ग्लोबल


दुई जित, दुई हार : युद्ध सकिएको वर्ष दिनपछि भारत र पाकिस्तानले के सिके

दुई जित, दुई हार : युद्ध सकिएको वर्ष दिनपछि भारत र पाकिस्तानले के सिके

नेपालखबर
बैशाख २७, २०८३ आइतबार १८:०,

पाकिस्तानमा मे महिनाको सुरुवात मुख्यमुख्य सहरका सडकछेउका भित्तामा सैन्य नेतृत्वको सम्मानमा ब्यानर र पोस्टर टाँसेर सुरु भयो। भारतसँगको चार दिने हवाइ युद्धमा पाकिस्तानको ‘जित’को वर्षगाँठ मनाउन विभिन्न कार्यक्रम आयोजना गरिएका छन्।

बिहीबार रावलपिण्डीको नुर खान अडिटोरियममा पाकिस्तानी वायु सेनाले भारतीय विमान खसाएको ‘उपलब्धि’को सम्झनामा एउटा कार्यक्रम आयोजना गर्‍यो। शुक्रबार लाहौरमा सरकारले लिबर्टी चोकमा कन्सर्ट गर्‍यो। 

सीमापारि भारत पनि खुसियाली मनाइरहेकै छ। त्यो युद्धमा भारत विजय भएको सरकार र सेनाको भनाइ छ। बिहीबार मे ७ का दिन प्रधानमन्त्री नरेन्द्र मोदीले एक्सको प्रोफाइल पिक्चर बदलेर अप्रेसन सिन्दूरको लोगो राखे। उनले प्रत्येक भारतीयलाई पनि त्यसै गर्न आग्रह गरे। 

‘एक वर्षअघि हाम्रो सेनाले अतुलनीय साहस, सटीकता र संकल्प प्रदर्शन गरेको थियो,’ मोदीले लेखे, ‘आज हामी आतंकवादलाई परास्त गर्ने र आतंकवाद हुर्काउने व्यवस्था ध्वस्त पार्ने संकल्पमा सधैँझैँ अडिग छौँ।’

दुवैतर्फका सरकारले सेनालाई क्यामराअगाडि सारे। नयाँ दिल्लीमा दुई घण्टाभन्दा लामो पत्रकार सम्मेलनमा एयर मार्सल अवधेशकुमार भारतीले भने, ‘हामीले त्यो लडाइँमा पाकिस्तानीका १३ वटा विमान ध्वस्त पार्‍यौँ र ११ वटा हवाइ अड्डामा आक्रमण गर्‍यौँ।’

उता, रावलपिण्डीमा लेफ्टिनेन्ट जर्नेल अहमद सरिफले आफूसँग भएको सैन्य क्षमताको १० प्रतिशत मात्र उपयोग गरेर आफूभन्दा ‘पाँच गुणा ठूलो शत्रुलाई परास्त गरेको’ दाबी गरे। ‘यदि कोही हाम्रो परीक्षा लिन चाहन्छ भने उनीहरूलाई स्वागत छ,’ उनले भने।

जितका यस्ता सार्वजनिक दाबी र उत्सवका पछाडि दुवै मुलुकले त्यो लडाइँमा जित र हार दुवै बेहोरेको विश्लेषकहरू बताउँछन्। त्यसबाट उनीहरूले उपयुक्त पाठ सिके कि सिकेनन् भन्ने स्पष्ट नभएको उनीहरूको भनाइ छ।

भारत र पाकिस्तानको ‘जित’
२२ अप्रिल २०२५ मा कस्मिरको पहलगाममा पर्यटकहरूमाथि बन्दुकधारीले आक्रमण गर्दा २६ जनाको ज्यान गयो। भारतले यसको दोष पाकिस्तानलाई दियो, जसलाई पाकिस्तानले अस्वीकार गर्‍यो।

७ मेमा भारतले अप्रेसन सिन्दूर सुरु गर्‍यो र पाकिस्तानको भित्री भागसम्म आक्रमण गर्‍यो। जवाफमा पाकिस्तानले अप्रेसन बन्यान अल मरसुस सुरु गर्‍यो।

दुवैतर्फका आधिकारिक भाष्य विपरीत चार दिनको यो लडाइँ कुनै पनि पक्षको स्पष्ट जितका रूपमा टुंगिएन। बरु दुवै पक्षका सबलता र दुर्बलता त्यो लडाइँमा प्रकट भए।

लडाइँको सुरुवातमै पाकिस्तानले चीनमा निर्मित जे–१० सी लडाकु विमानको मद्दतले राफेलसहितका भारतीय विमान खसायो। यसले पाकिस्तानलाई जित दाबी गर्ने मौका दियो।

दोस्रो, विश्लेषकहरूका अनुसार कूटनीतिक र भाष्यगत हिसाबले पनि पाकिस्तानलाई केही फाइदा भयो। आफूले युद्ध रोकिदिएको डोनाल्ड ट्रम्पको दाबीलाई पाकिस्तानले स्वीकार्‍यो। उनलाई नोबेल पुरस्कारका लागि मनोनीत पनि गरिदियो। र, पछिल्लो एक वर्षमा पाकिस्तान बलियो कूटनीतिक शक्तिका रूपमा उदाएको छ। अमेरिका र इरानबीचको युद्धमा मुख्य मध्यस्थकर्ता बनेको छ।

भारतले पनि जितको दाबी गर्न केही सैन्य उपलब्धि प्राप्त गरेको छ। पहिलो, उसको ब्रह्मोस क्षेप्यास्त्रले रावलपिण्डीदेखि सिन्ध प्रान्तसम्म पाकिस्तानी हवाइ अड्डाहरूमा प्रहार गर्‍यो। उसले इजरायलमा निर्मित ड्रोन प्रहार गरी कराची र लाहोरसम्म आक्रमण गर्‍यो। 

पश्चिमा स्याटलाइट कम्पनीहरूले पाकिस्तानी सैन्य अखडाहरूमा भएका क्षतिको तस्बिर सार्वजनिक गरे तर भारततर्फ त्यस्तो क्षति देखिएन। पाकिस्तानी क्षति सार्वजनिकजस्तै हुँदा भारतर्फ त्यसो भएन। तथापि, उनीहरूले सार्वजनिक गरेका तथ्यहरू पूर्ण थिएनन्।
दोस्रो, भारत सिन्धु जल सन्धिबाट पछि पनि हट्यो। यो निर्णयले त्यो लडाइँभन्दा पनि ठूलो अर्थ राख्दछ। 

पाकिस्तानको कमजोरी
पछिल्लो समय पाकिस्तानले आफ्नो हतियार निरन्तर अपग्रेड गरिरहेको छ। गएको १२ महिनामा फतह ३ सुपरसोनिक क्रुज क्षेप्यास्त्र, ७५० किमि मार हान्न सक्ने फतह ४, १ हजार किमि प्रहार गर्न सक्ने फतह ५ लगायत हतियार प्रणाली तैनाथ गरिएका छन्।

यी हतियार ब्रह्मोसजस्ता लामो दूरीका क्षेप्यास्त्रको जवाफ नभए पनि पाकिस्तानसँग गैरआणविक हतियारको विकल्प तयार रहेको विश्लेषकहरूको भनाइ छ।

त्यसैगरी पाकिस्तानले रक्षा बजेट २० प्रतिशतले बढाएर ९ अर्ब डलर पुर्‍याएको छ। जसमा २.५ अर्ब डलर हतियार र भौतिक सम्पत्तिका लागि हो। त्यस्तै, चीनले पाकिस्तानलाई ४० वटा जे–३५ ए विमान बेच्ने प्रस्ताव गरेको छ। पाकिस्तानले अमेरिकाबाट किनेको एफ–१६ विमानहरूको अपग्रेड गर्न ६८ करोड डलरको प्याकेज पनि प्रस्ताव गरिएको छ।

पाकिस्तानको मुख्य चिन्ता भने हवाइ प्रतिरक्षा प्रणाली हो। त्यो लडाइँमा पाकिस्तानसँग भएको चिनियाँ एचक्यू–९बी प्रणालीले ब्रह्मोस क्षेप्यास्त्र रोक्न सकेन। त्यसैले पाकिस्तान अहिले एचक्यू–१९ प्रणाली किन्ने तयारीमा रहेको बताइन्छ।

‘चार दिने युद्धको पहिलो चरणमा पाकिस्तानी वायु सेनाको प्रदर्शन गज्जबको थियो,’ सिड्नीमा रहेका रक्षा विश्लेषक मुहम्मद फैजल भन्छन्, ‘तर, पछि हवाइ अड्डाहरूमा ब्रह्मोसको आक्रमणले उसको हवाइ प्रतिरक्षा कमजोर रहेछ भन्ने प्रस्ट पार्‍यो।’

उनका अनुसार नयाँ हतियार प्रणालीले मात्र पाकिस्तानको कमजोरी ढाक्न सक्दैन। 

‘लाहोर, कराची, रावलपिण्डीसम्म भएको आक्रमणले भूगोलका कारण बच्न सकिन्छ भन्ने धारणा अन्त्य गरिदिएको छ। त्यसैले पाकिस्तानको सेनाले भारतको मुख्य क्षेत्रमा पुग्नेगरी आक्रमण गर्नसक्ने क्षमता हासिल गर्ने तयारी गरिरहेको संकेत दिएको छ।’

त्यो कमजोरी पूर्ति गर्नका लागि पाकिस्तानलाई बजेटको अभाव छ। यो वर्ष रक्षा बजेट बढाए पनि पाकिस्तानले समग्र बजेट भने ७ प्रतिशतले कटौती गरेको छ। भारतले भने यो वर्ष ७८.७ अर्ब डलरको रक्षा बजेट ल्याएको छ, त्यो पाकिस्तानको भन्दा ९ गुणा ज्यादा हो।

भारतको कमजोरी
लडाइँपछि भारतको मुद्रा धेरै हदसम्म शान्त देखिन्छ। इन्टरनेसनल क्राइसिस ग्रूपका प्रवीण डोँथी यो लडाइँमा दुई आणविक शक्तिबीचको ‘अपारदर्शी द्वन्द्व’ भन्छन्। सेनाको साथसाथै अनलाइन कुसूचनाबीच पनि लडाइँ लडिएको उनको भनाइ छ।

‘त्यस्ता गलत सूचनाले एउटा रोचक नतिजा दियो। त्यो के भने दुवै पक्षले जित दाबी गर्न सके। दुवै पक्ष आफ्नो क्षति स्वीकार्न तयार छैनन्,’ उनी भन्छन्।

भारतका चिफ अफ डिफेन्स स्टाफ अनिल चौहानले सिंगापुरमा पुगेर विमान क्षति भएको स्वीकारे। तर, कतिवटा भन्ने प्रश्नको उनले जवाफ दिएनन्। 

भारतीय नौसेनाका सेवानिवृत्त अधिकृत उदय भास्कर भारतको सैन्य कारबाही अहिले स्थगित मात्र भएको भन्दै यो गोपनीयताको बचाव गरे। तथापि, यस्ता अभिव्यक्ति रक्षामन्त्रीले संसदमा दिएको भए राम्रो हुने उनको भनाइ छ।

लडाइँको कूटनीतिक परिणाम दिल्लीका लागि असहज देखियो। किनकि भारतले लडाइँ द्विपक्षीय रूपमा रोकिएको बताउँदै ट्रम्पको दाबीलाई खारेज गर्‍यो। जसले अमेरिकासँग उसको सम्बन्धमा समस्या थप्यो।

त्यसपछि पाकिस्तानी सेना प्रमुख फिल्ड मार्सल असिम मुनिरलाई ट्रम्पले ह्वाइट हाउसमा दिवाभोजमा निम्त्याए। पहिलो पटक पाकिस्तानी सेनाप्रमुखलाई नागरिक नेतृत्वबिनै ट्रम्पले स्वागत गरे।

यसले मुनिरको ख्याति बढायो। उनी अप्रिल २०२६ मा तेहरान पुगे। अप्रिल ८ मा घोषणा भएको युद्धविराममा उनको मुख्य भूमिका थियो।

अर्कोतिर हरेक आतंकवादी आक्रमणलाई युद्ध मान्ने भारतको नीतिले नयाँ जोखिम सिर्जना गरेको छ। पाकिस्तानसँग कूटनीतिक संलग्नाताका लागि भारतविरोधी समूहहरूलाई प्रतिबन्ध लगाउनैपर्ने उसको सर्त छ।

त्यसैले अघिल्लो लडाइँसम्म पुर्‍याउने स्थिति अहिले पनि फेरिएको देखिँदैन। (अल जजिराबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad