अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग एक महिनादेखि युद्धविराम जारी रहेको तर यो निकै कमजोर अवस्थामा रहेको बताएका छन्।
सोमबार ह्वाइट हाउसको ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘युद्धविराम कायमै छ तर यो निकै नाजुक अवस्थामा छ।’
ट्रम्पको भनाइपछि इरानका सभामुखले कडा जवाफ दिएका छन्।
इरानी संसद्का सभामुख मोहम्मद गालिबाफले एक्समा लेखेका छन्, ‘इरानको सेना कुनै पनि आक्रमणको जवाफ दिन र पाठ पढाउन तयार छ।’
आइतबार इरानले अमेरिकालाई युद्ध अन्त्य र होर्मुज स्ट्रेट पुन: खोल्नका लागि सर्त राख्दै वार्ता प्रस्ताव पठाएको थियो। तर ट्रम्पले त्यसलाई ठाडै अस्वीकार गरे।
इरानको प्रस्तावमा सबै मोर्चामा युद्ध तत्काल अन्त्य गरिनुपर्ने उल्लेख गरिएको छ। साथै लेबननमा पनि इजरायलको आक्रमण रोकिनुपर्ने माग छ।
यस्तै इरानको शान्ति प्रस्तावमा अमेरिकी नौसेनाको नाकाबन्दी अन्त्य र इरानमा थप आक्रमण नगर्ने ग्यारेन्टी पनि समावेश छन्।
Shares

प्रतिक्रिया