अमेरिकी सेनाले दक्षिणी इरानमा मंगलबार नयाँ आक्रमण थालिएको बताएको छ।
अमेरिकी सेनाका अनुसार इरानका क्षेप्यास्त्र अड्डा र समुद्रमा बारुदी सुरुङ बिछ्याउने प्रयास गरिरहेका जहाजलाई निसाना बनाइएको हो।
अमेरिकी केन्द्रीय कमान्डले विज्ञप्तिमा भनेको छ, ‘आक्रमण आत्मरक्षा र इरानी सेनाबाट हुने खतराबाट सेनालाई जोगाउने उद्देश्यले गरिएको हो।’
केन्द्रीय कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले भनेका छन्, ‘अमेरिकी सेनाले जारी युद्धविरामको समयमा संयम अपनाउँदै आफ्ना सेनाको सुरक्षा जारी राख्नेछ।’
अमेरिकाले आक्रमण त्यस्तो समयमा गरेको हो, जतिबेला इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले वार्तामा केही प्रगति भए पनि द्वन्द्व अन्त्य गर्ने सम्झौता तत्काल नहुने बताएका छन्।
हकिन्सले भनेका छन्, ‘हमला दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासनजिकै इरानी नौसेना अड्डामा गरिएको हो, जुन होर्मुज स्ट्रेटमा अवस्थित छ।’
यसअघि इरानको सरकारी सञ्चारमाध्यमले बन्दर अब्बासमा विस्फोटको आवाज सुनिएको र स्थानीय अधिकारीले घटनाको अनुसन्धान गरिरहेको उल्लेख गरेको थियो।
युद्धविरामबिच आक्रमण

इरानले भने अहिलेसम्म अमेरिकाले गरेको नयाँ आक्रमणबारे आधिकारिक प्रतिक्रिया दिएको छैन।
आक्रमणले अमेरिका र इरानबिच हुन लागेको शान्ति सम्झौतामा अब कस्तो प्रभाव पार्ला भन्ने कुरा पनि स्पष्ट छैन।
गत हप्ताको अन्त्यतिर अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई पक्ष सम्झौताको नजिक पुगेको संकेत गरेका थिए। तर पछि उनले अमेरिकी वार्ताकारहरूलाई इरानसँग सहमति गर्न हतार नगर्न निर्देशन दिएका थिए।
यता भारत भ्रमणका क्रममा अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले पनि सोमबारसम्म सम्झौता हुन सक्ने बताएका थिए।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमा संयुक्त हवाई आक्रमण गरेपछि पश्चिम एसियाभरि द्वन्द्व सुरु भएको थियो।
गत अप्रिल ८ देखि भने अमेरिकी र इरानले युद्धविराम गरेका छन्।
तर इरानले जलमार्ग होर्मुज स्ट्रेटमा कडाइ गरेको छ भने अमेरिकाले इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने प्रयास गरिरहेको छ।
Shares

प्रतिक्रिया