ग्लोबल


भारत-चीन सम्बन्ध सुधारको दिशामा छ : जयशंकर

भारत-चीन सम्बन्ध सुधारको दिशामा छ : जयशंकर

नेपालखबर
मंसिर १८, २०८१ मंगलबार १५:१५,

भारतीय विदेशमन्त्री एस जयशंकरले पछिल्लो समय चीनसँगको सम्बन्धमा केही सुधार आएको जनाएका छन्। 

चीनसँगको सम्बन्धबारे तल्लो सदन लोकसभालाई जानकारी दिँदै उनले आफूहरू सीमा समस्या समाधान गर्न चीनसँग वार्ताका लागि तयार रहेको पनि बताए।

‘निरन्तरको कूटनीतिक संवादपछिको पछिल्लो घटनाक्रमले भारत–चीन सम्बन्धलाई केही सुधारको दिशामा लगेको छ,’ जयशंकरले भने।

सन् २०२० मा चिनियाँ गतिविधिका कारण सीमाको शान्ति खलबलिएपछि भारत–चीन सम्बन्ध असामान्य बनेको उनको भनाइ थियो। सो वर्षको जुनमा दुई मुलुकबीच झडप हुँदा दुवै पक्षका सैनिकहरू हताहत भएका थिए।

त्यसयता तिक्त रहँदै आएको उनीहरूबीचको सम्बन्धमा अक्टोबरमा अचानक सुधार आएको थियो। दुई देशको सेनाबीच सीमा क्षेत्रबाट सैनिक पछि सार्नेलगायतका सम्झौता लगत्तै राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री नरेन्द्र मोदीबीच पाँच वर्षपछि पहिलोपटक रुसको कजानमा द्विपक्षीय वार्ता भएको थियो।

केही साताअघि ब्राजिलमा जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यीबीचको वार्तापछि सम्बन्ध थप सुधार भएको देखिएको थियो। उनीहरूले चीन–भारत सिधा उडान तथा कैलाश मानसरोवर यात्रा सुरु गर्ने विषयमा छलफल गरेका थिए।

‘सीमा समस्या समाधानका लागि निष्पक्ष, उचित र दुवै पक्षलाई स्वीकार्य हुने फ्रेमवर्कमा आइपुग्न द्विपक्षीय छलफलका लागि हामी प्रतिबद्ध छौँ,’ जयशंकरले भने। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad