ग्लोबल


इरानलाई अमेरिकाको चेतावनी: हाम्रो कूटनीतिलाई कमजोरी नठान्नू, आवश्यक परे सैन्य विकल्प प्रयोग गरिनेछ

इरानलाई अमेरिकाको चेतावनी: हाम्रो कूटनीतिलाई कमजोरी नठान्नू, आवश्यक परे सैन्य विकल्प प्रयोग गरिनेछ

अमेरिकाका उपराष्ट्रपति जेडी भान्स र इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी (फाइल फोटो)


नेपालखबर
फागुन १४, २०८२ बिहिबार १०:५३, काठमाडौँ

अमेरिकाले मध्यपूर्वमा युद्धपोत र सेनाको तैनाथी बढाइरहेका बेला अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानलाई कडा चेतावनी दिएका छन्। 

फक्स न्युजसँग उनले भनेका छन्, ‘अमेरिकी कूटनीतिलाई कमजोरी नठान्नू, आवश्यक परे सैन्य विकल्प प्रयोग गरिनेछ।’

यो कुरालाई गम्भीरतापूर्वक लिन पनि उनले इरानलाई सुझाव दिएका छन्। 

‘हामीले त्यस्तो अवस्थामा पुग्नुपर्छ, जहाँ आतंकवादको विश्वको सबैभन्दा ठुलो केन्द्र इरानले विश्वलाई आणविक हतियारको धम्की दिन नसकोस्’, उपराष्ट्रपति भान्सले भने, ‘निन्दनीय, क्रूर र विश्वको सबैभन्दा खतरनाक देशलाई आणविक हतियार राख्न अनुमति दिन सकिँदैन।’

उनले आफ्ना राष्ट्रपति डोनाल्ड ट्रम्प कूटनीतिकबाट समाधान खोज्ने पक्षमा रहेको तर उनीसँग अन्य विकल्प उपलब्ध पनि रहेको बताए। साथै त्यो विकल्प प्रयोग गर्ने इच्छा ट्रम्पले देखाइसकेको पनि उपराष्ट्रपति भान्सले उल्लेख गरेका छन्। 

यसअघि बुधबार मात्र राष्ट्रपति ट्रम्पले देशको कंग्रेस (संसद्) लाई सम्बोधन गर्दै इरानले अमेरिकामा प्रहार गर्न सक्ने क्षेप्यास्त्र विकास गरिरहेको आरोप लगाएका छन्।

उनले भनेका छन्, ‘इरानले गत वर्ष अमेरिकाले आक्रमण गरेपछि पनि इरानले आफ्नो आणविक कार्यक्रमलाई फेरि अघि बढाउने प्रयास गरिरहेको छ।’

यसैबिच आज अमेरिका र इरानबीच स्विट्जरल्यान्डको जेनेभामा तेस्रो चरणको कूटनीतिक वार्ता हुँदै छ। 

वार्ताका लागि इरानका विदेशमन्त्री अब्बास अराघची बुधबार नै तेहरानबाट जेनेभा पुगिसकेका छन्। त्यहाँ उनले ओमानका समकक्षी बद्र अलबुसैदीसँग भेटघाट गरेका छन्।

आजको वार्ता पनि ओमानले नै मध्यस्थता गर्नेछ।

इरानको आणविक कार्यक्रमबारे यसअघि ओमानकै मध्यस्थतामा अमेरिकासँग मस्कटमा दोस्रो चरणको वार्ता भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad