भारतको चर्चित हनिमुन हत्याकाण्डमा एकपछि अर्को रहस्य खुलासा भइरहेका छन्।
यसै क्रममा मारिएका राजा रघुवंशीकी पत्नी तथा अभियुक्त सोनमको साथबाट दुइटा मंगलसूत्र बरामद भएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार राजाका दाइ विपिनले सिलोङ एसआईटीले खोजी गर्दा शिलोम जेम्सको सूचनामा सोनमको ससुराको घर रतलाममा लुकाएर राखिएको सोनमको गहना फेला परेको बताएका छन्।
सिलोङ एसआईटीले बोलाएपछि अपराध शाखा प्रहरी स्टेसन इन्दोर पुगेका विपिनले सोनमका एउटा चेन र दुई मंगलसूत्र भेटिएको दाबी गरेका छन्।
आफूहरूले सोनमलाई एउटा मात्र मंगलसूत्र दिएकाले अर्को मंगलसूत्र सम्भवतः सोनमका प्रेमी राज कुशवाहले दिएको हुन सक्ने आशंका गरेका छन्।
साथै विपिनले विवाहअघि सोनमले आफ्नी आमालाई आफूले रोजेको केटासँग बिहे गर्ने बताएको तर परिवारको दबाबमा आफ्ना भाइ राजासँग बिहे गर्नुपरेपछि यो अपराध भएको दाबी पनि गरेका छन्।
भारतीय प्रान्त मध्य प्रदेशस्थित इन्दौरका राजा रघुवंशी र सोनमबीच मे ११ मा विवाह भएको थियो।
यसपछि उनीहरू हनिमुन मनाउन भनेर मे २१ मा मेघालयको शिलोङ पुगेका थिए। तर उनीहरू मे २३ देखि परिवारसँग एकाएक सम्पर्कविहीन भए।
यसपछि खोजीका क्रममा प्रहरीले राजा रघुवंशीलाई जुन २ मा पहाडको खोँचभित्र मृत अवस्थामा फेला पार्यो। तर त्यतिबेला सोनम भेटिइनन्।
अन्तत: उनी १७ दिनपछि जुन ९ मा गाजीपुरमा फेला परिन्। त्यसपछि घटना पर्दाफास भएको हो।
यो हत्या प्रकरणमा प्रहरीले अहिलेसम्म उनका पत्नी सोनमसहित ८ जना पक्राउ गरिसकेको छ।
Shares

प्रतिक्रिया