ad ad

अन्तर्वार्ता


दलीय व्यवस्थामा एकललाई जिताउँदा के हुन्छ, धनगढीबासीले छिटै बुझ्छन् : नृप वड (अन्तर्वार्ता)

दलीय व्यवस्थामा एकललाई जिताउँदा के हुन्छ, धनगढीबासीले छिटै बुझ्छन् : नृप वड (अन्तर्वार्ता)

यज्ञराज जोशी
जेठ ९, २०७९ सोमबार २१:०, धनगढी

अघिल्लो स्थानीय तहको निर्वाचनमा धनगढी उपमहानगरपालिकामा कांग्रेसले प्रमुख र उपप्रमुख दुवै पदमा जित हात पारेको थियो। कांग्रेसले यसपल्ट पनि जनतासँग नजिक भएको मान्छे भन्दै नगरमा पुनः तत्कालीन मेयर नृपबहादुर वडलाई नै दोहोर्याउने निर्णय गर्यो। सुरुमा एकल जित्छौँ भनेर कांग्रेसको स्थानीय नेतृत्वले गठबन्धन रुचाएको थिएन।

तर, केन्द्रबाट नै उपमहानगरपालिकामा गठबन्धन भएपछि यहाँ कांग्रेसले मेयर तथा माओवादीले उपमेयर पाएको थियो। गठबन्धन हुँदा झन् जित्ने निश्चित भएको दाबी गरेका वड निर्वाचनमा भने नराम्रोसँग पराजित भए। उनी स्वतन्त्र उम्मेदवार गोपी हमालसँग १२ हजार ४८ मतले पराजित भएका थिए।

गठबन्धनसहितको कांग्रेसले धनगढीमा किन पराजय भोग्यो त? नेपालखबरले वडसँग सोमबार बिहान गरेको वार्ता–

गठबन्धन नहुँदा पनि एक्लै जित्ने दाबी गरेको कांग्रेस धनगढीमा किन हार्यो?
सबैकुरा विश्वासमा हिँडियो। एकातिर गठबन्धन थियो। अर्कातिर पार्टीको पनि बलियो उपस्थिति भएको कुरा ११ जना वडाध्यक्ष जितेबाट पनि प्रमाणित हुन्छ। स्वतन्त्र उम्मेदवारले अधिकतर सपनाहरु देखाएका छन्। संस्थागत (दलीय) रुपमा जनताको मागहरु, आवश्यकताहरु पुरा गर्न सकेनौँ अब एक्लै मान्छेले गर्छ भन्ने जुन भ्रम फैलायौँ, यो भ्रमका कारणले गर्दा नसोचेको जस्तो नतिजा आयो। छिटोभन्दा छिटो दलीय व्यवस्थामा एकल भनेको के हुँदो रहेछ भन्ने धनगढीबासीले बुझ्छन्। 

गठबन्धनका दलबाट पनि साथ पाइएन भन्नुभएको हो?

गठबन्धनबाट त शून्य नि, साथै भएन। गठबन्धनका सबै बिक्री भए। गठबन्धन नभएको भए बरु हामी चुनाव जितिहाल्थ्यौँ। १९ वटै वडामा र उपमेयरसहित हुन्थ्यो। टिम नै हुन्थ्यो। सहयोग हुन्थ्यो। चुनाव जितिन्थ्यो। गठबन्धन नभएको भए स्वतन्त्रले पनि धेरै खेल्न पाउँदैनथ्यो। म नराम्रोसँग हारेप नि माओवादीकी उम्मेदवार त जम्मा हजारपन्ध्र सय मतले मात्रै हार्नुभयो। माओवादीको ३ हजार ३५ सय भोट थियो भने गठबन्धन हुँदा हाम्रो पनि भोट जोडिएर १२ हजार भोट पाउनुभएको छ। गठबन्धनमा हामी(कांग्रेस)ले इमान्दारी देखायौँ। तर, गठबन्धनका अरु दल इमान्दारीसाथ लागेनन्। हामी एकल चुनाव लडेको भए जित्थ्यौँ।

दलभित्रबाटै पनि अन्तर्घात भयो?
अन्तर्घात त नेपाली कांग्रेसमा स्वभाविक प्रक्रियाभित्र पर्छ। अन्तर्घात नेपाली कांग्रेसमा धर्म हो। त्यसको पनि धेरै समस्या थिएन। यसभन्दा अगाडिको चुनावमा पनि सातआठ हजार भोट विपक्षीमा हालेकै हो। अहिले पनि १४/१५ हजार भोट डाइभर्ट भयो। 

अन्तर्घात गर्नेहरुलाई छानबिन, कारबाही होला नि?
केहीपनि हुँदैन। केही गरिँदैन। 

वडातहसम्मै संगठन भएको दलीय व्यवस्थामा नागरिकले स्वतन्त्र उम्मेदवारलाई किन चुने होलान्?
धनगढीबासीले त्यो कुरा बुझेनन्। धनगढीबासीसँग म दैनिक रुपमा सँगै छु। संस्थागत रुपमा सँगै छु। समस्याहरु बुझेको छु। कोरानोकालमा घरघरमा गएर औषधि पठाएको छु। तर नगरबासीले एकैचोटि फरक पार्छ कि भन्ने सोच राख्नुभयो। एक्लो मान्छेलाई प्रमोट गर्दा के हुन्छ र संस्थागत मान्छेलाई चुन्दा के फरक हुन्छ भन्ने बुझिएन। यो ह्विम ल्याउनुमा मिडियाका साथीहरुको पनि भूमिका रह्यो। 

मेरो पार्टीभित्र ३५ वर्षको लगानी छ। ५ वर्ष पदीय रुपमा बसे पनि ३० वर्ष मैले समाजमा सेवा गरेको छु। मैले दुई वटा चुनाव लडेँ तर व्यवसायीहरुबाट एक रुपैयाँ उठाएको छैन। तर जो हामीसँग चुनाव लडेको उम्मेदवार हुनुहुन्छ, उहाँले हर पसलबाट सगुनका रुपमा पैसा उठाउनुभएको छ। पहिलो र अहिलेको चुनावमा पैसा उठाएर खर्च गरेर पचाउनुभएको छ। 

स्वतन्त्र उम्मेदवारले नगर विकास गर्न सक्दैनन् भन्ने दोहोर्याउन खोज्नुभएको हो?
जुन बजेट मैले चलाएको हो, त्यही बजेट हो। अन्यत्र आकासबाट बजेट आउने, घरघराना बेचेर लगाउने होइन। ४० हजार ५ सय सेवा सुविधा नखाने भनेर ह्विम फैलाइदिए। त्यो ४० हजार ५ सयले कहाँको विकास हुने रैच थाहा भएन मलाई। भ्रमहरु फैलाइएको छ। त्यो भ्रमहरु उहाँले कसरी व्यवस्थापन गर्नुहुन्छ, त्यो उहाँको कार्यक्षमतामा निर्भर रहला। 

अब कसरी अघि बढ्नुहुन्छ ?
मेयर नतिजे पनि हाम्रो एउटा टिम (११ वडा) चुनिएको छ। तिनलाई सञ्चालन गर्छु। रचनात्मक रुपमा सहयोग हुन्छ। धनगढीलाई बनाउनेकुरामा ५ वर्षसम्म मेरा पछाडि लागेका व्यक्तिहरुलाई अघि लिएर जान्छु। म राजनीति गर्ने मान्छे हुँ। हिजो पनि जनताको बीचमा थिएँ। आज पनि जनताको बीचमा छु र भोलि पनि जनताकै बीचमा हुनेछु। म व्यक्ति होइन, संस्था हो। अहिले पनि धनगढीमा कांग्रेसको बहुमत छ। अहिलेका पदाधिकारी सफल हुनु भनेको कांग्रेस नै सफल हुनु हो। मैले गर्नसक्ने सहयोग, मैले गर्नसक्ने बजेटको व्यवस्थापन मैले गर्छु। मेरो पूर्ण रुपमा सहयोग हुन्छ। अहिले सबैकुरा सकिएको छैन। प्रदेश, संघको चुनाव छ। ती उम्मेदवारहरुलाई जिताउनुछ। म त्यसमा अघि बढ्छु। 

धनगढीमै कांग्रेसले हारेपछि यस क्षेत्रबाट चुनाव लड्ने तयारी गरेकी आरजु देउवा राणालाई पनि अप्ठेरो पर्ने देखियो नि?
होइन, पर्दैन। अहिले के भएको हो हामी खोजी गर्छौँ। कसरी, किन भयो? मैले के अपराध गर्या रैछु, जान्न एक हप्ताभित्र सेड्युल बनाएर टोलटोलमा जान्छु। काम नगरेको हो कि, तपाईंहरुका कुरा नसुनेको हो पत्ता लगाउँछु। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .