पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) को चुनाव चिन्ह क्रिकेट ब्याटलाई अदालतले दोस्रो पटक पुनर्बहाली गरिदिएको छ।
देशको उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वाको पेसावर हाइ कोर्ट (पीएचसी)ले निर्वाचन आयोगको निर्णय अवैध भएको ठहर गर्दै पीटीआईको चुनाव चिन्हलाई पुनर्बहाली गरिदिएको हो।
यसअघि पनि पीटीआईको चुनाव चिन्ह खोसिएको थियो। त्यतिबेला पनि अदालतले पुनर्बहाली गरेको थियो।
पछिल्लो पटक डिसेम्बर २२ मा पाकिस्तानको निर्वाचन आयोग इलेक्सन कमिसन अफ पाकिस्तान (ईसीपी)ले पीटीआईको चुनाव चिन्ह हटाएको थियो।
पार्टीले आन्तरिक संगठनात्मक निर्वाचनका क्रममा संविधान र निर्वाचन कानुनको उल्लंघन गरेको भन्दै आयोगले पीटीआईको चुनाव चिन्ह खारेज गरिदिएको हो।
आयोगको यो निर्णयविरुद्ध पीटीआईले पीएचसीमा अपिल गरेको थियो। जसको फैसलामा पीएचसीले निर्वाचन आयोगको निर्णय ‘अवैध’ ठहर गर्दै ९ जनवारीसम्मका लागि अस्थायी आदेश जारी गरेको हो।
पाकिस्तानमा फेब्रुअरी ८ मा हुने आमनिर्वाचन आउन एक महिनाभन्दा पनि कम समय बाँकी रहँदा अदालतको यस्तो आदेश आएको हो।
पीटीआईका वरिष्ठ नेता अली जफरले अदालतको आदेशले पार्टीलाई न्याय मिलेको बताएका छन्।
‘पीटीआईलाई न्याय मिलेको छ,’ नेता जफरको भनाइ उद्धृत गर्दै अलजजिराले लेखेको छ, ‘यो फैसलाले हाम्रो अडानलाई पुष्टि गरेको छ। अब हामीलाई चुनाव जित्नबाट कसैले रोक्न सक्दैन।’
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान बहुचर्चित पूर्वक्रिकेटर पनि हुन्। खेल जीवनपछि राजनीतिमा उदाएका खानको पार्टी पीटीआई सन् २०१८ मा सत्तामा समेत आयो। तर, अप्रिल २०२२ मा अविश्वासको मत मार्फत खानलाई अपदस्थ गरिएको थियो।
भ्रष्टाचार लगायतका आरोपमा खान यतिबेला जेलमा छन्।
Shares

प्रतिक्रिया