ग्लोबल


चर्कियो मध्यपूर्व द्वन्द्व, खाडीदेखि युरोपसम्म असर

चर्कियो मध्यपूर्व द्वन्द्व, खाडीदेखि युरोपसम्म असर

नेपालखबर
चैत ६, २०८२ शुक्रबार १४:४७, पेरिस

मध्यपूर्वमा जारी युद्ध थप व्यापक बन्दै जाँदा खाडी क्षेत्रदेखि युरोपसम्म यसको असर फैलिएको छ। क्षेप्यास्त्र र ड्रोन आक्रमण, प्रतिआक्रमण, ऊर्जा पूर्वाधारमा क्षति र कूटनीतिक सक्रियता एकैसाथ तीव्र बनेका छन्, जसले क्षेत्रीय सुरक्षा मात्र नभई, विश्वव्यापी स्थायित्वमा पनि चिन्ता बढाएको छ।

शुक्रबार खाडी क्षेत्रका विभिन्न देशहरूमा आक्रमण र प्रतिरक्षात्मक कारबाही देखिएको छ। एमिराटी र कुवेतका अधिकारीहरूले आफ्नो हवाई सुरक्षा प्रणालीले क्षेप्यास्त्र आक्रमणलाई जवाफ दिइरहेको बताएका छन्।

साउदी अरबको रक्षा मन्त्रालयले देशको पूर्वी भागमा १० वटा र उत्तरी क्षेत्रमा थप एक ड्रोन रोकी नष्ट गरिएको जानकारी दिएको छ। बहराइनले भने ‘इरानी आक्रामकता’का कारण एक गोदाममा आगलागी भएको पुष्टि गर्दै मानवीय क्षति नभएको जनाएको छ।

यसैबिच संयुक्त अरब इमिरेट्सले आन्तरिक सुरक्षामा कडाइ गर्दै इरान र लेबनानी समूह हिजबुल्लाहसँग सम्बन्धित कथित सञ्जालका कम्तीमा पाँच सदस्य पक्राउ गरेको जनाएको छ।

सरकारी सञ्चारमाध्यमका अनुसार उक्त समूहमाथि बाह्य पक्षहरूसँग समन्वय गर्दै राष्ट्रिय अर्थतन्त्रमा घुसपैठ गर्ने योजना बनाएको आरोप लगाइएको छ। युद्धको केन्द्र इरान र इजरायलबीच प्रत्यक्ष टकरावमा केन्द्रित देखिन्छ।

इजरायली सेनाले इरानबाट क्षेप्यास्त्र प्रहार भएपछि तेहरानभरि सैन्य तथा रणनीतिक पूर्वाधार लक्ष्य गर्दै आक्रमणको शृंखला सुरु गरेको जनाएको छ।

यसै क्रममा जेरुसेलममा पनि राति मिसाइल आक्रमणको चेतावनीसँगै शक्तिशाली विस्फोट सुनिएको एएफपीका पत्रकारहरूले उल्लेख गरेका छन्।

आपत्‌कालीन सेवाका अनुसार मानवीय क्षति नभए पनि विभिन्न स्थानमा भौतिक क्षति भएको छ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले युद्ध अपेक्षाभन्दा छिटो अन्त्यतर्फ उन्मुख भएको दाबी गर्दै इरानको सैन्य क्षमतामा गम्भीर क्षति पुगेको बताएका छन्।

उनले इरान अब युरेनियम संवर्धन वा ब्यालेस्टिक क्षेप्यास्त्र निर्माण गर्न असमर्थ भएको दाबी गरेका छन्। साथै इजरायलले इरानी ग्यास पूर्वाधारमा आक्रमण गर्दा स्वतन्त्र रूपमा निर्णय गरिएको बताउँदै अमेरिकालाई युद्धमा तानेको आरोप अस्वीकार गरे। 

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यसअघि यस्तो आक्रमण नगर्न सुझाव दिएको बताएका छन्। ऊर्जा क्षेत्रमा पनि युद्धको प्रभाव स्पष्ट देखिएको छ।

कतारका ऊर्जामन्त्री साद सेरिदा अल-काबीले ऊर्जा संरचनामा भएको आक्रमणका कारण तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) निर्यात क्षमता १७ प्रतिशतले घट्ने र पूर्ण मर्मतमा तीनदेखि पाँच वर्ष लाग्ने बताए। उनले दीर्घकालीन आपूर्ति सम्झौताहरूमा पाँच वर्षसम्म ‘फोर्स मेज्युअर’ लागु गर्नुपर्ने अवस्था आउन सक्ने संकेत गरे।

क्षेत्रीय तनावले अन्तर्राष्ट्रिय समुद्री मार्गमा समेत जोखिम बढाएको छ।

नेतन्याहुले इरानले स्ट्रेट अफ होर्मुज बन्द गरेर विश्वलाई दबाबमा पार्ने प्रयास गरिरहेको आरोप लगाउँदै यस्तो प्रयास असफल हुने दाबी गरे। 

यसै सन्दर्भमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले होर्मुज क्षेत्रमा सुरक्षित नेभिगेसन सुनिश्चित गर्न संयुक्त राष्ट्रसंघको संरचना स्थापना गर्ने विषयमा सुरक्षा परिषद्का स्थायी सदस्यहरूसँग छलफल गर्ने योजना अघि बढाइएको जानकारी दिए।

युद्धको असर युरोपसम्म पुगेको छ।

युरोपेली संघ (ईयू) का नेताहरूले सन् २०१५ जस्तै आप्रवासन संकट दोहोरिन सक्ने चिन्ताबिच अनियन्त्रित आप्रवासी आवागमन रोक्न कूटनीतिक, कानुनी, परिचालन र आर्थिक सबै संयन्त्र पूर्ण रूपमा परिचालन गर्ने प्रतिबद्धता जनाएका छन्।

लेबनानतर्फ पनि तनाव कम भएको छैन। राष्ट्रपति जोसेफ आउनले इजरायल र हेजबुल्लाहबिच युद्धविराम र वार्ता सुरु गर्न पुनः आह्वान गरेका छन्।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ७९ महिला, ११८ बालबालिका र ४० स्वास्थ्यकर्मीसहित १ हजार १ जनाको मृत्यु भइसकेको छ भने २ हजार ५८४ जना घाइते भएका छन्।

युद्धको अन्तर्राष्ट्रिय आयाम झन् स्पष्ट हुँदै गएको छ।

इरानले जर्मनीसँग रामस्टेनस्थित अमेरिकी एयरबेसको भूमिकाबारे स्पष्टीकरण मागेको छ।

जर्मनीका लागि तेहरानका राजदूतले उक्त आधारको भूमिका स्पष्ट नभएको बताएका छन्। यद्यपि अमेरिकाका राष्ट्रपति ट्रम्पले अमेरिकी स्थल सेना परिचालनबारे कुनै स्पष्ट योजना नरहेको संकेत गर्दै यस विषयमा खुलासा गर्न नचाहेको बताए।

यसरी मध्यपूर्वमा जारी द्वन्द्व केवल क्षेत्रीय सीमामा सीमित नरही ऊर्जा, सुरक्षा, आप्रवासन र अन्तर्राष्ट्रिय कूटनीतिमा गहिरो प्रभाव पार्दै विश्वव्यापी चासोको केन्द्र बन्न पुगेको छ। (रासस/एएफपी)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad