ग्लोबल


रुसले युक्रेनमा हानेको ड्रोन रोमानियासम्म पुग्यो

रुसले युक्रेनमा हानेको ड्रोन रोमानियासम्म पुग्यो

नेपालखबर
जेठ १५, २०८३ शुक्रबार १४:२३, बुखारेस्ट

युक्रेन युद्धको असर नेटो सदस्य राष्ट्र रोमानियासम्म पुगेको छ। रुसले युक्रेनविरुद्ध रातभर गरेको आक्रमणसँग सम्बन्धित एउटा ड्रोन पूर्वी रोमानियाको आवासीय भवनमा खस्दा दुई जना घाइते भएका छन्।

घटनापछि रोमानियाले नेटोसँग थप एन्टी-ड्रोन सुरक्षा क्षमता तत्काल उपलब्ध गराउन आग्रह गरेको छ।

रोमानियाको रक्षा मन्त्रालयका अनुसार ड्रोनलाई देशको हवाई क्षेत्रमा राडारमार्फत निगरानी गरिएको थियो। त्यसपछि उक्त ड्रोन पूर्वी सहर गलाटीस्थित एउटा अपार्टमेन्ट भवनको छतमाथि खस्दा आगलागी भएको थियो।

घटनामा दुई जनालाई सामान्य चोट लागेको छ भने भवनका धेरै बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। डेन्युब नदी किनारमा रहेको गलाटी सहर मोल्दोभा र युक्रेन सीमाको नजिक पर्छ।

घटनापछि प्रहरी, आपत्कालीन सेवा र अन्य निकाय तत्काल परिचालन गरिएका थिए। रोमानियाली सेनाले दुई वटा एफ-१६ लडाकु विमान र एउटा हेलिकप्टर परिचालनको अनुमति दिएको थियो भने स्थानीय बासिन्दालाई सतर्कता सन्देश पठाइएको थियो।

घटनालाई रोमानियाको विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन भनेको छ। मन्त्रालयले नेटोसँग गठबन्धनको हवाई सुरक्षालाई मजबुत बनाउन तथा एन्टी-ड्रोन प्रणालीको तीव्र आपूर्तिको मागसमेत गरेको छ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले घटनाले ‘रुसको युद्धले अर्को सीमा पार गरेको’ देखाएको टिप्पणी गरेकी छन्।

उनले युरोपेली भूभागको घना बस्ती भएको क्षेत्रमा रुसी ड्रोन खस्दा सर्वसाधारण घाइते भएको उल्लेख गर्दै युरोपेली संघ (ईयू) ले पूर्वी सीमाको सुरक्षा थप सुदृढ बनाउने र रुसविरुद्ध नयाँ प्रतिबन्ध प्याकेजको तयारी गरिरहेको जानकारी दिइन्। 

यसैबिच युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आफ्नो देशलाई थप प्याट्रियट हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन अमेरिकामा दबाब बढाइरहेको बताएका छन्।

स्विडेन भ्रमणका क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले इरानसँग सम्बन्धित क्षेत्रीय तनावका कारण अमेरिकी हतियार भण्डार अन्यत्र मोडिँदा युक्रेनका लागि आवश्यक आपूर्ति खतरनाक रूपमा घट्दै गएको चेतावनी दिए।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि युद्धको तीव्रता नियन्त्रणबाहिर जाने जोखिम रहेको भन्दै सुरक्षा परिषदलाई सचेत गराए।

उनका अनुसार यस वर्षको पहिलो चार महिनामा तीन वर्षको सोही अवधिको तुलनामा बढी सर्वसाधारणको ज्यान गएको छ। उनले तत्काल तनाव घटाउने, कूटनीतिक प्रयास बढाउने तथा पूर्ण र बिनासर्त युद्धविराम लागु गर्न आह्वान गरेका छन्। (रासस/एपी)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad