मधेसको धनुषा र सिरहा जिल्ला जोड्ने मार्गको रुपमा हुलाकी राजमार्ग अन्तर्गतको कमला पुलको अस्थायी डाइभर्सन (बाँध)मा पानीको सतह बढ्दा दुई दिनेदेखि आवागन अवरुद्ध रहेको छ।
आइतबार बिहान आएको वर्षाले कमला नदीमा पानीको सतह बढ्दा सो डाइभर्सनमा समेत पानी चढेपछि धनुषा र सिरहाका स्थानीयलाई आवत जावत गर्न समस्या भएको हो। करिब तीन सय मिटर निर्माण गरिएको बाँध पानीले बीचमै भत्किएपछि सर्वसाधारण र सवारी साधन सञ्चालनमा समस्या भएको स्थानीयले जनाएका छन्।
धनुषाको कमला नगरपालिका ५ का वडाअध्यक्ष शिव पासवानले दिएको जानकारी अनुसार डाइभर्सनभन्दा माथि पानी चढेको थियो। नदीमा पानीको बहाव तेज भएपछि डाइभर्सन बीचमै भत्किँदा दुई दिनदेखि आवागमन अवरुद्ध छ।
वडाध्यक्ष पासवानले दिएको जानकारी अनुसार डाइभर्सनको तीन फिट माथिसम्म पानीको सतह चढेको थियो। अहिले घटेर करीब एकडेढ फिटसम्म आएको छ। पैदल यात्रु आजदेखि केही समस्या भएपनि सामान्य रुपमा आवागमन शुरु गरेका छन्। तर सवारी साधन चाहिँ पूर्ण रुपमै ठप्प छ।
डाइभर्सन भत्किएको दिन सयौं गाडी बीचमै दुवैतर्फबाट फसेका थिए। पछि प्रशासनको सहयोगमा गाडी बाहिर निकालिएको थियो।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले कमला नदी पुल नजिकको डाइभर्सन भत्किएको जानकारी पाए लगतै जेसीबीबाट माटो हाल्ने काम भएको जानकारी दिए। पानीको सतह घटेपछि बाटो पूर्ववत अवस्थामा सञ्चालनमा आउने प्रजिअ लुइटेलले बताए।
करीब १४ वर्षदेखि सो पुल निर्माणधिन अवस्थामा रहेको छ। २०७८ असार १४ गतेका दिन पुलको निर्माण सम्पन्न भई उद्घाटन समेत भइसकेको थियो। तर तीन दिनपछि आएको बाढीको पानीले पुलको तीन वटा स्पाम भाँसिएर पुल क्षतिग्रस्त भएको थियो। करीब ५ वर्षदेखि ती भाँसिएका स्पामको मरम्मत सम्भारको काम अहिलेसम्म सकिएको छैन।
डिजाईनमै कमी कमजोरी रहेको भन्दै हुलाकी राजमार्ग आयोजनाले नयाँ डिजाईनमा स्पाम निर्माणको कार्य गर्दै आएको छ। यस आर्थिक वर्षमा निर्माण कार्य सकिने लक्ष्य रहेको हुलाकी राजमार्ग आयोजना केन्द्र जनकपुरधामले जनाएको छ।
पुल निर्माण अघिदेखि दुई दशकभन्दा बढी समयदेखि सो पुलको बाटो भएर एक जिल्लाबाट अर्को जिल्लामा जान स्थानीयले जोखिम मोलेर बाँसको चचरीमा आवात जावत गर्ने गर्दथे। पाँच वर्षअघि पुल निर्माण भएपछि फेरिबाँसकै चचरीबाट आवात जावत गरिरहेका थिए।
पछिल्लो पटक स्थानीयको आवात जावतमा समस्या भइरहेको भन्दै गुनासो बढ्न थालेपछि तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ्ग कमला पुलको निरीक्षणको क्रममा चचरी पुलको ठाउँमा डाइभर्सन बनाउन निर्देशन दिएका थिए। उनको निर्देशन अनुसार नै ५ महिनाअघि पुस महिनामा डाइभर्सन निर्माण गरिएको थियो।
विसं २०६८ जेठमा कमला पुल निर्माणका लागि निर्माण कम्पनी लुम्बिनी जेभीसँग १४ करोड ९१ लाख रुपैयाँमा सम्झौता गरिएको थियो। २०७१ मङ्सिरमा सम्पन्न हुनुपर्ने उक्त पुल सात पटकसम्म म्याद थप भइसके पनि हालसम्म निर्माण हुन सकेको छैन। पुल निर्माणमा २० करोड ४३ लाख रुपियाँ खर्च भइसकेको छ। अब कति लाग्ने भन्ने निश्चित छैन।
Shares

प्रतिक्रिया