अफगानिस्तानमा तालिबानले कब्जा गरेपछि काबुल एयरपोर्टमा भागदौड मच्चिएको छ। अमेरिकी सेनाको नियन्त्रणमा रहेको काबुल विमानस्थलमा देश छाड्न हतारिएका नागरिकबीच भागदौड मच्चिएको छ।
काबुल एयरपोर्टबाट जहाज चढेर अन्य देश जान हजारौँ अफगानीहरु तँछाड मछाड गरिरहेका छन्। रोयटर्सका अनुसार भागदौडका क्रममा एयरपोर्टमा गोली चल्दा पाँचजना मारिएका छन्। घटनामा अन्य कयौँ मानिस घाइते भएका छन्।
सामाजिक सञ्जालमा आएको भिडियोमा विमानस्थलमा शवहरु छरिएको देखिएको छ।
यसैबीच काबुलका कयौँ क्षेत्रमा लुटपाट मच्चिएको खबर आएको छ। सरकारी नम्बर प्लेटका गाडी पनि लुटपाट भइरहेको छ। केही मानिसले आफ्ना निजी गाडी पनि लुटिएको बताएका छन्।
विमानस्थल नजिक आवासीय कोलोनीमा गोली चलेको छ।
अर्कातिर सरकारी एजेन्सीका कार्यालयमा पनि लुट मच्चिएको छ। तालिबानले अराजक तत्वले आफ्नो नाममा लुट मच्चाइएको बताउँदै संवेदनशील दस्तावेज पनि जलाइएको बताएको छ।
अफगानिस्तान कब्जा गरेपछि तालिबानले सबै नागरिकको ज्यान धन सुरक्षित हुने बताइरहेको छ। तर काबुल विमानस्थलबाट हताहतीको खबर आएको छ।
काबुल एयरपोर्ट नजिकै कयौँ यस्ता महिलामाथि गोली हानिएको छ जसले हिजाब लगाएका थिएनन्। तालिबानले यस खबरलाई गलत भनेको छ। यस्तो समाचार तालिबानलाई बदनाम गराउन आइरहेको उसले जनाएको छ।
Shares

प्रतिक्रिया