एमाले सांसद् गणेश सिंह ठगुन्नाले भारतीय पक्षबाट अतिक्रमित कालापानी क्षेत्रलाई वर्तमान सरकारले उपेक्षा गरेको आरोप लगाएका छन्।
सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा जारी छलफलमा भाग लिँदै दार्चुलाबाट निर्वाचित एमाले सांसद् ठगुन्नाले नीति कार्यक्रमले दार्चुलाको कालापानी क्षेत्रमा चारसय वर्गमिटर भूमि अतिक्रमणमा परेको विषयलाई सम्बोधन नगरेको बताए।
‘सरकारको नीति कार्यक्रम लिम्पियाधुरा, लिपुलेक र कालापानीमा भएको भारतीय अतिक्रमणप्रति किन मौन छ,’ प्रश्न गर्दै उनले भने, ‘कालापानी क्षेत्रमा नयाँ सीमा विवाद होइन। त्यहाँ भारतीय अतिक्रमण पुरानो हो। कालापानीको तिंकर क्षेत्रमा तीन वर्षभित्रमा सडक पुर्याउने प्रतिवद्धता यो सरकारले गरोस्।’
सिंहदरबास्थित सङ्घीय संसद् भवनको बहुउद्देश्यीय हलमा बिहान ११ः१५ बजेदेखि प्रतिनिधिसभा बैठक सुरु भएको हो।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने र नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ।
बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ।
यसअघि बुधबारको बैठकमा उक्त नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यसूची रहेकामा विपक्षी दलले प्रधानमन्त्री शाहको उपस्थितिको माग गर्दै अवरोध गरेपछि आजका लागि कार्यसूची सरेको हो।
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेस हुने
बैठकमा अर्थमन्त्री डा वाग्लेले ‘आव २०८३/८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
त्यसैगरी, प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले समितिको प्रतिवेदनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
Shares

प्रतिक्रिया