ग्लोबल


इरान-साउदी अरब मित्रतापछि चीनको अर्को पहल : टुंगिँदै नौ वर्ष लामो यमनी गृहयुद्ध, शान्ति सम्झौता तयारी

इरान-साउदी अरब मित्रतापछि चीनको अर्को पहल : टुंगिँदै नौ वर्ष लामो यमनी गृहयुद्ध, शान्ति सम्झौता तयारी

यमनका हुती विद्रोहीहरुसँग एक बालक। तस्बिर : बीबीसी


नेपालखबर
चैत २७, २०७९ सोमबार १५:५२, काठमाडौँ

यमनमा सन् २०१४ देखि जारी गृह युद्ध टुंगिनेतर्फ अघि बढेको छ। यसका लागि साउदी अरब र ओमानको एक टोलीले आइतवार यमनमा हुती विद्रोहीसँग वार्ता गरेको छ। 

अलजजिराका अनुसार दुवै पक्ष युद्धबिराम सम्झौताका लागि सहमतिनजिक पुगेका छन्। 

यो वार्तालाई अघिल्लो महिना चीनको पहलमा साउदी अरब र इरानबीच भएको शान्ति सम्झौताको नतिजा भनिएको छ। 

साउदी र ओमानको टोलीले यमनको  सबैभन्दा धेरै भूभागमा कब्जा जमाएको हुती विद्रोहीका प्रमुख मेहदी अल मशतसँग भेट गरेको छ। दुवै पक्षले यमनमा शान्ति स्थापना गर्ने कुरामा जोड दिएका छन्। 

साउदी टोली र हुती विद्रोहीबीच भएको सम्झौतालाई अहिलेसम्म सार्वजनिक गरिएको छैन।  तर बीबीसीका अनुसार यसबारेमा जोडिएका कयौँ विवरणसहितका समाचार सार्वजनिक भएका छन्। 

अमेरिकाले नसकेको चीनलले गर्‍यो
यमनमा ९ वर्षदेखि चलिरहेको गृहयुद्ध जारी राखिरहन साउदी अरब र इरान दुई महत्वपूर्ण शक्ति थिए। यमनी सरकारलाई अहिले साउदीको समर्थन छ। उता हुती विद्रोहीलाई इरानले साथ दिएको छ। 

यस्तोमा इरान र साउदीबीचको शत्रुतापूर्ण सम्बन्ध सकिएपछि यसको सिधा असर यमनको युद्धमा पर्ने आँकलन पहिले नै गरिएको थियो।

११ मार्चमा चीनको राजधानी बेइजिङमा इरान र साउदी अरबबीच महत्वपूर्ण सम्झौता भएको थियो। यी दुई देशबीचको सम्झौता चीनकै पहलमा सम्भव भएको हो। 

चीनको पहलमा सन् २०१६ पछि पहिलो पटक दुवै देश एकअर्काको देशमा आफ्नो राजदूतावास खोल्न पनि तयार भएका छन्। 

यसका कारण यी दुई देशबीच सात वर्षदेखि जारी टकराव पनि अहिले कम भएको छ। सात वर्षअघि साउदी अरबले इरानका लागि जासुसीको आरोपमा ३२ शिया मुसलमानविरुद्ध मुद्दा चलाएको थियो। 

यिनमा ३० जना साउदी अरबकै नागरिक थिए। त्यहीबेला इरान यसको बदला लिने धम्की दिएको थियो। यी सबै अहिले जेलमा छन्। 

त्यसपछि साउदी अरबले लागुऔषध ओसारपसार आरोपमा इरानका तीन नागरिकलाई मृत्युदण्डको सजाय सुनायो। यसले दुवै देश युद्धको  मुखमा पुगे। यसक्रममा अमेरिकाले साउदी अरबलाई सहयोग दिन आइपुग्यो। 

इन्टरसेप्टको रिपोर्टका अनुसार अमेरिकी सत्तामा आएपछि राष्ट्रपति जो बाइडेनले दुई वर्षभित्र यमनको गृहयुद्ध टुंग्याउने वाचा गरेका थिए। 

तर बाइडेनको उक्त वाचा अमेरिकाको कट्टर दुष्मन मानिने चीनले पूरा गरेको छ। समाचार अनुसार आफ्नो स्वार्थअनुसार हतियार विक्री र आपूर्ति गराउने नीतिका कारण मध्यपूर्वमा शान्ति कायम गराउने अमेरिकी छवि थिएन। त्यहीकारण मध्यपूर्वी देशले अमेरिकालाई भरोसा नगर्दा बाइडेनले यमनमा शान्ति स्थापना गराउने कुरा पनि अलपत्र रह्यो। 

हतियारको प्रमुख आपूर्तिकर्ता छविकै कारण अमेरिकी कमजोरीको फाइदा चीनले उठायो। साउदी र इरानबीच सम्झौता गराएर चीनले यमनी युद्ध टुंग्याउने बाटो खोलिदिएर अमेरिकालाई झट्का दिएको छ। 

युद्धको कथा 
सन् २०१४ मा यमनमा गृह युद्ध सुरु भयो। यसको जड शिया र सुन्नी मुसलमानको विवाद हो। यमनको कुल जनसंख्यामा ३५ प्रतिशत शिया समुदाय छ। अर्कातिर ६५ प्रतिशत सुन्नी समुदायका मानिस छन्। 

कार्नेजी मिडल इस्ट सेन्टरको रिपोर्टअनुसार दुवै समुदायमा लामो समयदेखि विवाद थियो। सन् २०११ मा अरब क्रान्ति सुरु भएसँगै यमनको तनाव गृहयुद्धमा बदलियो। सन्द २०१४ मा शिया विद्रोहीले सुन्नी सरकारविरुद्ध युद्धको मोर्चा खोलिदियो।

यस सरकारको नेतृत्व राष्ट्रपति अब्दरब्बु मन्सुर हादीले गरिरहेका थिए। हादीले अरब क्रान्तिपछि लामो समय सत्तामा रहेका पूर्व राष्ट्रपति अली अब्दुल्ला सालेहबाट सन् २०१२ फेब्रुअरीमा सत्ता खोसेका थिए। 

देश परिवर्तनका लागि संघर्षरत थियो, हादी स्थिरता ल्याउन प्रयासरत थिए। त्यही समय सेनामा विभाजन आएर दुई गुट बन्यो। देश टुक्राउने पक्षमा रहेका हुतीहरु दक्षिणमा जोडिए। 

अरब देशमा दबदबा बनाउन होडमा इरान र साउदी पनि यस गृहयुद्धमा होमिए। एकातर्फ हुती विद्रोहीलाई शियाबाहुल्य इरानको समर्थन मिल्यो। अर्कातिर सरकारलाई सुन्नीबाहुल्य देश साउदी अरबले साथ दियो। 

हेर्दा हेर्दै हुतीको नाममा प्रख्यात विद्रोहीले देशको एक ठूलो भागमा कब्जा जमायो। सन् २०१५ मा त विद्रोहीले पूरा सरकारलाई निर्वासनमा जान बाध्य बनाउने अवस्था पनि आयो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .