श्रममन्त्री हुनासाथ आफ्नो पृष्ठभूमिका कारण डोलप्रसाद अर्याल विवादमा तानिएका छन्। विगतमा म्यानपावर कम्पनीमा कार्यरत रहेको र उनैलाई श्रम मन्त्रालयको जिम्मा दिँदा उनले श्रमिकको भन्दा म्यानपावरको हित हेर्ने आशंका गरिएको छ।
रेमिट्यान्स कम्पनी सञ्चालक अर्याल राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद हुन्। उनी श्रृष्टि ओभरसिज इम्प्लोइमेन्ट सर्भिसका इन्टरनेसनल मार्केटिङ डाइरेक्टर रहेको उक्त म्यानपावर कम्पनीको वेबसाइटमै उल्लेख छ। तर हाल त्यो वेबसाइट खुल्दैन।
यद्यपि, श्रममन्त्री अर्यालले भने म्यानपावर कम्पनीमा आवद्ध रहेको अस्वीकार गरेका छन्। रास्वपाभित्र पनि अर्याललाई मन्त्री बनाएको भन्दै असन्तुष्टि छ। तर सभापति रवि लामिछानेसँग पहिल्यैदेखि निकट सम्बन्धमा रहेका अर्याललाई मन्त्री बनाउने निर्णयको लामिछानेले पनि बचाउ गर्दै आएका छन्। सुरुमै विवादमा तानिएका मन्त्री अर्यालसँग हामीले संक्षिप्त कुराकानी गरेका छौँ:
तपाईं मन्त्री हुनासाथ म्यानपावरमा आबद्ध रहेको विषयलाई लिएर नैतिक प्रश्न उठिरहेको छ। अब कसरी काम गर्नुहुन्छ?
म कहीँ सञ्चालक नै छैन। अन्तर्राष्ट्रिय मार्केटिङ डाइरेक्टर भनेर जोडिएको छ। पहिले त के हो त्यो भनेर बुझिदिनु पर्यो। त्यो भनेको एउटा सल्लाहकार पद हो। एडभाइस दिएको हो मैले, अरु केही होइन।
सञ्चालक छ कि छैन भनेर हेर्न त नीतिसम्मत ठाउँ छँदै छ नि। म एड्भाइस गर्छु। २००३ मा जतिबेला नेपालमा जिटको भन्ने आएको थियो। त्यतिबेला म नेपाल सरकारलाई श्रमसम्बन्धी सल्लाह दिने मान्छे हुँ।
२००३ मा जतिबेला जापान सरकार र नेपाल सरकारबीच एमओयू भएको थियो, मैले त्यतिबेला नेपाल सरकारको निर्देशिका बनाउन सहयोग गरेको थिएँ। हिजोसम्म के थिएँ भन्नेमा त्यतिधेरै चासो दिनुभन्दा पनि भोलि मैले के गर्छु भन्नेमा महत्व दिनुपर्छ। म कुनै म्यानपावरमा कहिल्यै सञ्चालक छैन।
तपाईं एड्भाइजर भए पनि म्यानपावरमा आवद्ध रहेको त पुष्टि भइसकेको छ। अब भोलिको दिनमा श्रमिकको हितमा कसरी काम गर्नुहुन्छ?
भर्खर आएको छु। अध्ययन गर्दैछु, अब सबै हेर्नु पर्यो। बुझ्नु पर्यो। स्थिति सबै बुझ्नु पर्यो। नीतिनियम, सञ्चालन भइरहेका कार्यक्रमहरु हेर्नु पर्यो, कसरी भइरहेको छ। त्यसपछि म आफ्नो लाइन लिइहाल्छु नि।
सुरुमै श्रमिकको भन्दा पनि म्यानपावरको हितमा काम गर्नुहोला भनेर शंका उब्जिएको छ...
हजुर पनि पत्रकारितामा आउनुभन्दा पहिले अरु केही गर्नुहुन्थ्यो होला। मिडियाहरुलाई म सम्मान पनि गर्छु। उहाँहरुले यस्तो मजाले खोतल्न सक्नुहुँदो रहेछ। अब नेपालको भ्रष्टचार, विसंगति, अपराध, कहाँ कसले ठगी गरेको छ, मिडियाले मलाई खोतलेजस्तै खोतलिदिनु भयो भने मलाई काम गर्न सजिलो हुन्छ। गलत ठाउँहरु भेटेँ भने त्यसको विरुद्ध काम गर्न मन्त्री भएको हुँ म। पत्रकारलाई मेरो अनुरोध पनि छ– जसरी मेरो विगतलाई खोतलिदिनु भएको छ, त्यसैगरी यो देशको भ्रष्टचार, अनियमितता, ठगीका विषयमा उहाँहरुले कलम चलाइदिनु भयो भने मैले त्यसको आधारमा कारबाही गर्न पाउने थिएँ। मैले त्यसलाई सुधारका लागि नीति बनाउन पाउने थिएँ।
जसको जुन क्षेत्रमा क्षमता छ, उसलाई त्यही क्षेत्रको जिम्मा दिने तपाईंको पार्टीले भन्थ्यो। यो क्षेत्रमा तपाईको विज्ञता के हो, के छन् योजना?
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय जुन छ, यसको आफ्नै ऐन, नियम, कानुनहरु छन्। म यो भित्र बसेर काम गर्ने हो। यसलाई उत्तम बनाउन मैले काम गर्ने हो। यो देशमा आजको समस्या भनेको रोजगारीको समस्या हो। विदेश जाने पनि अलपत्र पर्ने समस्या छ। मैले गर्ने काम भनेको यही हो। जाने नै हो भने विदेश गएर दुःख नपाउने गरी जानु पर्यो। यहाँ गरेका बाचा पुरा गर्ने गरी पठाउनु पर्यो। म त्यसको निगरानी गर्छु।
मैले पहिलो दिन नै भनेको छु, विदेश कोही मान्छे जानु नै छ भने बिनासीप नजाने। सीपबिना जाने कुरालाई म शून्यमा झार्छु। यहाँ सीप सिकेर गयो भने विदेशमा दुःख पाइँदैन।
मेरो लक्ष्य भनेको यही देशमा रोजगारी सिर्जना गर्नु हो। त्यसका लागि मसँग योजनाहरु छन्। मसँग योजना भएरै म श्रममा आएको छु। केही समय मलाई अध्ययन गर्न दिनुस्। कहीँ पनि विवाद नआउने किसिमले काम गर्छु। म निजी व्यवसायीहरुलाई सरकारले सुरक्षा दिनुपर्छ, उहाँहरुलाई सम्मान दिनुपर्छ, निजी क्षेत्रलाई अगाडि बढाउनका लागि सरकारले सहयोग गर्नुपर्छ भन्ने पक्षमा छु। यसमा दुई मत छैन। तर विधिभन्दा एक लाइन पनि दायाँबायाँ हुने सम्भावन म बसुन्जेल छैन। श्रमिकको हक एक नम्बर, व्यवसायीको दुई नम्बर भन्ने होइन। म दुइटैलाई उति नै प्राथमिकता दिन्छु। गलत गर्न कसैलाई छुट छैन।
तपाईंको नाम जोडिएको म्यानपावरले पनि ठगी गरेको कुरा आइरहेको छ। कारबाही गरेर देखाउन सक्नुहुन्छ?
म दुई चार दिन काम गर्न समय पाउँ पहिला। त्यसमा म अध्ययन गरिरहेको छु। कसैलाई पनि छुट छैन। यति कुरामा ढुक्क हुनुस्।
म्यानपावरमा हिजो आबद्ध मान्छेले मन्त्रीका रुपमा काम गर्दा स्वार्थ बाझिँदैन?
स्वार्थ कसरी बाझिन्छ र? जहाँ मेरो सेयर छैन, जहाँबाट म तलब खाँदिनँ अनि मेरो स्वार्थ कसरी बाझिन्छ त? शिक्षकहरु शिक्षा मन्त्री हुँदा स्वार्थ बाझिन्छ र? पत्रकार मिडिया मालिक बन्न हुँदैन भन्न खोज्या हो र? त्यसकारण यसमा स्वार्थ बाझिने भन्ने हुँदैन।
जुन दिन मैले मन्त्रीको शपथ लिएँ, त्यो दिनदेखि मेरा गतिविधि हेरिदिनु पर्यो। मैले विगतमा कति भ्रष्टाचार गरेँ, मैले कसलाई ठगेँ, कति सरकारी जागिर खाएँ, त्यता पनि केलाउन मन लागे केलाउँदा हुन्छ। म त २००३ देखि विदेश जाने नेपालीहरु नठगिऊन्, नेपालमा रेमिट्यान्स भित्रियोस् भनेर काम गरेको मान्छे हुँ। अब मेरो कामले देख्नुहुन्छ। हिजो मैले निजी क्षेत्रमा राम्रो गरेँ, अब म देशको जिम्मेवारी लिएर आएको छु, अझै राम्रो गर्ने प्रयास गर्छु।
प्रतिक्रिया