ग्लोबल


बंगलादेश: दुईतिहाइभन्दा बढी सिट जितेपछि नयाँ सरकार गठन गर्ने तयारीमा बीएनपी

शपथ कसले खुवाउने भन्ने छलफलमा नेताहरू
बंगलादेश: दुईतिहाइभन्दा बढी सिट जितेपछि नयाँ सरकार गठन गर्ने तयारीमा बीएनपी

बीएनपीका अध्यक्ष तारिक रहमान, जो बंगलादेशको प्रधानमन्त्री बन्दै छन्।


नेपालखबर
फागुन २, २०८२ शनिबार ८:३९, काठमाडौँ

बंगलादेशमा बिहीबार सम्पन्न निर्वाचनमा दुई तिहाइभन्दा बढी सिट जितेपछि बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) नयाँ सरकार गठनको तयारीमा जुटेको छ। 

बीबीसी बंगला सेवाका अनुसार, पार्टीका नेताहरूले संसद्‌को अनुपस्थितिमा कसरी र कसले शपथ खुवाउने भन्ने कानुनी पक्षका विषयमा छलफल गरिरहेका छन्। 

चुनावी नतिजा घोषणा भएपछि शुक्रबार राति बीएनपीका धेरै जना शीर्ष नेताले पार्टी अध्यक्ष तारिक रहमानसँग भेटवार्ता गरेका छन्।

यसपछि पार्टीको स्थायी समिति सदस्य सलाहुद्दिन अहमदले बीबीसी बंगलासँग भनेका छन्, ‘हामी अब कसरी र कसले शपथ ग्रहण गराउने भनेर बुझ्ने प्रयास गरिरहेका छौँ।’ 

उनले अगाडि भनेका छन्, ‘यदि राजपत्र जारी भयो भने प्रमुख निर्वाचन आयुक्तलाई तीन दिनभित्र सभामुख र उपसभामुखको अनुपस्थितिमा शपथ ग्रहण गराउने जिम्मेवारी दिन सकिन्छ। यसको अर्थ १७ तारिखसम्म शपथ ग्रहण गराउन सकिन्छ।’

बंगलादेशको परम्पराअनुसार प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यले सांसदसँगै राष्ट्रपतिबाट शपथ खाने गरिएको छ। 

बंगलादेशको वर्तमान कानुनअनुसार सभामुख वा उपसभामुखले शपथ ग्रहण गराउनुपर्ने हुन्छ। यदि यो सम्भव नभएमा राष्ट्रपतिद्वारा मनोनीत व्यक्तिले शपथ ग्रहण गराउन सक्ने प्रावधान पनि छ। 

यो पनि सम्भव नभएमा प्रमुख निर्वाचन आयुक्तले तीन दिनपछि शपथ ग्रहण गराउन सक्छन्।

बीएनपीले नयाँ सरकार गठन गर्दा यसका अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने छन्। उनी पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा हुन्। 

१७ वर्ष बेलायतमा निर्वासनपछि गत डिसेम्बर २५ तारिख मात्र उनी स्वदेश फर्किएका थिए।

त्यसको ५ दिनपछि नै बिरामी आमा जियाको मृत्युभएपछि पार्टी प्रमुख बनेका तारिक अब सरकार प्रमुख पनि बन्ने भएका हुन्। 

विद्यार्थी आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री शेख हसिना सन् २०२४ अगस्ट ५ मा भारत भागेपछि र पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन भएपछि बंगलादेशमा पहिलोपटक बिहीबार (फेब्रुअरी १२ तारिख) संसदीय निर्वाचन भएको हो।

जसमा बीएनपी एक्लैले २०९ सिट जितेको छ भने यसका सहयोगीले ३ सिट जितेका छन्। 

यो खबर बनाउँदासम्म बंगलादेशको निर्वाचन आयोगले २९९ निर्वाचन क्षेत्रमध्ये २९७ स्थानको अन्तिम नतिजा घोषणा गरेको छ।

जसमा विपक्षी बंगलादेश जमात-ए-इस्लामीले ६८ सिट जितेको छ भने यसका सहयोगीले ९ सिट जितेका छन्।

हसिनाको १५ वर्ष शासन अन्त्य गराउने विद्यार्थी विद्रोहबाट खुलेको नयाँ दल नेसनल सिटिजन पार्टी (एनसीपी) ६ सिट जितेको छ। यद्यपि यो पार्टीले ३० सिटमा मात्र उम्मेदवारी दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad