अमेरिकामा भारतीय उद्योगपति गौतम अदानीबारे प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको जवाफमा विपक्षी दलका नेता राहुल गान्धीले कडा टिप्पणी गरेका छन्।
भारतीय कंग्रेस नेता गान्धीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘तपाईंले देशमा प्रश्न सोध्नुभयो भने उहाँ मौन बस्नुहुन्छ, तपाईंले विदेशमा प्रश्न सोध्नुभयो भने व्यक्तिगत मामिला।’
उनले अगाडि लेखेका छन्, ‘अमेरिकामा मोदीले अदानीको भ्रष्टाचार ढाकछोप गरे। साथीको खल्ती भर्नु मोदीका लागि ‘राष्ट्र निर्माण’ हो, तर घुस लिनु र देशको सम्पत्ति लुट्नु ‘व्यक्तिगत मामिला’ बन्छ।’
अमेरिकामा भ्रमणमा रहेका मोदीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको पत्रकार सम्मेलनमा गौतम अदानीविरुद्ध अमेरिकामा लागेको घुसखोरी अभियोगबारे सोधिएको थियो।
जवाफमा मोदीले भने, ‘भारत एक लोकतान्त्रिक देश हो। हाम्रा मूल्यमान्यता र संस्कृति वसुधैव कुटुम्बकम हो।’
उनले थपे, ‘हामी सम्पूर्ण विश्वलाई एक परिवार मान्दछौँ र म प्रत्येक भारतीयलाई आफ्नो परिवार मान्दछु। यस्ता व्यक्तिगत मामिलाका लागि दुई देशका प्रमुखहरू न त भेट्छन्, न बस्छन्, न त कुरा गर्छन्।’
हालै अमेरिकामा अदानीविरुद्ध आफ्नो एउटा कम्पनीलाई ठेक्का दिलाउन २५ करोड डलर घुस दिएको र यो कुरा लुकाएको आरोप लागेको थियो।
अमेरिका भ्रमणका क्रममा मोदीले अमेरिकी राष्ट्रपतिसँग ह्वाइट हाउसमा विविध विषयमा कुराकानी गरेको सञ्चारमाध्यमले जनाएका छन्।
Shares

प्रतिक्रिया