भारतले पाकिस्तानमा आक्रमण गरेपछि पन्जाबका केही गाउँका मानिसले धमाधम घर छाड्न थालेका छन्।
मानिसहरू आफ्ना सामान ट्रयाक्टर-ट्रलीमा लोड गर्दै सीमाबाट टाढाका गाउँ वा आफन्तहरूका घरतिर लागेका हुन्।
बीबीसी हिन्दीका अनुसार सीमाबाट टाढा सरिरहेका धेरै परिवारसँग कुरा गर्दा उनीहरूले आफूहरू सुरक्षित स्थानतिर सरिरहेको बताएका छन्।
उनीहरूले प्रत्येक परिवारबाट एक वा दुई सदस्य मात्र आफ्नो घर, सम्पत्ति र जग्गाको सुरक्षा गर्न बसेका छन्।
फिरोजपुर जिल्लाको हुसैनीवाला सीमानजिकै लगभग १२ देखि १४ गाउँ छन्, जुन भारत-पाकिस्तान सीमासँग जोडिएका छन्।
झुगे हजारा सिंह गाउँका जित सिंहले भने, ‘यहाँ त्रासको वातावरण छ। मानिसहरू आफन्तको घरमा गइरहेका छन्।’

एक वृद्ध महिला पञ्जो बाईले भनिन्, ‘हामी हाम्रो अन्न लिएर सुरक्षाको लागि मोगा जिल्ला जाँदैछौं। यहाँ युद्धको सम्भावना छ र पाकिस्तानले रातमा आक्रमण गर्न सक्छ।’
भारतले मंगलबार राति गरेको हवाई हमलामा २६ जना नागरिक मारिएको र ४६ जना घाइते भएको पाकिस्तानले जनाएको छ।
अप्रिल २२ मा जम्मु-कश्मीरको पहलगाममा आतंककारीले २६ जनाको हत्या गरेको बदलामा भारतले पाकिस्तानमा हवाई हमला गरेको हो।
Shares

प्रतिक्रिया