यस वर्ष हुने संसदीय निर्वाचनमा प्रधानमन्त्री बिन्यामिन नेतन्याहुलाई हराउन इजरायलमा दुई राजनीतिक दल एकीकरण गरी नयाँ पार्टी गठन गरिएको छ।
पूर्व दक्षिणपन्थी प्रधानमन्त्री नाफ्ताली बेनेट र मध्यमार्गी विपक्षी नेता याएर लापिडले आफ्ना दल विलय गरी नयाँ दल याचाड घोषणा गरेका हुन्, जसको अर्थ ‘सँगै’ हो।
यो समाचार सोमबार (अप्रिल २७ मा) इजरायली पत्रिकाहरूमा प्रमुख शीर्षक बनेको छ।
यो निर्णयसँगै याचाड सबैभन्दा ठुलो विपक्षी दल तथा बेनेट प्रधानमन्त्री नेतन्याहुको प्रमुख प्रतिद्वन्द्वी बनेका छन्।
इजरायलका धेरैजसो सञ्चारमाध्यमले यसलाई ‘नाटकीय’ घटनाको संज्ञा दिँदै यसको उद्देश्य नेतन्याहुलाई सत्ताबाट हटाउनु रहेको उल्लेख गरेका छन्। लगभग सबै प्रमुख पत्रिकाले बेनेट र लापिडको तस्बिर पहिलो पृष्ठमा छापेका छन्।
यसअघि २०२१ मा पनि बेनेट र लापिड नेतन्याहुलाई सत्ताबाट हटाउन भन्दै एक भएका थिए तर उनीहरूको कमजोर गठबन्धन चाँडै विघटन भएको थियो।
के भन्छन् इजरायली सञ्चारमाध्यम?

लोकप्रिय मध्यमार्गी च्यानल १२ न्युजले बेनेटलाई उद्धृत गर्दै भनेको छ, ‘हामी केवल जियोनिस्ट पार्टीहरूलाई विश्वास गर्छौँ। अरब पार्टीहरू जियोनिस्ट होइनन् र त्यसैले हामी उनीहरूलाई विश्वास गर्दैनौँ।’
हालैका महिनाहरूमा प्यालेस्टिनी दलहरूलाई गठबन्धन सरकारबाट हटाउने माग चुनावी अभियान र मिडिया बहसमा प्रमुख विषय बनेको छ।
उदारवादी पत्रिका हारेट्जका अनुसार, इजरायलको आगामी चुनावको प्रक्रिया प्रभावकारी रूपमा सुरु भएको छ। पत्रिकाले लेखेको छ, ‘कानुनी रूपमा चुनाव ठिक ६ महिनापछि हुने तालिका छ, तर चुनाव प्रक्रिया आजै सुरु भइसकेको छ।’
हारेट्जका अनुसार, बेनेटले भनेका छन्, ‘दक्षिणपन्थीबाट सकेसम्म भोट ल्याउन जरुरी छ।...म जित्न आएको हुँ।’
उता लापिडले भने सुरुमा यो अलि हतार हुने ठानेका थिए। उनी बिन्यामिन नेतन्याहु चुनाव लड्छन् कप लड्दैनन् र राजनीतिक परिस्थिति कस्तो हुन्छ भनेर पर्खन चाहन्थे।
हारेट्जले यसो पनि भनेको छ, ‘गाडी आइसेनकोटको निर्णयको पर्खाइमा छ, ऊ पनि गठबन्धनमा सामेल हुने अपेक्षा गरिएको छ।’
दक्षिणपन्थी र नेतन्याहु समर्थक च्यानल १४ न्युजले उनीहरूको एकतालाई सामान्यीकरण गर्दै भनेको छ, ‘यो लापिड र बेनेटले आफ्नो राजनीतिक करियर बचाउन गरेको प्रयास हो।’
एक टिप्पणीकारले भनेका छन्, ‘सर्वेक्षणअनुसार उनीहरूका दलले चुनावी सफलता प्राप्त गर्ने छैनन्।’
तर यो दाबीलाई हालैका मूलधारका सर्वेक्षणले खण्डन गर्छ, जसले बेनेटको पार्टीलाई नेतन्याहुको लिकुड पार्टीको सबैभन्दा ठुलो प्रतिद्वन्द्वीका रूपमा प्रस्तुत गरेको छ।
बेनेटको पुरानो अभिव्यक्ति सामाजिक सञ्जालमा
लापिड र बेनेटबिच एकताबारे सामाजिक सञ्जालमा व्यापक बहस भइरहेको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले बेनेटको पुरानो अभिव्यक्ति सार्वजनिक गरिरहेका छन्, जसमा उनले लापिडलाई प्रधानमन्त्रीका रूपमा समर्थन गर्न नसकिने र गर्नु आफ्नो सिद्धान्तविरुद्धमा हुने बताएका छन्।
एक्समा सार्वजनिक भिडिओमा बेनेट लापिडलाई ‘तपाईंसँग कोही पनि बस्न चाहँदैनन्’ भनिरहेको देखिन्छ।
भिडिओ पोस्ट गर्ने व्यक्तिले लेखेका छन्, 'फेरि यसरी झुट बोलेको देख्दा दुःख लाग्छ।' उनले अगाडि भनेका छन्, 'उनीसँग क्षमता थियो।'
अर्को भिडिओमा बेनेटले आफूलाई दक्षिणपन्थी नेताका रूपमा दाबी गर्दै भनेका छन्, ‘म लापिडलाई प्रधानमन्त्री बन्न दिन्नँ।’
बेनेटले पहिले अतिराष्ट्रवादी नयाँ दक्षिणपन्थी पार्टीको सहनेता बनेका थिए भने त्यसअघि यहुदी होम पार्टीको नेतृत्व गरेका थिए।
Shares

प्रतिक्रिया