ग्लोबल


जहाँ जागिर छाड्न नपाएर हैरान छन् कामदार, राजीनामा दिन एजेन्सीको सहारा

जहाँ जागिर छाड्न नपाएर हैरान छन् कामदार, राजीनामा दिन एजेन्सीको सहारा

नेपालखबर
भदौ १८, २०८१ मंगलबार ७:२,

युकी वातानाबे अफिसमा दिनको १२ घण्टा खट्ने गर्थिन्। त्यसलाई पनि ‘छोटो दिन’ मान्ने गरिन्थ्यो।

बिहान ९ देखि राति ९ बजेसम्मको काम त न्यूनतम हो।

‘म ढिलोमा अफिसबाट निस्किने भनेको राति ११ बजे हो,’ जापानको सबैभन्दा ठूलो टेलिकम र विद्युतीय भुक्तानी कम्पनीमा काम गरेकी २४ वर्षीया वातानाबे भन्छिन्।

खटाइ यति चर्को हुन्थ्यो कि उनलाई स्वास्थ्य समस्या देखिन थाल्यो। खुट्टा काँप्न र पेटमा गडबडी हुन थाल्यो।

काम छाड्नुपर्ने अवस्था थियो। तर, त्यसमा एउटा बाधा थियो– जापानको कुख्यात श्रम संस्कृति।

यहाँ समयमै अफिसबाट निस्किन्छु वा केही समय बिदा बस्छु भन्नु निकै मुस्किल काम हो। त्यो भन्दा पनि अप्ठेरो त राजीनामा दिनु हो। राजीनामालाई विश्वको चौथो ठूलो अर्थतन्त्र भएको मुलुक जापानमा सबैभन्दा ठूलो अपमान मान्ने गरिन्छ। जहाँ प्रायः कामदार जीवनभरका लागि र त्यसो नभए पनि दशकौँसम्म एउटै रोजगारदाताकहाँ काम गरिरहन्छन्।

उस्तै परे क्रुद्ध हाकिमहरूले कर्मचारीको राजीनामा पत्र च्यातेर फालिदिन्छन् र उनीहरूलाई बस्न बाध्य बनाउनेगरी सताउँछन्।

वातानाबे त्यतिबेलाको काममा खुसी थिइनन्। सुपरभाइजरले आफ्नो गुनासो बेवास्ता गरेकाले नराम्रो लागेको उनको भनाइ छ। तैपनि उनले राजीनामा दिने हिम्मत गर्न सकिनन्।

‘ती पूर्वरोजगारदाताले मेरो राजीनामा अस्वीकार गरेर मलाई अझ लामो समय काममा जोताऊन् भन्ने म चाहन्नथेँ,’ उनी भन्छिन्। 

तर, यो गतिरोध अन्त्य गर्ने तरिका उनले फेला पारिन्। उनले मोमुरी नामक एजेन्सीको सहायता लिइन्, जसले डरलाग्दा बोसहरूबाट उम्किन डरपोक कर्मचारीहरूलाई सघाउँछ। थुप्रै जापानी कर्मचारीहरू यस्ता कम्पनीको सहायता लिन्छन्, जसको शुल्क एउटा सानदार रात्रिभोजको खर्चजति नै हुन्छ।

कोभिडअघि पनि यो उद्योग अस्तित्वमा थियो। तर, महामारीपछि यसको लोकप्रियता बढेको छ। किनकि वर्षौं घर बसेर काम गरेपछि वफादार जापानी कामदारहरूले पनि आफ्नो करिअर र जीवनबारे सोच्न थालेका मानव स्रोत विज्ञहरूको भनाइ छ।

राजीनामा गर्न सघाउने कम्पनीहरूको संख्या कति छ, यकिन छैन। तर, मुलुकभर यस्ता कम्पनी खुलेका छन् र माग बढिरहेको उनीहरू बताउँछन्।

‘अब सक्दिनँ’
मोमुरीका अपरेसन म्यानेजर सिओरी कावामाता गत एक वर्षमा मात्र ११ हजार ग्राहकले कम्पनीमा सोधीखोजी गरेको बताउँछिन्।

टोकियोको सबैभन्दा व्यस्तमध्येको बिजनेस डिस्ट्रिक्ट मिनातोमा रहेको यो कम्पनी २०२२ मा खुलेको हो। मोमुरीको अर्थ हुन्छ, ‘अब यहाँभन्दा म गर्न सक्दिनँ।’

फुलटाइमरका लागि २२ हजार येन र पार्ट टाइमरका लागि १२ हजार येनमा कामदारलाई राजीनामा दिलाउने, कम्पनीसँग कुराकानी गर्ने र कानुनी विवाद भए वकिलको सिफारिस पनि गरिदिने कम्पनीको वाचा हुन्छ।

‘केही मान्छेहरू आफ्नो राजीनामा पत्र रोजगारदाताले तीनपटक च्यातिसकेपछि हामीकहाँ आउँछन्। घुँडा टेक्दा पनि उनीहरूलाई काम छाड्न दिइएको हुँदैन,’ उनी भन्छिन्, ‘कुनैबेला उनीहरू हामीलाई रुँदै फोन गर्छन्। हामी उनीहरूलाई चिन्ता नगर्न र राजीनामा श्रमिकको अधिकार भएको बताउँछौँ।’

उनका अनुसार कतिपय हाकिमहरूले राजीनामा दिन खोज्ने कामदारलाई सताउने, तिनको अपार्टमेन्टमा गएर ढोकाको घण्टी बजाउने र भित्र पसेपछि निस्किन समेत नमान्ने गर्दछन्।

यस्तो समस्या प्रायः सानादेखि मध्यम आकारको कम्पनीहरूमा हुने उनको भनाइ छ।

अत्यधिक कामका कारण मृत्यु
जापानमा लामो समयदेखि अत्यधिक श्रम गर्ने संस्कृति छ। अनेक क्षेत्रका कामदारहरूले लामो कार्यघण्टा, सुपरभाइजरबाट चरम दबाब र कम्पनीप्रति उदासीनता रहेको बताउँछन्। यस्ता रोजगारदातालाई ‘काला कम्पनी’ भन्ने चलन छ।

टोकियोस्थित हितोत्सुबासी युनिभर्सिटी बिजनेस स्कुलका प्राध्यापक हिरोसी ओना स्थिति यति खराब रहेको बताउँछन् कि सरकारले त्यस्ता कम्पनीहरूको सूची नै सार्वजनिक गर्न थालेको छ। ताकि कामदारले पहिले नै थाहा पाऊन्।

‘काला कम्पनीहरूमा काम गर्ने वातावरण निकै खराब छ। त्यस्तो कम्पनीमा मनोवैज्ञानिक सुरक्षा छैन,’ उनी भन्छन्।

२०१७ देखि प्रकाशित त्यस्तो सूचीमा ३७० भन्दा बढी कम्पनी कालो सूचीमा परेका छन्।

यसको असर कामदारको जीवनमै पर्ने गरेको छ। जापानी भाषामा करोसी शब्द प्रचलनमा आएको छ, जसको अर्थ हुन्छ, ‘अत्यधिक कामका कारण मृत्यु।’

श्रम मन्त्रालयका अनुसार अधिक कामका कारण दिमाग र मुटुमा असर पुगी ज्यान गुमाएका ५४ जनाको परिवारलाई २०२२ मा क्षतिपूर्ति दिइएको थियो। दुई दशकअघि यसरी ज्यान गुमाउनेहरूको संख्या १६० थियो। 

तर, कामका कारण तनाव परेको भन्दै उजुरी गर्ने मानिसको संख्या यही अवधिमा ३४१ बाट बढेर २ हजार ६८३ पुगेको छ।

२०१७ मा राष्ट्रिय प्रसारक एनएचकेमा काम गर्ने एक ३१ वर्षीया राजनीतिक रिपोर्टरको हार्ट फेलियरका कारण मृत्यु भयो। मृत्युको अघिल्लो महिना उनले १५९ घण्टा ओभरटाइम काम गरेकी थिठइन्। 

कोबेस्थित एक अस्पतालमा काम गर्ने २६ वर्षीय डाक्टरले आत्महत्या गरे। उनले एक महिनामै २०० घण्टाभन्दा बढी ओभरटाइम गरेका थिए।

मेइजी युनिभर्सिटीका अर्थशास्त्रका प्राध्यापक हिसाकाजु कातो कामदारको अधिकार रक्षा गर्न कानुन भए पनि त्यसले सबै ठाउँमा कामदारको सुरक्षा गर्न नसकेको बताउँछन्।

बदलिँदै श्रम संस्कृति
उसोभए यी राजीनामा गराउने एजेन्टहरू किन हालैका वर्षमा मात्र देखा परे त? विज्ञहरूका अनुसार यसको कारण हो, युवाहरूमा बदलिँदो श्रम संस्कृति।

‘जब एउटा पक्ष खुसी हुँदैन तब सम्बन्धविच्छेद हुँदैन। तर, सम्बन्धविच्छेदमा कोही पनि शत प्रतिशत निर्दोष हुँदैन। होइन त?’ हितोत्सुबासी युनिभर्सिटीका ओनो भन्छन्।

बुढो हुँदै गएको जनसंख्या र घट्दो जन्मदरका कारण श्रमिकको चर्को अभाव छ। जसका कारण युवाहरूको भनाइको वजन बढेको छ।

उनीहरू पुरानो पुस्ताले जस्तो हाकिमले जे भन्यो, त्यही मान्नुपर्छ भन्ने धारणा राख्दैनन्। अपेक्षा अनुसार नभए उनीहरू जागिर छाड्न डराउँदैनन्।

तर, त्यसो भन्दैमा हाकिमको कार्यकक्षमा छिरेर उनीहरू राजीनामा दिइहाल्दैनन्। बरु, यो मामला सल्ट्याउने जिम्मा तेस्रो पक्षलाई दिन मन पराउँछन्। प्रत्यक्ष गलफत्ती गर्नुभन्दा अरुलाई यसको जिम्मा दिएर ढुक्क हुने प्रवृत्ति युवाहरूमा रहेको ओनो बताउँछिन्।

‘हामीलाई के लाग्छ भने राजीनामा सेवा दिने एजेन्सीहरू अस्तित्वमै हुनुहुँदैन। हामी त्यसैको अपेक्षा राख्छौँ। सबैभन्दा राम्रो त कामदारहरूले हाकिमलाई आफैँले सबैथोक भन्नुमा छ। तर, कामदारहरूले सुनाएका भयानक कथा सुन्दा हाम्रो व्यवसाय छिटै हराउने सम्भावना देखिँदैन,’ उनी भन्छिन्।

अहिलेलाई भने दोस्रोपटक सेवा लिँदै गरेकाहरूलाई मोमुरीले ५० प्रतिशत छुटको अफर गरेको छ। सीएनएनबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad