चीनका राष्ट्रपति सी चिनफिङले ताइवान मुद्दामा अमेरिकासँग ‘टकराब’ हुन सक्ने चेतावनी दिएका छन्।
चीनको सरकारी सञ्चारमाध्यमका अनुसार राष्ट्रपति सीले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग द्विपक्षीय वार्तामा बस्नुअघि ताइवानका विषयमा अमेरिकलाई कडा चेतावनी दिएका हुन्।
सीले भने, ‘ताइवान चीन-अमेरिका सम्बन्धको सबैभन्दा महत्त्वपूर्ण मुद्दा हो।’
उनले थपे, ‘यदि यो मुद्दालाई राम्रोसँग सम्हालियो भने द्विपक्षीय सम्बन्ध सामान्यतया स्थिर रहन सक्छ। तर यसलाई राम्ररी सम्हालिएन भने दुई देश टकराब वा द्वन्द्वको बिन्दुमा पुग्न सक्छन्, जसले सम्पूर्ण चीन-अमेरिका सम्बन्धलाई धेरै खतरनाक मोडमा पुर्याउनेछ।’
सीले यस क्षेत्रमा शान्ति कायम राख्नु चीन र अमेरिकाबिचको ‘सबैभन्दा ठूलो साझा हित’ भएको पनि बताए।
ताइवान एक स्वशासित टापु हो, जुन चीनले आफ्नो दाबी गर्छ र बल प्रयोग गरेर यसलाई नियन्त्रण गर्ने सम्भावना नकार्न सकिन्न।
हालैका वर्षमा चीनले ताइवानआसपास सैन्य गतिविधि बढाएको छ। जसमा नाकाबन्दीजस्ता कार्य पनि छन्।
यसले ताइवानको प्रशासन र यसका सहयोगीमा चिन्ता बढाएको छ।
गत वर्ष ट्रम्प प्रशासनले ताइवानलाई ११ अर्ब डलरको हतियार बिक्री गर्ने घोषणा गरेको थियो।
चीनले त्यसबेला पनि आलोचना गरेको थियो भने अहिले ट्रम्प चीन भ्रमणमा रहेका बेला पनि चेतावनी दिएको हो।
ट्रम्प प्रतिनिधिमण्डलसहित बुधबारदेखि चीनको राजकीय भ्रमणमा छन्।
बिहीबार उनले चीनका राष्ट्रपति सीसँग भेटवार्ता गरेका छन्।
सीले ट्रम्पलाई बेइजिङको ग्रेट हल अफ द पिपलमा ट्रम्पलाई स्वागत गर्दै हात मिलाएका थिए।
सो अवसरमा ट्रम्पलाई गार्ड अफ अनर प्रदान गरिएको छ।
त्यसपछि सी र ट्रम्पबिच द्विपक्षीय वार्ता भएको थियो।
यस क्रममा सीले आफूहरूबिचको भेटवार्तामा विश्वको नजर रहेको उल्लेख गर्दै अमेरिका-चीन सम्बन्ध विश्वव्यापी स्थिरता लागि महत्त्वपूर्ण भएको बताए।
सीले भने, ‘दुई देश प्रतिद्वन्द्वी होइन, साझेदार बन्नुपर्छ।’
जवाफमा ट्रम्पले सीको प्रशंसा गर्दै भने, ‘तपाईंको मित्र हुन पाउनु सम्मानको कुरा हो।’
साथै ट्रम्पले अमेरिका र चीनबिचको सम्बन्ध पहिलेभन्दा अझ राम्रो हुने बताए।
उनले भने, ‘विश्वका केही प्रमुख व्यापारिक नेताहरूलाई मसँगै चीन ल्याएको छु।’
ट्रम्पको प्रतिनिधिमण्डलमा इलोन मस्क, एप्पलका सीईओ टिम कुक र बोइङका सीईओलगायत अमेरिकाका प्रमुख व्यापारिक नेताहरू छन्।
बैठकमा व्यापार, शुल्क, अर्धचालक, एआई, दुर्लभ पृथ्वी खनिज र ताइवानजस्ता मुद्दामा छलफल हुने अपेक्षा गरिएको छ।
Shares

प्रतिक्रिया