ग्लोबल


रहेनन् भारतको आर्थिक उदारीकरणका ‘आर्किटेक्ट’

पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन
रहेनन् भारतको आर्थिक उदारीकरणका ‘आर्किटेक्ट’

नेपालखबर
पुस ११, २०८१ बिहिबार २२:४८,

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन भएको छ। उनी ९२ वर्षका थिए।

बिहीबार साँझ दिल्लीको एम्स अस्पतालमा उनको निधन भएको हो। बिहीबार साँझ उनलाई अस्पताल भर्ना गरिएको थियो।

साँझ ८ बजेर ६ मिनेट जाँदा उनलाई अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। तर, उनलाई ब्युँताउने सबै प्रयास असफल भएपछि ९ बजेर ५१ मिनेट जाँदा उनलाई मृत घोषित गरिएको एम्स अस्पतालले एक विज्ञप्ति जारी गर्दै बताएको छ। 

दुई कार्यकाल प्रधानमन्त्री रहेका सिंहलाई पदमा रहुञ्जेल जहिले पनि सोनिया गान्धीको ‘छाया’का रुपमा चित्रित गरियो। तर, पदबाट हटेपछि भने उनलाई ‘अन्डररेटेड’ प्रधानमन्त्री भन्नेहरूको संख्या ह्वात्तै बढेको छ।

सिंह सन् १९९१ मा अर्थमन्त्री बनेका थिए। उनी भारतको आर्थिक सुधारका रचयिता मानिन्छन्। आफ्नो कार्यकालमा उनले भारतको अर्थतन्त्रलाई विश्वव्यापी प्रतिस्पर्धाका लागि खुला गरे। टाट पल्टाइको सँघारमा रहेको अर्थतन्त्रलाई विश्वकै ठूलोमध्येको एक बनाउने श्रेय पनि उनैलाई दिइन्छ।

सन् २००४ मा प्रधानमन्त्री बनेका सिंह दुई कार्यकाल सो पदमा रहे। पछिल्लो पटक उनको सरकार भ्रष्टाचार काण्ड, महँगी र भयानक आतंकवादी हमलाको चपेटामा पर्‍यो। 

उसो त उनी प्रधानमन्त्री अपेक्षा सायदै कसैले गरेको थियो। सोनिया गान्धी प्रधानमन्त्री बन्ने आकलनको माझ गान्धीले नै सिंहको नाम घोषणा गरेकी थिइन्। त्यसैले कतिपयले उनलाई ‘एक्सिडेन्टल प्राइममिनिस्टर’ भन्ने गरेका छन्।

३३ वर्ष राज्य सभा सदस्य रहेका उनी कहिल्यै प्रत्यक्ष चुनिएनन्। जसका कारण अन्य नेताको जस्तो लोकप्रिय वैधताको उनलाई सधैँ अभाव रह्यो।

त्यसमाथि लजालु स्वभाव र बिस्तारै बोल्ने बानीले कमजोर नेताको छवि बन्यो। तर, गठबन्धन सरकारको नेतृत्व गरेर पनि उनले विदेशी लगानी खोल्ने र अमेरिकासँग आणविक सम्झौता गर्नेजस्ता कठिन निर्णयमा दृढता देखाए।

१९३२ मा ब्रिटिस भारतको हाल पाकिस्तानमा पर्ने पञ्जाबमा जन्मिएका उनी उर्दु माध्यमको स्कुलमा पढेका थिए। विभाजनपछि उनको परिवार राजस्थान सर्‍यो। 

अक्सफोर्डबाट अर्थशास्त्रमा डक्टरेट गरेर फर्केपछि उनले भारतमा प्राध्यापन र विभिन्न मन्त्रालय तथा आयोगमा रहेर काम गरे।

१९९० मा प्रधानमन्त्री चन्द्रशेखरको सल्लाहकार रहेका उनलाई पीभी नरसिंह रावले अर्थमन्त्री बनाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad