प्रदेश १ को उपसभामुखका लागि नेकपा एमालेभित्र चार जना आकांक्षी देखिएका छन्। जसका कारण सरकारको नेतृत्व गरिरहेको एमालेलाई सहमतिमा उपसभामुखको नाम चयन गर्न सकस भएको छ।
केन्द्रमा भएको सहमति अनुसार प्रदेश १ मा सभामुख माओवादी केन्द्र र उपसभामुख एमालेको भागमा परेको छ।
प्रदेश १ को उपसभामुख बन्ने दौडमा सुनसरीकी निरा खनाल, भोजपुरकी सिर्जना राई, उदयपुरकी सिर्जना दनुवार र तेह्रथुमकी कमला दर्नाल छन्। यी मध्येबाट एक जनालाई एमालेले उपसभमुख बनाउने छ।
उपसभामुखको दौडमा रहेकी खनाल एमाले नेता एव पूर्व मुख्यमन्त्री भिम आचार्यकी श्रीमती हुन्।
प्रदेश सभाको भोलि बस्ने बैठकमा उपसभामुखको लागि निर्वाचनको तालिका सार्वजनिक गर्ने कार्यसूची रहेको छ ।
सर्वदलीय बैठकले २८ गते सभामुखको निर्वाचन गर्ने र उपसभामुखको निर्वाचन पुस ३० मा गर्ने यसअघि नै सहमति भइसकेको छ। जस अनुसार प्रदेश १ ले भोलि बिहीबार नयाँ सभामुख पाउँदैछ। ओखलढुंगा क्षेत्र नम्बर २ बाट निर्वाचित माओवादी केन्द्रका सांसद बाबुराम गौतम सभामुख बन्ने पकापक्की छ।
उपसभामुखको लागि भने सभामुख चयन भएलगतै निर्वाचन कार्यतालिका सार्वजनिक हुने छ। तर चार सांसदले उपसभामुख बन्ने आकांक्षा देखाएपछि एमालेले अहिलेसम्म् टुंग्याउन सकेको छैन।
सभामुख र उपसभामुख चयन गर्दा दुईमध्ये एकजना महिला हुनुपर्ने व्यवस्था धारा १८२ को २ मा उल्लेख छ। जस अनुसार सभामुखमा गौतम चयन हुने पकापक्की भएकाले अब उपसभामुख भने प्रदेश १ ले महिला पाउनेछ।
कुल ४० सिट रहेको एमालेका १४ जना महिला सांसद रहेका छन्। एमाले प्रदेश १ का प्रमुख सचेतक रेवतीरमण भण्डारीले उपसभामुख महिला बनाउने पर्ने संवैधानिक प्रावधान रहेकाले आकांक्षीहरुबीच छलफल गरी सहमतिमा नाम चयन गर्ने प्रयास भइरहेको बताए।
उनले भोलिसम्ममा उपसभामुखको नाम सहमतिमा नै टुंगिने दाबी गरे।
‘आकांक्षी मध्ये एक जनाको नाममा सहमति खोज्ने प्रयास भइरहेको छ’ भण्डारीले भने, ‘भोलिसम्ममा यो विषय टुंगिन्छ। आकांक्षीहरुबीच मध्येबाटै उपसभामुखको लागि नाममा सहमति हुनेछ।’
प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीको नेतृत्वको सरकारको पहिलो क्याबिनेट बैठकबाटै अबको मन्त्रिमण्डल बढीमा ९ सदस्यीय बनाउने निर्णय गरेसँगै एमाले भित्रबाट मन्त्रीको दौडमा रहेका कतिपय महिला सांसदहरु उपसभामुखको लाइनमा उभिएका छन्।
प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्रमा सभामुख र उपसभामुख चयन गरिसक्नु पर्ने संवैधानिक व्यवस्था छ।
संविधानको धारा १८२ को उपधारा १ अनुसार प्रदेश सभाका सभामुख र उपसभामुखको चयन प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र गर्ने व्यवस्था छ। प्रदेश १ प्रदेश सभाको पहिलो बैठक गएको पुस १७ गते बसेको थियो।

प्रतिक्रिया