिलाइ हुँदा,पोखराबाट अन्तर्राष्ट्रिय उडान नहुँदा नारायणगढ–बुटबल सडकमा पनि त्यस्तै हुँदा यहाँको पर्यटन उद्योगमा समस्या परेको उनको भनाइ थियो।
भ्रमण वर्ष षोषणासँगै भने पोखरा आउने पर्यटकको लागि विभिन्न सहुलियत घोषणा र वर्षभर गरिने कार्यक्रमको फेहरिस्त प्रस्तुत गरिएको छ।
Shares

प्रतिक्रिया