इरानसँग युद्धका बिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इन्धन ढुवानी गर्ने जलमार्ग होर्मुज स्ट्रेटको सुरक्षाका लागि आफ्ना युद्धपोत पठाउन चीनलगायत विश्वका विभिन्न देशलाई अपिल गरेका छन्।
इरानले होर्मुज स्ट्रेट भएर जाने जहाजलाई निसाना बनाउने चेतावनी दिएपछि ट्रम्पले शनिबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत चीन, फ्रान्स, जापान, दक्षिण कोरिया र बेलायतलाई स्ट्रेट अफ होर्मुजको सुरक्षाका लागि आफ्ना युद्धपोत पठाउन अनुरोध गरेका हुन्।
यसैबिच उनको यस आग्रहमा केही देशले जवाफ दिएका छन्।
बेलायत
बेलायतका रक्षा मन्त्रालयका प्रवक्ताले भनेका छन्, ‘हामीले पहिले भनिसकेका छौँ कि यस क्षेत्रमा ढुवानीको सुरक्षा सुनिश्चित गर्न हामी हाम्रा सहयोगी र साझेदारसँग विभिन्न विकल्पमा छलफल गरिरहेका छौँ।’
चीन
वासिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ताले सीएनएनसँग भनेका छन्, ‘चीन द्वन्द्व तुरुन्त अन्त्य गर्न आह्वान गर्छ।’
प्रवक्ताले चीनले ट्रम्पको अनुरोध स्वीकार गर्छ कि गर्दैन भन्ने कुराचाहिँ बताएनन्।
तर स्थिर र निर्वाध ऊर्जा आपूर्ति सुनिश्चित गर्नु सबै पक्षको जिम्मेवारी हो भने। साथै उनले सम्बन्धित पक्षसँगको संवाद जारी राखिने बताए।
जापान
अमेरिकालाई आफ्नो सबैभन्दा नजिकको सहयोगी मान्ने जापानले ट्रम्पको अपिलबारे आधिकारिक रूपमा प्रतिक्रिया दिएको छैन।
यद्यपि अधिकारीहरूले आइतबार जापानी सञ्चारमाध्यम एनएचकेसँग भने, ‘यो मुद्दा प्रधानमन्त्री सानेई ताकाइचीले बुधबार सुरु गर्ने अमेरिका भ्रमणको एजेन्डामा समावेश गर्न सकिन्छ।’
विदेश मन्त्रालयका एक अधिकारीले एनएचकेलाई बताएअनुसार ट्रम्पको अनुरोधमा जापानले तुरुन्तै नौसेना जहाज पठाउने छैन।
ती अधिकारीले भने, ‘जापानले आफ्नो प्रतिक्रिया आफैँ तय गर्छ र स्वतन्त्र निर्णय लिने कुरा आधारभूत छ।’
फ्रान्स
फ्रान्स सरकारले पनि तुरुन्तै आधिकारिक प्रतिक्रिया जारी गरेन।
यद्यपि शनिबार ट्रम्पले पोस्ट गरेको केही घण्टापछि फ्रान्सको विदेश मन्त्रालयले आफ्नो आधिकारिक एक्स अकाउन्टमार्फत होर्मुज स्ट्रेटमा फ्रान्सले युद्धपोत पठाउँदैछ भन्ने रिपोर्ट अस्वीकार गर्यो।
दक्षिण कोरिया
ट्रम्पको अनुरोधमा दक्षिण कोरियाबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।
स्ट्रेट अफ होर्मुज : के हो र कहाँ छ?
अरब खाडीलाई ओमानको खाडी र त्यसभन्दा परको अरब सागरसँग जोड्ने स्ट्रेट अफ होर्मुज विश्वकै सबैभन्दा महत्त्वपूर्ण ऊर्जामार्ग हो।
विश्वभर खपत हुने तेलको पाँचौँ हिस्सा र ठुलो मात्रामा ग्यास ओसारपसार हुने जलमार्ग स्ट्रेट अफ होर्मुज एकातिर ओमान र यूएई अनि अर्कातिर इरानको बिचमा पर्छ।
यहाँबाट पार हुने कच्चा तेल इरान, इराक, कुवेत, कतार, साउदी अरब र यूएईबाट आउँछ। साथै स्ट्रेट अफ होर्मुजले एलएनजी व्यापारमा पनि महत्त्वपूर्ण भूमिका खेल्छ।
अमेरिकी ऊर्जा सूचना प्रशासन (ईआईए) का अनुसार स्ट्रेट अफ होर्मुज हुँदै अधिकांश कच्चा तेल एसिया जान्छ, जसमा चीन, भारत, जापान र दक्षिण कोरियाले करिब ७० प्रतिशत हिस्सा ओगट्छन्।
युरोपको करिब ३० प्रतिशत जेट इन्धन आपूर्ति यही स्ट्रेट अफ होर्मुजबाट हुन्छ भने विश्वव्यापी एलएनजी आपूर्तिको पाँचौँ हिस्सा यही जलमार्ग भएर जान्छ।
अमेरिका-इजरायल र इरानबिचको युद्ध विश्वकै सबैभन्दा महत्त्वपूर्ण ऊर्जामार्गमध्ये एक स्ट्रेट अफ होर्मुजसम्म फैलिएको छ।जसका कारण तेलको मूल्य तीव्र रूपमा बढेको छ।
इरानको सरकारी सञ्चारमाध्यमका अनुसार स्ट्रेट अफ होर्मुज बन्द गर्ने अन्तिम निर्णय देशको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले गर्छ र त्यसलाई सरकारले अनुमोदन गर्नुपर्छ।
Shares

प्रतिक्रिया