ग्लोबल


साउदीमा बहसको विषय बन्यो रोनाल्डो जोडी

साउदीमा बहसको विषय बन्यो रोनाल्डो जोडी

आफ्नी पार्टनर जर्जिनासँग क्रिस्टियानो रोनाल्डो


नेपालखबर
पुस २७, २०७९ बुधबार १९:२३, काठमाडौँ

विश्वका उत्कृष्ट फुटबल खेलाडीमध्येका एक क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको अल–नासर क्लबमा आबद्ध भएदेखि नै उनका धेरै तस्बिर र भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।

केही तस्बिरमा उनी साउदीका अधिकारीहरूसँग खाना खाएको र केही भिडिओमा अभ्यास गरिरहेको देखिन्छन्। तर, दुई खेलको प्रतिबन्धका कारण उनले साउदी क्लबबाट अहिलेसम्म कुनै खेल खेल्न पाएका छैनन्।

तर उनको व्यक्तिगत जीवन साउदी अरबमा बहसको विषय बनेको छ। किनभने रोनाल्डो आफ्नो लिभ इन पार्टनर जर्जिनासँग साउदी अरेबियाको एक आलिशान घरमा बसिरहेका छन्।

तर साउदी अरबमा लागू इस्लामिक शरिया कानुनले यसरी अविवाहित महिला–पुरुषलाई सँगै बस्न अनुमति दिँदैन। साउदी अरबमा, कुनै पनि अविवाहित जोडीले यौनसम्पर्क राख्नु वा सँगै बस्नु दण्डनीय अपराध हो। यसका लागि कडा सजायको व्यवस्था पनि छ।

अहिलेसम्म यस विषयमा साउदी अरेबियाका अधिकारी, अल नासर फुटबल क्लब वा रोनाल्डोले कुनै बयान जारी गरेका छैनन्।

रोनाल्डो साउदी अरेबिया पुगेपछि क्लबका तर्फबाट उनलाई गरिएको भव्य स्वागत समारोहमा उनकी पार्टनर जर्जिनाले अबाया लगाएर सहभागी भएकी थिइन्।

रोनाल्डोको साउदी क्लबमा आबद्ध हुनुलाई अरब देशको फुटबल जगतमा कोसेढुङ्गाको रुपमा हेरिएको छ।

अर्कातर्फ पर्यवेक्षकहरूले पनि यसको राजनीतिक र सांस्कृतिक असरबारे चर्चा गरिरहेका छन्।

रोनाल्डोलाई आफ्नो केटी साथी जर्जिनासँग साउदी अरेबियामा बस्न छुट मिल्न सक्ने फुटबल जगतसँग जोडिएका मानिसहरुको विश्वास छ।

साउदी अरेबियाको शरिया कानुन र रोनाल्डो
साउदी अरबमा शरिया कानुन लागू छ जसले अविवाहित जोडीहरूलाई सँगै बस्न प्रतिबन्ध लगाउँछ। 

यस कानुनको उल्लङ्घनमा कडा कानुनी कारबाही हुन सक्छ। तर पछिल्ला केही वर्षदेखि विदेशीहरूका लागि यो कानुन कार्यान्वयनमा उदारता अपनाइएको छ। 

सन् २०१९ मा साउदी अरेबियाको भिसा नीति खुकुलो पारिएको थियो, जसअनुसार अविवाहित विदेशी जोडीले पनि होटलमा कोठा लिन पाउनेछन् भने महिलाले पनि होटलको कोठामा बस्न पाउनेछन् तर उनीहरू एक्लै बस्न पाउनेछन्। यसअघि कोठा पाउन दम्पतीले विवाहको प्रमाण पेस गर्नपर्थ्यो। 

तर रोनाल्डो र जर्जिना लामो समय साउदी अरेबियामा बस्नुपर्ने भएकाले उनीरूरुको त्यहाँ बसाइ बहसको विषय बनेको छ।

यस सम्बन्धमा कानुनी विज्ञहरूको पनि एउटै मत छ – साउदी अरेबियाले कानुन परिवर्तन गर्दैन तर रोनाल्डो र जर्जिनाका विषयमा पनि विदेशीहरूप्रति अपनाइएको नरमपन देख्न सकिन्छ।

स्पेनिस समाचार एजेन्सी ईएफईले दुई साउदी अरेबियाका वकिललाई उद्धृत गर्दै रोनाल्डो उत्कृष्ट खेलाडी भएकाले उनलाई साउदी अरब सरकारको कारबाहीबाट बचाउन सक्ने बताएको छ।

समाचार एजेन्सीसँग कुरा गर्दै यी वकिलले भनेका छन्, ‘कानुनअनुसार विवाह नगरी सँगै बस्नु अपराध हो। तर सरकारी निकायले अहिले यी सबैलाई बेवास्ता गर्न थालेका छन् र कसैलाई कारबाही हुँदैन। तर कुनै अपराध भएमा यो कानुन लागू हुन्छ।

रोनाल्डो र जर्जिनाको सम्बन्ध अहिले झन्डै ७ वर्ष पुरानो भइसकेको छ। रोनाल्डो स्पेनिस फुटबल क्लब रियल मड्रिडबाट खेल्दा सन् २०१६ देखि उनीहरू सँगै छन्।

साउदी सरकारले रोनाल्डोलाई यो छुट दिने अधिकांशले अनुमान गरिरहेका बेला सामाजिक सञ्जालमा एक जनाले ‘कानुन र धर्म गरिबका लागि मात्र हो’ भन्ने देखाएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

त्यसैगरी केहीले भने यस सम्बन्धमा साउदी अधिकारीको सम्भावित सहुलियतको पनि स्वागत गरेका छन् तर रोनाल्डोले अब जर्जिनासँग विवाह गर्ने कि नगर्ने भन्ने प्रश्न पनि गरेका छन्।

जर्जिना र रोनाल्डोले अहिलेसम्म विवाह गरेका छैनन् तर उनीहरुका दुई सन्तान छन्। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad