ad ad

अन्तर्वार्ता


प्रचण्डसँग डटेर बहस गर्नसक्ने मै हुँः जनार्दन शर्मा (अन्तर्वार्ता)

एमालेसँग फेरि गठबन्धन सम्भव छैन
प्रचण्डसँग डटेर बहस गर्नसक्ने मै हुँः जनार्दन शर्मा (अन्तर्वार्ता)

माओवादी नेता एवम् अर्थमन्त्री जनार्दन शर्मा। तस्बिर : विजय सिंह/नेपालखबर


सागर न्यौपाने
पुस ९, २०७८ शुक्रबार १३:३२, काठमाडौँ

नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ सम्म काठमाडौँमा हुँदैछ। सम्मेलनमा महासचिव पदका एक दाबेदार हुन् अर्थमन्त्री जनार्दन शर्मा

सम्मेलनमा माओवादी केन्द्रले शान्ति प्रक्रियायताको सम्पूर्ण गतिविधिको समीक्षा हुने उनी बताउँछन्। शर्मासँग पार्टीको सम्मेलन, अर्थतन्त्रका समस्या, आदि विषयमा केन्द्रित रही नेपालखबरले गरेको कुराकानीः

नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन केका लागि?
राष्ट्रिय सम्मेलनबाट पार्टीलाई वैचारिक, सांगठनिक र विधिवत रुपले सुदृढ गर्ने उद्देश्य छ। स्थानीय तहबाट सदस्यहरुलाई संगठित गर्दै, वडा, पालिका र प्रदेशसम्म संगठित गर्दै र कमिटी निर्माण गर्दै त्यसबाट छानिएका प्रतिनिधिलाई राष्ट्रिय सम्मेलनमा प्रतिनिधि बनाएर वैचारिक पक्ष स्पष्ट गर्न, संगठनात्मक स्वरुप निर्माण गर्न र आजको आवश्यकता अनुसारको पार्टीको विधि निर्माण गर्ने प्रक्रियामा छौँ। 

२५ वर्षदेखि नेपालको राजनीति हाम्रो पार्टीका अध्यक्ष प्रचण्डले ल्याएको एजेन्डामा अगाडि बढेको छ आजको दिनसम्म। ती एजेन्डा धेरै हदसम्म पुरा भएका छन्। केही अंशमा बाँकी छन्। पुरा भएकालाई कार्यान्वयन गर्ने र बाँकी रहेका कुरा कसरी पुरा गर्ने यो प्रश्नको उत्तर दिनु छ।

शान्ति प्रक्रियाका यो १५ वर्ष हामी संगठनात्मक रुपमा अलि अस्थिर जस्ता देखियौँ। अलमल, अकर्मण्यता जस्तो देखियो। कहिले ठूला कमिटी बनायौँ, कहिले साना बनायौँ। पार्टी एकता गर्यौँ, अर्काे पक्ष (एमालेका ओली) को बेइमानीका कारण सफल भएन। यी सबै कुराको समीक्षा गर्नुछ, अब पार्टी कसरी अगाडि बढ्छ त? अब माओवादीबाट जनताले अपेक्षा गरेको कुरा के हो? त्यो अपेक्षा कसरी पुरा गर्छौँ भनेर जनताले देख्ने गरी, बुझ्ने गरी प्रस्तुत गर्नुपर्ने आवश्यकता भएको कारणले र संगठनको स्थायित्व कायम राख्न सम्मेलन गर्नुपर्यो।

माओवादी आन्दोलनमा लागेका, सहभागी भएका हाम्रा लाखौँ साथीहरु र नयाँ पंक्तिलाई भर्ती गर्नुपर्ने छ। त्यसका लागि हामीले अभियान चलायौँ। ८ लाख सदस्यता वितरण भइसकेको छ। अब तिनलाई व्यवस्थित गर्न हामीले सेल, टोल, वडा, पालिका सम्मेलन हुँदै प्रदेश सम्मेलनमा आइपुग्दा त्यहाँ भएका छलफल, जनतामा भएका अन्तरक्रिया सहित आजको विश्व परिस्थिति, आजको प्रविधिको विकास र नेपालमा संविधानले निर्दिष्ट गरेका समाजवादको बाटोमा अघि बढ्ने खाका के हो? कहाँ के गर्दा समाजवादमा पुगिन्छ? त्यसको स्पष्ट कार्यक्रम, नीति बनाउन राष्ट्रिय सम्मेलन गर्न लागेका हौँ।

यत्रा काम गर्नु रहेछ, महाधिवेशन नगरेर किन राष्ट्रिय सम्मेलन मात्र?
हाम्रो महाधिवेशन गर्ने अवधि अझै दुई वर्ष बाँकी छ। यद्यपि बीचमा गर्न सकिन्थ्यो। तर, हामीले राष्ट्रिय सम्मेलन पनि मिनी–महाधिवेशन भएकोले विचार, संगठनको सन्दर्भमा निर्णय लिन सक्छ। महाधिवेशनको पनि म्याद बाँकी रहेको, र त्यसका लागि बृहत् तयारी नभएकोले तत्कालका आवश्यकता सम्बोधनका लागि यो सम्मेलन गरिएको हो।

तपाईंले भर्खरै ‘प्रचण्डपथ’ छाड्नु गल्ती भयो भन्नुभएको छ। किन त्यसो भन्नुभएको?
जनयुद्धका बेलामा हामीले आम उत्पीडित वर्गलाई आह्वान गरेर उठाउने तागत पैदा गरेका थियौँ। त्यो तागत भनेको प्रचण्डपथ थियो। त्यसमा सबै जुर्मुराएर उठेर राजतन्त्र अन्त्य भएको हो। त्यस्तो आह्वान गर्ने पार्टी थियो, नेपाल कम्युनिष्ट पार्टी माओवादी र हाम्रा नेता हुनुहुन्थ्यो, कमरेड प्रचण्ड। नाम प्रचण्डको भएर प्रचण्डपथ भएको होइन। त्यसले बोकेको विचार, विषयवस्तु हेर्नुपर्छ। 

उत्पीडित वर्गलाई उठाउन कसरी जनयुद्ध भयो? राजतन्त्र कसरी अन्त्य गर्ने भन्ने योजना थियो। सामन्तवाद अन्त्य गर्न सकिन्छ भन्ने साहसको विचार प्रस्तुत गर्ने, जनसेना निर्माण गर्ने, शान्ति र वार्ता गर्ने फेरि युद्ध गर्ने यी कुराहरु प्रचण्डपथका योगदान हुन्। तर, हामी शान्तिपूर्ण राजनीतिमा आएपछि हामीले अर्काे बाटो तयार नगरीकन हत्तपत्त त्यो विचार निकालिदियौँ।

प्रचण्डपथ छाड्नुअघि आम कार्यकर्ता, जनता, शुभेच्छुकसँग बहस र छलफल गर्नुपर्थ्यो, वा बुझाएर गरिएको भए द्विविधा हुने थिएन।  तर कसैलाई थाहै नदिई स्वाट्टै हटाइदिएपछि त्यसले एउटा निराशा देखियो, अन्योलमा भयौं, त्यसकै प्रतिफल हामीले चुनाव र विद्रोह मात्र भन्यौँ। जसले गर्दा पार्टीमा असन्तुष्टि बढ्यो। पार्टी विभाजन नै भयो। यी कुराहरु समीक्षा गर्नुपर्छ भन्ने मेरो कुरा हो। हामीले यहाँ आइपुग्दा के के कमजोरी भए भनेर समीक्षा नगरी अर्काे बाटो तय गर्न सकिँदैन। अब नयाँ मार्ग चाहियो। 

शान्ति प्रक्रियामा आएपछि माओवादी बिग्रियो, नेताहरुमा विचलन आयो भन्ने कार्यकर्ता पंक्तिको बुझाइ छ। यो कुरा अहिले आएर तपाईंहरुले पनि महसुस गर्न थाल्नुभएको हो?
शान्ति प्रक्रियामा आइसकेपछि विचारको स्पष्टता जे हुनुपर्थ्यो त्यो नहुँदा अलमल भयो। अलमल भएपछि समस्या आइहाल्छ। प्रचण्डपथ हटाउने भए त्यही बेला अर्काे विचार स्पष्ट गरिसक्नु पर्थ्यो। त्यो नगर्नु गल्ती भयो। स्पष्ट पार्नु सट्टा हामीले दोहोरो कुरा गरिदियौँ। कसलाई के मनपर्छ त्यही भन्या जस्तो भयो। चुनाव भन्नेलाई चुनाव, विद्रोह भन्नेलाई विद्रोह। यसले पनि हामीलाई द्विविधामा पार्यो।

शान्ति प्रक्रियामा आएपछि अरु पार्टी, समूहसँगको एकतामा गल्ती भयो भन्ने तपाईंको संकेत हो?
ती संगठनात्मक अस्थिरता र संगठनात्मक विधिका समस्या भए। हामीले धेरै चरणका एकता गर्यौँ। त्यहाँ पनि विधि पद्धतिमा केही अलमल थिए। मूलभूत रुपमा एकता सही थियो। एकताकै पक्षमा भएर र माओवादीले चाहेरै एकता भएको हो। 

मैले भन्न खोजेको जुन वैचारिक मार्गनिर्देशन हो नि, त्यो स्पष्ट नहुँदा समस्या हुँदो रहेछ। त्यसको समीक्षा गर्नुको अर्थ पार्टीलाई बलियो बनाउनु, हिजो जस्तै जनताको पार्टी बनाउनु हो। देशको आवश्यकता पुरा गर्न र राजनीतिक बाटो तय गर्न पनि हामीले समीक्षा गरेर जानुपर्छ।

तपाईंहरु संविधान आफ्नै बलबुतामा बनेको दाबी गर्नुहुन्छ तर, जनताको पक्षमा छु भन्ने तपाईंहरु संसदमा तेस्रो हुनुहुन्छ। जनताले किन पत्याएनन्? 
संविधान निर्माणबाट हामीले समावेशी, समानुपातिक लोकतन्त्र निर्माण गर्यौँ। जसका कारण नेपालमा रहेका सबै मानिस राज्य निर्माणका ठाउँमा आउने बाटो बन्यो। अझै यसलाई पूर्णता दिनुपर्ने माग आइरहेको छ। अझै थप विकास गर्नुपर्ला त्यो आफ्नो ठाउँमा छ। तर, अहिले दलित, महिला, आदिवासी, जनजाति, अल्पसंख्यक, पिछडा वर्ग लगायतका सबैको राज्यभित्र स्वामित्व स्थापित गर्ने परिस्थिति बनेको छ, यसको कारण त्यही प्रचण्डले अघि सारेको विचार थियो। त्यही आन्दोलन थियो, बलिदानी थियो।

राजनीतिक रुपमा त्यत्रो त्याग र बलिदान गरेको पार्टी हुंकार गरेर आउनुपर्ने ठाउँमा कताकता ओइलाएको जस्तो किन भयो? जनताको त्यत्रो समर्थन पाएको माओवादी किन कमजोर भयो? यसलाई सच्याएर जानुपर्छ। यो उपलब्धि सय, हजार वर्षसम्मको उपलब्धि हो। त्यति लामो राजतन्त्र फाल्न सक्ने कसको हिम्मत थियो? प्रचण्डले विद्रोहको झण्डा नउठाएका भए, जनतालाई झण्डा उठाउन गोलबन्द नगरेका भए यो परिवर्तन सम्भव थिएन। 

पहिले संसदीय व्यवस्थाको विरोध गर्ने तपाईंहरु अहिले यसैभित्र हुनुहुन्छ। अब पार्टीको गन्तव्य यही नै हो भन्ने निष्कर्षमा पुग्नुभएको हो?
यो सामन्तवादलाई अन्त्य गरेर आएको प्रगतिशील प्रणाली हो। समानुपातिक, समावेशी लोकतन्त्र रहेको यो प्रणालीमा टेकेर हामी यसभन्दा उन्नत बाटोमा समाजवादतिर जान, त्यसको आधार तयार गर्न चाहन्छौँ। 

तर, अझै पनि थुप्रै परिवर्तन आवश्यक छन्। समानुपातिक निर्वाचन प्रणालीको कुरा भएको छैन। त्यसले गर्दा यो प्रणालीमा गरिबले प्रतिस्पर्धा नै गर्न नसक्ने भयो। कि धन टन्न हुनुपर्यो नत्र नसकिने भयो। कार्यकारी प्रमुखको कुरा हामीले गरेका थियौं। दुई तिहाइको सरकारले पनि गरेन। टिकेन नि त सरकार आखिर। त्यसकारण बलियो सरकार बनाउन पनि अहिले प्रत्यक्ष निर्वाचित सरकार चाहिने रहेछ भन्ने महसुस भइरहेको छ। यी विषयहरुलाई जनताका बीचमा छलफल गर्दै संविधान संशोधन गर्ने ठाउँमा पुर्याउनु नै छ। 

दोस्रो कुरा, संविधानमा लेखिएका कुरा पनि कार्यान्वयन गर्नुपर्यो नि। संविधानमा लेखिदिएर मात्र भएन, जनताले पाउनुपर्यो। त्यसका लागि आर्थिक वृद्धि चाहियो, समृद्धि चाहियो, रोजगारी चाहियो। गरिबीको अन्त्य गर्ने कार्यक्रम चाहियो। त्यसका लागि के हो त माओवादीको योजना? भन्नुपरेन जनतालाई? हामी नेपालको सांस्कृतिक, जातीय विविधताको बीचबाट यसरी यो समाजलाई छुट्टै बनाएर लैजान्छौँ भन्नुपरेन? 

त्यो कुरा उन्नत दिशातिर जाने मार्ग स्पष्ट गर्नुपर्ने, त्यो मार्ग बनाउन बृहत् बहस चाहियो, कार्यकर्ता र सबैबीच बहस र त्यो अनुसारको संगठन पनि चाहियो। 

त्यो कुरा त एमालेले पनि भनिरहेको छ, अनि एमालेभन्दा माओवादी कसरी फरक भयो? 
फरक छ। माओवादीले परिवर्तनको नेतृत्व गर्छ, गरेको छ, गर्दै आएको छ। त्यसका लागि त्याग र बलिदान पनि गरेको छ। अरुले गरेको थिएन, छैन। संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुधार गर्दै माओवादी केन्द्र अगाडि बढेको छ। संविधानको रक्षा गर्ने, प्रतिगमनका विरुद्ध लडेर त्यसलाई पराजित गरेको छ।

तपाईंहरु मुखले चाहिँ सामाजिक न्यायको कुरा गर्ने अनि ध्यान चाहिँ सत्ताभन्दा अन्त जाँदै नजाने किन होला? एमालेसँग मिलेर दुईतिहाइ ल्याए पनि जनताको काम त गर्नुभएन?
दुई तिहाई ल्याएकै हो जनताका कुरा लागू गर्न खोज्दा धोका पायौँ र त विद्रोह गर्यौँ। अब त्यो लागू गर्न बहस गर्दैछौँ।

तर, माओवादी र एमालेमा कुनै फरक देखिँदैन नि!
कतिपय विषय, कतिपय व्यवहारिक समस्याले, राजनीतिक गतिविधिले त्यस्तो देखिएको होला। तर, हामीले जनताको एजेन्डा छाडेका छैनौं, त्यही भएर एमालेजस्तो होइनौँ।

सत्ता चलाउन नपाए संविधान नै भत्काउने काम हाम्रो पार्टीले गर्दैन, संविधान जोगाउन बरु विद्रोह गर्छ। बनिबनाउ र अर्काले ल्याइदिएको व्यवस्थामा ठालु बनेर हामी हुकुम चलाउँदैनौँ। त्यही भएर जनताकोमा जान्छौं भनेका छौँ। 

राष्ट्रिय सम्मेलनबाट हामी एउटा विचार निर्माण, नेतृत्व चयन गर्दैछौँ। युवाहरुलाई नेतृत्वमा ल्याएका छौँ। नेतृत्व निर्माणका लागि युवा, दलित, आदिवासी, जनजाति लगायतको प्रवेश गराउँदै छौँ। नेतृत्व संगठनले मात्र हुँदैन, बन्दैन। विचार पनि चाहियो। विचार तल जनताबाटै ल्याउने हो। 

अनि यो राष्ट्रिय सम्मेलनले नयाँ नेतृत्व पनि चुन्छ?
राष्ट्रिय सम्मेलनबाट हामी केन्द्रीय कमिटी चुन्छौँ। सम्मेलनले कमिटी चुन्छ, कमिटीले पदाधिकारी चुन्छ, हाम्रो विधानको व्यवस्था त्यही छ। माओवादी केन्द्रले कांग्रेसको जस्तो प्रत्यक्ष नेतृत्व चुन्दैन। अहिलेको सम्मेलनले अध्यक्ष, सबै पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो चुन्ने हो।

भिडिओ

त्यसो भए अध्यक्षमा प्रचण्डको विकल्प छैन किन भनेको त?
यस्तो हो क्या, राजनीतिक आन्दोलन भनेको नेतृत्वको विचारले हुने हो। अहिलेको नेतृत्वको विचारले समग्र पार्टी निर्देशित हुन्छ। दोस्रो,  समग्र संगठनको केन्द्रीकरण गर्नुपर्छ। तेस्रो, देशको आवश्यकता, देशको राजनीतिक समस्या समाधान। यी तीन पक्ष जोडेर नेतृत्वको विषयमा कुरा हुने हो। अहिलेको सवालमा हाम्रो अध्यक्षलाई फेरि निर्वाचित गर्दैछौं अर्काे विकल्प अगाडि सारेका छैनौँ।

हामीले वैकल्पिक ढंगले नेतृत्वको विकास गर्दै पनि आइरहेका छौँ। प्रदेशमा नयाँ युवा पंक्ति ल्यायौँ। केन्द्रमै २० प्रतिशत युवा ल्यायौँ। नेतृत्वको नयाँ विकल्प ल्याउँदा नेतृत्वको सेट नयाँ ढंगले बन्छ।

माओवादी केन्द्रको महासचिवमा तपाईंको नाम पनि चर्चामा छ। दाबी गर्नुभएको हो?
मैले व्यक्तिगत रुपमा कहीँ केही भनेको छैन। पहिला त हाम्रो वैचारिक कार्यक्रम, छलफल र निचोड निकाल्नुपर्छ। त्यसपछि आम कार्यकर्ता, प्रतिनिधिलाई आह्वान गरेर सोध्ने हो, ल भन्नुस् विचार निर्माणका आधारमा यो विधि कार्यान्वयन गर्न, संगठन परिचालन गर्न तपाईं हामीलाई कस्तो नेतृत्व चाहिन्छ? छान्न दिनुपर्यो। त्यसबेला सोधे भने मैले पनि भन्छु। 

मेरो पनि आफ्नो इच्छा केहीमा छ, म संगठन विभागको प्रमुख छु, संगठन परिचालनसम्बन्धी कामको जिम्मेवारी पाएको छु। त्यस्तै जिम्मेवारी पाए हुन्थ्यो भन्ने मेरो चाहना त होला, तर मेरो चाहनाले हुँदैन, आम कार्यकर्ता, प्रतिनिधिले भन्नुपर्यो।

कार्यकर्ता कि अध्यक्षले? 
आम कार्यकर्ता र प्रतिनिधिले। म उहाँहरूसँग मेरो विषय राखौँला। उहाँहरूबाट तँ बस् भने बसौँला, होइन त त्यहाँ होइन माथि बस् भने त्यही गर्छु। अहिले मैले चाहेका ठाउँमा नहुन सक्छु।

पछिल्लो समय अध्यक्षसँग तपाईंको कुरा नमिलेको हल्ला छ। त्यसले महासचिवमा तपाईंको दाबीमा असर पार्ला?
अध्यक्षसँग मेरो सहकार्य, ४५ वर्ष पुग्न थाल्यो। निरन्तर सहकार्य छ। उहाँसँग म बहस गर्छु, छलफल गर्छु र उहाँलाई पूर्ण रुपले सहयोग पनि गर्छु। कुनै दिन छैन, मैले असहयोग गरेको होस्। म उहाँसँग डटेर बहस पनि गर्छु। उहाँको कमजोरी देखेँ भने यो मिलेन है भनेर आलोचना गर्ने पनि मै हुँ। तर, फेरि सम्पूर्ण तागतसाथ सहयोग गर्ने पनि मै हुँ। 

सम्मेलनको कुरा गर्दा अहिले नै केही भन्न सकिँदैन। अहिले नै भन्न सकिँदैन। सहमति भए पनि निर्वाचनकै प्रक्रियाबाट हुने हो। निर्वाचन भए त प्रक्रियामा गइहाल्यो, त्यही बेला कमिटीले गर्ला। २ सय ९९ जना हलले निर्वाचित गर्छ। त्यसमा अध्यक्ष लगायत सबै आउँछन्। मलाई लाग्छ म संगठन सञ्चालन गर्न सक्छु। म देशभरका साथीहरुलाई राम्रोसँग परिचालन गर्न सक्छु भन्ने मलाई लाग्छ। 

प्रदेशहरुको नतिजाले पनि त केही संकेत गर्ला?
हाम्रो त्यस्तो तलबाट विभाजित छैन। मनोवैज्ञानिक कुरा त होलान्, अलिक बढी कोहीलाई मन पराउने अलिक कम कोहीलाई मन पराउने त भइहाल्छ। तर हाम्रो तलदेखि माथिसम्मको गुटबन्दी छैन। मुख्य कुरा विचारको कुरा हो, पार्टीको कुरा हो। व्यक्तिगत रुपमा यसले अलिक बढी मलाई माया गर्छ, म यसलाई अलि बढी माया गर्छु भन्ने भावनात्मक रुपमा त होला, अरु रुपमा हाम्रो पार्टीभित्र त्यो समस्या छैन। 

उसो भए अध्यक्ष प्रचण्डले गुट भत्काउने र उत्तराधिकारी नतोक्ने घोषणा किन गर्नुपरेको त? 
यही साना–साना कुराहरु हुन्। साना–साना स्वार्थसँग गाँसिएका सम्बन्ध त होलान्। गुटबाट मुक्त छ म पनि भन्दिनँ। तर तलैबाट गुटको हिसाबले मान्छे छानेर कोही पनि आएको छैन। त्यसरी छलफल गरेको पनि छैन। यो हाम्रो पार्टीको लागि आवश्यक पनि होइन, त्यो ठाउँमा हाम्रो अहिले पुगेको छैन। अलिअलि गुटबन्दी छ, नभएको होइन, अध्यक्षले संकेत गरेको पनि त्यही हो। त्यो कुरा त माथि हुन्छ नि, तल हुँदैन। तपाईंले तल्लो तहको कुरा गर्नुभयो। कार्यकर्ताले गुटबन्दी गर्दैनन् नि। गुटबन्दी त माथिकाले गर्ने हो। 

स्थानीय, प्रदेश र आमनिर्वाचन नजिकिँदैछ। अहिले जुन गठबन्धन छ, त्यो कायम रहन्छ कि रहँदैन? कि एमालेसँग फेरि गठबन्धन हुन्छ?
तपाईंलाई प्रष्ट भन्छु, एमालेसँग गठबन्धन बनाउँदैनौँ। प्रतिगमनको नेतृत्व गरेर संविधान च्यातेकाले त्यसकाविरुद्ध विद्रोह गरेर अगाडि बढेको पार्टी हो। त्यसकारण त्यो सम्भव छैन। 

यो गठबन्धन त संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरुको गठबन्धन हो नि त। संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने बेलासम्म यसलाई जति परसम्म लैजान सकिन्छ, त्यति यो राष्ट्रको र जनताको पक्षमा हुन्छ। चुनावको कुरा त अब चुनाव आएपछि नै गरौँला। पार्टीहरुले कोसँग गठबन्धन गर्लान् वा नगर्लान् त्यतिबेलाको कुरा हो। अहिले चाहिँ संविधानको रक्षा, जनअधिकारको रक्षा उपलब्धिको रक्षा गर्ने आवश्यकतामा यो पाँच दलीय गठबन्धन बनेको छ। गठबन्धनमा पनि कतिपय एजेन्डा त नमिल्दा पनि होलान् तर मूल कुरा यसमा गठबन्धन भएको हो नि त।

अर्थ मन्त्रालयको कामकारबाहीमा प्रश्न उठ्न थालेका छन्। समस्या कहाँनेर हो?
अर्थतन्त्र भनेको सीधा बाटोमा हिँड्दैन। अलिअलि तलमाथि त हुन्छ नि। अहिलेको मुख्यगरी तरलताको समस्या पर्यो। तरलताको समस्या आउनुका पछाडि केही कारण छन्। बढी आयात भयो। बढी आयात हुनुको पनि कारण छ। कोभिडले गर्दा बन्द भएको थियो एकैचोटि खुल्दा आवश्यकता धेरै बढ्यो। उद्योग खोल्नलाई पनि बढी चाहियो। व्यवसायीलाई पनि बढी चाहियो।

उपभोग गर्नेलाई पनि बढी चाहियो। खुम्चिएर बसेको थियो। ह्वात्त आउँदाखेरी स्वाभाविक रुपमा आयात बढी भो। आयात वृद्धि हुँदाखेरि बढी पैसा बाहिर गयो। सञ्चिति घट्यो। आयात नहुँदा त घटेको थिएन। ऋण कोभिडले गर्दा तिर्न सक्ने अवस्था भएन। हामीले माघसम्मको म्याद थपिदिऊँ। अहिले ऋण फिर्ता गर्ने कुरा पनि भएन। अरु ऋण लिँदा पनि तरलताको समस्या आयो। 

अर्को कुरा, पुँजीगत खर्च असारदेखि सुरु हुनुपर्थ्यो। प्रतिस्थापन विधेयक आदि इत्यादि भन्दाभन्दै ढिला भो। बल्ल एक डेढ महिनाबाट काम सुरु भएको छ। पुँजीगत खर्च कम भयो। त्यसले गर्दा यो समस्या आयो। हिजो हामीसँग विदेशी मुद्रा ११ महिनाको थियो भने आज ७ महिनाको लागि बचत छस यो भनेको राम्रो कुरा हो, बिग्रिएको होइन। तपाईंले १० वर्षको औसत हेर्ने हो भने त्यही ७ महिनाकै वरपर छ। विश्वभरको ट्रेन्डमा हेर्यो भने यसलाई राम्रो मानिन्छ। यो बिग्रेको होइन, हिजोको भन्दा घट्यो अलिकति। फेरि बढ्ला। त्यसकारण सचेत त हुनुपर्छ। तर बिग्रियो, सबै डामाडोल भयो भन्ने त होइन। 

अलिकति मुल्यवृद्धि भएको छ। त्यसमा हाम्रो मात्रै हात छैन। अन्तर्राष्ट्रिय बजारको कुरा हुन्छ। तेलको भाउ बढ्दा त्यसको असर पर्छ। हाम्रै पनि अनुगमनको कुराले त्यहाँ पनि प्रभाव पार्छ। अर्थतन्त्रका समस्या भनेका यत्ति हुन्। सबै बर्बाद भो भनेर जनतालाई आतंकित बनाउने गरी जुन प्रचार गरिएको छ, त्यो नियोजित छ। त्यसभित्र अर्कै स्वार्थ छ। मैले त तथ्यांकै बोलेको छु त। कहीँ लुकाएको, छिपाएको छैन।

त्यसलाई राम्रो बनाउन हामीले विभिन्न स्किम ल्याएका छौँ। निर्यात अहिले राम्रै छ। आयातलाई कम गर्ने हामीले गरिरहेकै छौँ। कहाँ सुधार गर्न सकिन्छ हामी लागिरहेकै छौँ। डलरको सञ्चिति, वैदेशिक लगानी ल्याउने कुरा पनि हामीले अगाडि बढाएका छौँ। अनुदान पनि आउने कुरा भइरहेको छ। अन्तर्राष्ट्रिय डोनर सबैसँग सुमधुर सम्बन्ध छ। आइराखेको छ। हिजो मात्रै मैले एउटा हस्ताक्षर गरेँ। विश्व बैंकसँग कुरा अघि बढिरहेकै छ। तर, जसरी हल्ला गरेर तर्साउन जुन खोजियो नि, त्यो नियोजित हो। अर्थतन्त्रमा अलिअलि घटिबढी हुन्छ। तर संकटमा छैन।   

नीतिगत रुपमा गलत काम हुँदैछ, कसैले पोस्ने, कसैलाई मास्ने भइरहेको छ भन्ने गुनासो छ नि!
मैले यसलाई परिणामले गलत पुष्टि गर्छु। नीतिगत रुपमा जे नगर्नु पथ्र्यो, त्यो गरेकै छैन। राष्ट्रलाई अहित हुने काम केही पनि गरेको छैन। राष्ट्रलाई फाइदा हुने काम मात्रै नीतिगत रुपमा गरिएको छ। त्यसले राष्ट्रलाई परिणाम पनि दिँदैछ। भोलि पुष्टि गरेर तपाईंहरुको अगाडि म भन्ने छु कि यो निर्णयले यो काम भयो। कसैलाई चित्त नबुझेर टिप्पणी गर्ने कुरा एउटा भयो।

कसैले आलोचना गर्छ भने त्यसमा पनि टिप्पणी छैन, मैले धन्यवाद नै भनेको छु। त्यसले मलाई अझै सचेत बनाउँछ। जनताको हितमा काम गर्छु भनेको छु। कसैले ब्ल्याकमेलिङ गर्नका लागि योजनाबद्ध रुपले हमला गर्छ भने त्यो ब्ल्याकमेलिङको कारण मैले भन्नुपर्छ। म कुनै दिन भनौँला। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .