बंगलादेशले भारतमा रहेकी पूर्वप्रधानमन्त्री शेख हसिनाको अन्तर्वार्तामा सञ्चारमाध्यममा आाएपछि आपत्ति जनाएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार अन्तर्वार्ताको केही घण्टापछि बंगलादेश सरकारले ढाकामा रहेका भारतीय उपउच्चायुक्त पवन बधेलाई बोलाएको छ।
बंगलादेशले उनलाई शेख हसिनाको मिडियामा पहुँच तुरुन्तै रोक्न भनेको गरेको छ।
शेख हसिनाले बुधबार पीटीआई समाचार एजेन्सीलाई इमेल अन्तर्वार्ता दिएकी थिइन्, जसमा उनले युनुससरकार विरुद्ध धेरै आरोप लगाएकी छन्।
हसिनाले बंगलादेशको वर्तमान युनुस सरकार कट्टरपन्थीमा भर परेको बताएकी छन्। उनले युनुसको भारतविरोधी नीति मूर्खतापूर्ण र आत्म-पराजित भएको आरोपसमेत लगाएकी छन्।
हसिनाले भनेकी छन्, ‘म मातृभूमि फर्कने सम्भावना तब मात्र हुन्छ जब लोकतन्त्र पुनर्स्थापित हुन्छ, अवामी लिगविरुद्धको प्रतिबन्ध हटाइन्छ र स्वतन्त्र र निष्पक्ष चुनाव हुन्छ।’
हसिनाले मुहम्मद युनुसलाई एक कमजोर, अराजक र अतिवादी-आश्रित नेता भएको आरोप पनि लगाएकी छन्।
हसिनाले गत वर्ष परिस्थिति नियन्त्रण लिन नसकेको स्वीकार गर्दै त्यो दुर्भाग्यपूर्ण थियो भनेकी छन्।
यद्यपि, उनले केही विद्यार्थी नेता, जो वास्तवमा राजनीतिक कार्यकर्ता रहेको आरोप लगाउँदै उनीहरूले पनि विरोध प्रदर्शनलाई भड्काउन भूमिका खेलेको जिकिर गरेकी छन्।
उनले भारत-बंगलादेश सम्बन्धका विषयमा पनि अन्तर्वार्तामा बोलेकी छन्।
उनले भारत सधैँ बंगलादेशको सबैभन्दा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय साझेदार रहेको उल्लेख गरेकी छन्।
उनले भनेकी छन्, ‘मलाई आशा छ- दुई देशबीचको बलियो सम्बन्ध वर्तमान अन्तरिम सरकारको नीतिबाट प्रभावित हुने छैन।’
यस्तै उनले भारतका जनतालाई आश्वासन दिँदै वर्तमान अन्तरिम सरकारले बंगलादेशका जनताको सोचलाई प्रतिबिम्बित नगर्ने जिकिर गरेकी छन्।
उनले भनेकी छन्, ‘भारत हाम्रो देशको सबैभन्दा ठूलो मित्र थियो, छ र रहनेछ।’
हसिनाले युनुस सरकारलाई भारतसँगको सम्बन्ध बिगार्ने र अतिवादी शक्तिहरूलाई प्रोत्साहन गर्ने आरोप लगाएकी छन्।
उनले भनेकी छन्, ‘युनुसको कूटनीतिक कार्यहरू मूर्खतापूर्ण र आत्म-पराजित छन्।’
हसिनाले अर्को वर्ष फेब्रुअरीमा हुने चुनाव बहिष्कार गर्न आह्वान गरेको रिपोर्टलाई अस्वीकार गरेकी छन्।
उनले भनेकी छन्, ‘यदि अवामी लिगलाई चुनावबाट बहिष्कार गरियो भने मान्य हुने छैन। लाखौँ मानिसले हामीलाई समर्थन गर्छन्, त्यसैले देशलाई जनताको सहमतिमा काम गर्ने नेतृत्वको आवश्यकता छ।’
Shares

प्रतिक्रिया