पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले शनिबार लाहोरको मिनार–ए–पाकिस्तानमा ठूलो र्याली गरेका छन्।
यस क्रममा इमरानका हजारौं समर्थक जम्मा भएका थिए। खानले उक्त र्यालीलाई एक बुलेट प्रुफ सिसापछाडिबाट सम्बोधन गरे। यस क्रममा उनले आफू आतंकवादी नभएको बरु शाहबाज सरकार आफै अपराधीहरूले भरिएको आरोप लगाए।
'चुनावमा समान अवसरको मतलब इमरान खानको हात बाँध्नु होइन, हाम्रो पार्टीविरुद्ध करिब १५० मुद्दा दायर भएका छन्। पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) सरकारले हामीलाई किाराकृत गर्न यस्तो गरिरहेको छ,' उनले भने।
विधिको शासन भए मात्रै आफूहरू स्वतन्त्र हुने बताउँदै शाहबाज सरकारले गैरकानूनी काम गरिरहेको आरोप उनले लगाए।
उनले भने, 'यो कस्तो लोकतन्त्र हो? जहाँ पहिले म र मेरो पार्टीलाई षडयन्त्रमा सत्ताबाट निकालियो। अहिले बिना कारण ममाथि ४० वटा आतंकवादको मुद्दा लगाइएको छ। नयाँ सरकार अपराधीले भरिएको छ। मुलुकमा विधिको शासन भए मात्रै हामीले स्वतन्त्रता पाउनेछौँ।'
खानले विश्वासको मत नपाएपछि पाकिस्तानमा अघिल्लो वर्ष शाहबाज सरिफ प्रधानमन्त्री नियुक्त भएका थिए।
र्यालीका क्रममा इमरान खानले पहिलोपटक प्यालेस्टिनी जनताले जे महशुस गरिरहेका छन्, आफ्नै देशमा त्यस्तै महशुस गरेको बताए।इमरान खानले प्रश्न सोध्दै भने, ‘पुलिसले मलाई झूटा मुद्दामा पक्राउ गर्न मेरो घरमा आक्रमण गर्यो। प्रहरीसँगको झडपको समयमा, मानिसहरूले मलाई समर्थन गरे किनभने उनीहरूलाई थाहा थियो कि म सही छु। उनीहरूले मविरुद्ध ४० वटा आतंकवादी मुद्दा दायर गरेका छन्। के इमरान खान आतंकवादी हो भनेर देशले स्वीकार गर्नेछ?'
इमरानले र्यालीमा आएका आफ्ना समर्थक र पीटीआई कार्यकर्तालाई धन्यवाद दिए।
उनले भने– सरकारले यो र्याली रोक्न हरसम्भव प्रयास गरेको छ।
मानिसहरु मिनार–ए–पाकिस्तान पुग्न नपरोस् भनेर सडकमा कन्टेनर राखिएको थियो। र्यालीलाई ध्यानमा राख्दै लाहोरका धेरै ठाउँमा कन्टेनर तैनाथ गरी बाटो बन्द गरिएको थियो।
जमान पार्क, मिनार–ए–पाकिस्तानलगायत धेरै क्षेत्रमा इन्टरनेट सेवा पनि बन्द गरिएको छ। लाहोरका विभिन्न क्षेत्रबाट करिब ७५ जना पीटीआई कार्यकर्ता पक्राउ परेका छन्।
तर, र्यालीमा हुनसक्ने सम्भावित दुर्घटनालाई ध्यानमा राखी ती बन्देज लगाइएको दाबी प्रहरीले गरेको छ। र्यालीमा जानबाट समर्थकलाई रोक नलगाइएको प्रहरीले बताएको छ।
प्रतिक्रिया