ग्लोबल


चिनियाँ सुरक्षा मञ्जुरी पाएपछि बेइजिङबाट उडे इलोन मस्क

चिनियाँ सुरक्षा मञ्जुरी पाएपछि बेइजिङबाट उडे इलोन मस्क

इलोन मस्क सवार विमान


रासस/एएफपी
बैशाख १७, २०८१ सोमबार १३:११, बेइजिङ

आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क सुरक्षा मञ्जुरी प्राप्त भएपछि अर्बपति एवं टेस्लाका प्रमुख कार्यकारी (सीईओ) इलोन मस्क सोमबार बेइजिङबाट प्रस्थान गर्न एक विमानमा सवार भएको एएफपीका पत्रकारले बताएका छन्। 

एक वर्षभन्दा पनि कम समयमा आफ्नो दोस्रो चीन भ्रमणका क्रममा आइतबार मस्क बेइजिङ पुगेका थिए। 

विश्वको सबैभन्दा ठूलो विद्युतीय कार बजार चीनमा आफ्नो कम्पनीको भाग्य बढाउन काम गर्न उनले चीनका प्रधानमन्त्री ली कियाङसहित शीर्ष अधिकारीहरूसँग भेट गरे। 

सोही दिन चीनको तथ्याङ्क सुरक्षा आवश्यकतारू पूरा गर्ने टेस्लाको स्थानीयरूपमा उत्पादित मोडेलहरू विद्युतीय सवारीहरूमा सूचीबद्ध भएका छन्। मस्क दिउँसो १ बजे बेइजिङ क्यापिटल विमानस्थलमा आफ्नो निजी जेटमा सवार भए। 

ब्लुमबर्गका अनुसार अमेरिकी विद्युतीय कार कम्पनी टेस्ला नक्सा र नेभिगेसन सुविधाहरूका लागि टेक टाइटन बाइडुसँग मिलेर चीनमा आफ्नो सहायक ड्राइभिङ प्रविधिको उपयोग गर्न सरकारको स्वीकृति नजिक पुगेको छ। 

बीवाईडीजस्ता घरेलु कम्पनीहरूसँग तीव्र प्रतिस्पर्धा गरे पनि टेस्ला चीनमा सबैभन्दा धेरै बिक्री हुने विद्युतीय सवारीमध्ये एक बनेको छ। यद्यपि उसले कडा तथ्याङ्क र गोपनीय कानूनको पालना गर्न आवश्यक ‘फुल सेल्फ ड्राइभिङ (एफएसडी)’ जस्ता सुविधाहरूका साथ आफ्नो बिक्रीलाई बढाउन कोसिस गरिरहेको छ। 

चाइना एसोसिएसन अफ अटोमोबाइल्स मेनुफेक्चरर्स (सीएएएम) ले सन् २०२३ नोभेम्बरदेखि राष्ट्रिय कम्प्युटर सुरक्षा नियामकसँग मिलेर सवारी साधनको व्यक्तिगत जानकारी र कारको बाहिरी मुखाकृतिको रेकर्डिङलगायत कसरी तथ्याङ्क सङ्कलन र प्रशोधन गर्ने भन्नेबारे परीक्षण गरेको बताएको छ। 

‘तीमध्ये ६ कम्पनी (बीवाईडी, ली अटो, लोटस, होजोन अटो, टेस्ला र एनआइओ) का ७६ मोडलले अटोमोटिभ तथ्याङ्क सुरक्षाका चार अनुपालन आवश्यकताहरू पूरा गर्दछन्’, सीएएएमले विज्ञप्तिमा भनेको छ। 

साङ्घाईको विशाल कारखानामा निर्मित टेस्लाको मोडल३ र मोडल वाइ सूचीमा थियो। कम्पनीको उन्नत सहायक ड्राइभिङ सुविधाले उसका कारहरूलाई पूर्ण रूपमा स्वायत्त बनाउँदैन र टेस्लाले उसको अटोपाइलट र एफएसडी क्षमताहरूको प्रयोग ड्राइभरको सुपरीवेक्षणमा प्रयोग गर्नका लागि भएको बताएको छ। कम्पनीले एफएसडी अमेरिकामा आठ हजार डरल वा मासिक ९९ डलरको सदस्यतामा बिक्री गर्दछ। 

चीनमा एफएसडी र बाइडुसँग कथित साझेदारीका बारेमा एएफपीले गरेको प्रश्नमा टेस्लाले तत्काल जवाफ दिएको छैन। यसै महिनाको प्रारम्भमा आफ्नो सामाजिक सञ्जाल एक्समा एक प्रश्नको जवाफमा मस्कले चीनमा एफएसडीको उपलब्धता ‘चाँडै नै सम्भव हुनसक्ने’ बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .