स्याङ्जाली र झापालीबारे अनेकौं उखान–टुक्का बनेका छन्। ‘गसिप’ मा रमाउनेहरू अहिले पनि स्याङ्जाली र झापालीमध्ये को बाठो भन्ने चर्चा गरिरहेका हुन्छन्। कसैले आफ्नो घर स्याङ्जा भन्यो भने मान्छे दच्किन्छन्। त्यही भनाइको जगमा ‘स्याङ्जालीलाई नभन जाली...’ गीत जन्म्यो। विष्णु माझी र खुमन अधिकारीले गाएको यो गीत अहिले पनि लोकप्रियकै सूचीमा छ। स्याङ्जालीसँगै सुत्दा पनि हातका बुढीऔंला लुकाएर सुत्नुपर्छ,नत्र निद्रामै कता लगेर ल्याप्चे ठोकिदिन्छन् भन्नेसम्मका ठट्यौलीमा पनि यही परिवेशमा जन्मे।
हुन पनि त्यस्तै भयो, २०७९ को चुनावमा स्याङ्जा क्षेत्र नम्बर २ मा मरेका मान्छेको नाममा पनि मत खसेको हल्ला चल्यो। त्यो हल्ला सर्वोच्च अदालतसम्म पुग्यो। सामाजिक सञ्जालमा ‘मरेका मान्छेले पनि भोट हालेको’ हल्ला भाइरल बन्यो। स्याङ्जाबाट प्रतिनिधि सभामा कांग्रेसका तत्कालीन उपसभापति धनराज गुरुङ र एमालेकी सचिव पद्मा अर्याल प्रतिस्पर्धामा थिए। एमालेकै प्रदेशतर्फका उम्मेदवारले हालेको कांग्रेसले केही बुथ कब्जा गरिएकोले पुनः मतदान माग गरिएको उजुरीमा सर्वोच्चले ‘जसले आरोप लगाउँछ, उसैले प्रमाणित गर्नुपर्छ’ भन्ने तर्कसहित खारेज गरेको थियो।
स्याङ्जामा २ निर्वाचन क्षेत्र छन्। अहिले स्याङ्जालाई झापाले माथ खुवाइदिएको छ। एमाले अध्यक्ष केपी ओलीसँग पौंठेजोरी खोज्न काठमाडौंका निवर्तमान मेयर बालेन साह झापा ५ झरेसँगै झापा अहिले चर्चाको चुलीमा छ।
‘एक घरः एक अधिकृत’ अर्थात् निजामती कर्मचारी जन्माउने तथा ‘जाली–फटाहा’को आरोप लाग्ने कहावत जोडिएको स्याङ्जाको चुनावी चर्चालाई झापाको सेपमा पारे पनि यहाँको प्रतिस्पर्धा कम रोचक चाहिँ पक्कै छैन।
स्याङ्जा २ कै कुरा गरौँ न!
स्याङ्जा २ मा वालिङ नगरपालिकाको ३ र ४ बाहेकका १२ वडा, चापाकोट नगरपालिका, गल्याङ नगरपालिका, भिरकोट नगरपालिकाका ५,६,७,८ र ९ नम्बर वडा तथा कालीगण्डकी गाउँपालिकाका सबै वडा पर्छन्।अहिलेको चुनावमा त्यहाँबाट ६० हजार २३६ महिलासहित १ लाख १७ हजार ९१७ मतदाताले मतदान गर्दैछन्।
२०७४ सालको चुनावमा तत्कालीन उपप्रधानमन्त्री तथा कांग्रेसका हस्ती गोपालमान श्रेष्ठलाई ३ हजार ७१५ मतले पराजित गर्दै एमाले नेतृ पद्मा अर्याल स्याङ्जा क्षेत्र नम्बर २ मा स्थापित बनिन्। उनले ३५ हजार १४२ मत ल्याउँदा गोपालमानले ३१ हजार ४३६ मत पाएका थिए। त्यो विजयपछि उनी मन्त्री बनिन्। हाल उनी एमाले सचिव छन्।
२०७९ सालको विवादित निर्वाचनमा चाहिँ कांग्रेसका उम्मेदवार धनराज गुरुङले बाजी मारे। धनराजले ३१ हजार ४६६ मत ल्याउँदा पद्माले २५ हजार ८३९ मत प्राप्त गरिन्। त्यो चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टीकराज ८ हजार ३१३ मतसहित आफूलाई तेस्रो स्थानमा उभ्याए। १ लाख १६ हजार ६७८ मतदाता रहेको क्षेत्रमा ७० हजार १९१ मत खसेको थियो।
समानुपातिकतर्फ भने एमाले २२ हजार ८०४ मतसहित पहिलो हुँदा कांग्रेसले २२ हजार २६३ र रास्वपाले १० हजार १२९, माओवादी केन्द्रले ५ हजार २४७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ७३४ मत प्राप्त गरेको थियो।
स्थानीय चुनावको नतिजालाई आधार मान्ने हो भने, भिरकोट नगरपालिकाको ६ नम्बर वडाबाहेक बाँकी ८ वडा कांग्रेसले जितेको छ। वालिङ नगरपालिकाको मेयरमा एमालेका कृष्ण खाँण विजयी बनेका छन्। वालिङमा उपमेयर र १४ मध्ये ४ वटा वडामा मात्र कांग्रेस विजयी भएको छ। चापाकोट र गल्याङ नगरपालिकामा मेयर र उपमेयर दुबै कांग्रेसले जितेको छ भने कालीगण्डकीको अध्यक्ष र उपाध्यक्षसहित ७ मध्ये ४ वडामा एमाले विजयी भएको छ।
तर, हिजो स्थानीय तहमा को विजयी बन्यो भन्नेले यो चुनावमा अर्थ राख्दैन। किनकि, जेन–जी आन्दोलनपछिको परिदृष्य फेरिएको छ। स्याङ्जाको सो चुनावी मैदानमा अहिले कांग्रेसका निवर्तमान उपसभापति धनराज गुरुङ र एमाले सचिव पद्मा अर्याल छैनन्। दुबै पार्टीले त्यहाँ नयाँ अनुहारलाई अवसर दिएका छन्।
स्याङ्जा क्षेत्र नं. २ मा राष्ट्रिय जनमुक्ति पार्टीबाट हरिदेव थापा,नेपाली कम्युनिष्ट पार्टीबाट पदमबहादुर बिक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट झविलाल डुम्रे, नेपाली कांग्रेसबाट भागवत प्रकाश मल्ल, जय मातृभूमि पार्टीबाट धनबहादुर थापा, नेशनल रिपब्लिक नेपाल पार्टीबाट तेजबहादुर थापा, मंगोल नेशनल अर्गानाइजेसबाट खर्कबहादुर थापा, राष्ट्रिय जनमोर्चाबाट राजेन्द्र गैह्रे, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रविन पाठक, नेकपा एमालेबाट खिमबहादुर थापा मैदानमा छन्। यस्तै स्वतन्त्र रुपमा खिमबहादुर क्षेत्री र सागर थापा मगरले पनि जन अनुमोदित हुने जमर्को गर्दैछन्।
कांग्रेसका भागवत प्रकाश मल्ल २०७४ सालका प्रदेश सभा सांसद हुन्। देशैभर नेकपाको लहर चल्दा उनले स्याङ्जा २ ‘ख’ बाट चुनाव जितेका थिए। ५ वर्ष प्रदेश सभा सदस्यको रुपमा बिताएका उनी निर्माण व्यवसायीसमेत हुन्। २०३३ सालमा जन्मेका भागवतमाथि आर्थिक र चारित्रिक दाग लागेको छैन। युवामाझ लोकप्रिय रहेका भागवत सामु दोस्रोपटक आफूलाई चुनावी मैदानको असली घोडा सावित गर्नुपर्ने चुनौती छ। यो चुनौती चिर्न उनले बदलिएको कांग्रेस देखाउँदै देश बदल्ने प्रण गरिरहेका छन्। लोकप्रियताको हिसाबले पहिलो नम्बरमा रहेका उनी निर्विकल्प भने छैनन्।
एमालेको तर्फबाट उम्मेदवारी दिएका खिमबहादुर थापा कालीगण्डकी गाउँपालिकाका अध्यक्षबाट राजीनामा दिएर संसदीय चुनावमा होमिएका हुन्। एमालेको ११औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा चुनिएका थापालाई जनस्तरमा भिजेको नेताको रुपमा अगाडि सारिएको सो पार्टीका नेताहरू बताउँछन्।
पद्माले २०७४ सालमा बनाएको जीतको इतिहास दोहोर्याउने दाबी गर्दै आएका उनीसँग गाउँपालिका महासंघको उपाध्यक्षको भूमिका निभाएको अनुभव पनि छ। स्थानीय स्तरका मुद्दाहरूलाई केन्द्रमा राख्दै चुनावमा होमिएका थापा संघीयता बलियो बनाउन तीनवटै तहका सरकारबीच समन्वय जरुरी रहेको धारणा राख्छन्।
२०७९ सालको चुनावमा होमिएका टीकराज गुरुङ अहिले ओझेलमा छन्। स्याङ्जा २ मा सम्मानजनक मत प्राप्त गरेका उनको सट्टा राष्ट्रिय स्वतन्त्र पार्टीबाट छविलाल डुम्रे उम्मेदवार छन्। छविलाल व्यवसायी हुन्। पोखरामा व्यवसाय गर्दै आएका उनी हाल रास्वपाको केन्द्रीय संगठन विभागका सदस्य हुन्। जेन–जी आन्दोलनले खोजेको परिवर्तनको पक्षधर बताउने उनी स्याङ्जाको भूगोल र त्यसको आवश्यकता बुझेको दाबीमात्र गर्दैनन्,अवसर पाउँदा काम गरेर देखाउने प्रतिवद्धता पनि व्यक्त गर्दैछन्। ठूला सपना हैन, साना समस्या समाधानमा ध्यान केन्द्रित गर्ने चुनावी नारासहित उनी मैदानमा छन्।
नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार पदमबहादुर बिक राजनीतिक परिवर्तनसँगै आर्थिक र सामाजिक न्याय पनि चाहिन्छ भन्दै चुनावी मैदानमा छन्। माओवादी जनयुद्धकालीन समयदेखि नै वर्गीय चेतसहित आन्दोलनमा सक्रिय सहभागिता जनाउँदै आएका बिकले राजनीति शास्त्रमा स्नाकोत्तर गरेका छन्। कानुनका स्नातक बिक जनपक्षीय नीति निर्माणको आफ्नो एजेण्डालाई जनताले अनुमोदन गर्ने बताउँछन्। मैदानमा अरु दल र स्वतन्त्र उम्मेदवार पनि छन् तर कर्मचारी जन्माउने स्याङ्जाको यो क्षेत्रबाट जो विजयी बने पनि नयाँ नेता चाहिँ जन्मिने छ।
Shares

प्रतिक्रिया