ad ad

अन्तर्वार्ता


नयाँ स्टकलाई आउन नदिन नेप्से लागेको कुरा झूटो हो : सीईओ कार्की (अन्तर्वार्ता)

नयाँ स्टकलाई आउन नदिन नेप्से लागेको कुरा झूटो हो : सीईओ कार्की (अन्तर्वार्ता)

नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिृकत कृष्णबहादुर कार्की। तस्बिर : सरोज नेपाल/नेपालखबर


केशर बोगटी
माघ २०, २०७९ शुक्रबार ७:१७, काठमाडौँ

कृष्णबहादुर कार्कीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को नेतृत्व लिएको एक वर्ष पुगेको छ। सरकारले २०७८ माघ २० मा कार्कीलाई नेप्सेको प्रमुख कार्यकारी अधिृकत (सीईओ) नियुक्त गरेको थियो। सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि तत्कालीन सीईओ चन्द्रसिंह साउदले कार्यकाल सकिनु एक महिनाअघि नै राजीनामा दिएका थिए। 

साउदको राजीनामा आएको केही महिनामा सरकारले कार्कीलाई नेप्सेको जिम्मेवारी दिएको थियो। कार्कीले जिम्मेवारी लिएको करिब एक वर्षमा नेप्सेले ब्रोकरलाई नयाँ ‘टीएमएस’ दिनेदेखि नेप्से इन्डेक्स–५०, एसुम्युलेसन ट्रेडिङ, मोबाइल एप्स लगायतका काम थालनी गरेको छ। सार्वजनिक प्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर गरेका नेप्से सीईओ कार्कीसँग यिनै विषयमा नेपालखबरले गरेको वार्ता :

तपाईं आउनुभएको १ वर्ष पुगेको छ। यो अवधिमा के कति काम गर्नुभयो?  
हरेक दिन हामी दैनिक कामकै निरन्तरतामा हुन्छौँ। हाम्रो काम प्रविधिमा आधारित छ। त्यसलाई कसरी बलियो बनाउने भन्ने चिन्ता हुन्छ। धेरै समय त्यसमै बिताइरहेका छौँ। म आउँदा सिस्टममा केही समस्या थिए। त्यसको समाधान जरुरी थियो। सिस्टम अपगे्रडेसन आवश्यक थियो। यसका लागि सञ्चालक समितिबाट बजेट स्वीकृत भएपछि वैशाखमा टेन्डर गरेका थियौँ। तर टेन्डर परेन। पुनः टेन्डर आह्वान ग¥यौँ।

इलिजिबल (योग्य) संस्था आएसँगै अपग्रेडेसनको काम सुरु भएर अन्तिम चरणमा पुगिसकेको छ। यसले सिस्टमलाई सुदृढ गर्न मद्दत गर्छ। 
म आइसकेपछि विभिन्न लगानीकर्ता संघ र सम्बन्धित नेतृत्वसँगको  भेटघाटमा नेप्सेमा बुल राख्नुपर्यो भन्ने सुझाव दिनुभएको थियो। सोही सुझावलाई सञ्चालक समितिमा लगेर बजेट स्वीकृत गरेका छौँ। सुरुको टेन्डर नपरेपछि फेरि टेन्डर गरेका छौँ। यहीबीचमा सार्वजनिक नियमावली संशोधन भयो। अहिले मूल्यांकनको अन्तिम चरणमा छौँ। अब चाँडै हुन्छ। 

त्यस्तै नियमितबाहेकका काम पनि गरिरहेका छौँ। मार्जिन लेन्डिङ कार्यविधि पहिले नै स्वीकृत भए पनि कार्यान्वयन भएको थिएन। अहिले धेरै ब्रोकर साथीहरु कार्यान्वयनको चरणमा हुनुहुन्छ। ११–३ को कारोबार हेर्न पाइनेमा अहिले हेर्न नपाइने व्यवस्था गरेका छौँ। पहिले कसले कुन कम्पनीको सेयर खरिद गर्यो हेर्न मिल्ने हुँदा लगानीकर्ता फस्ने गुनासो आएपछि त्यसलाई कारोबार अवधिमा हेर्न नपाइने व्यवस्था गरेका छौँ।

यीबाहेक अब के–के काम सम्पन्न हुने चरणमा छन्? 
हाल नीतिगत सुधार, जोखिम व्यवस्थापन, लिस्टिङ नियमावली, कारोबार सदस्यता नियमावली तर्जुमा लगायतका काम अघि बढाएकामा कतिपय अन्तिम चरणमा पुगिसकेका छन्। 

हाम्रो आईटी सिस्टमलाई तत्कालको लागि चाहिएको अपगे्रडेसन हो। छिट्टै अब ठूलो कारोबार (गत वर्ष नेप्सेमा २२ अर्बको कारोबार भएको थियो) अझ त्योभन्दा बढी पनि होला, त्यसलाई मध्यनजर गरेर सिस्टम रिप्लेस (प्रतिस्थापन) गर्न आवश्यक पर्छ या पर्दैन भन्नेबारे अध्ययन भइरहेको छ। र, डाटा सेन्टरको अध्ययन भइरहेको छ। 

पुँजी बजारमा सेक्युरिटिजको मात्र कारोबार भइरहेको छ। छिमेकी देशहरुमा धेरै किसिमको ट्रेडिङ हुन्छ। डेरिभेटिभ कारोबार भइरहेको छ। अब हामी त्यसमा पनि जानुपर्छ भनेर भारतमा गएर त्यहाँको विज्ञसँग छलफल समेत गर्यौँ। हामीले त्यसलाई कसरी सञ्चालन गर्न सकिन्छ छलफल गरिरहेका छौँ। त्यसैको लागि नेप्से ५० बनाउनुपर्छ भनेर छलफल भइरहेको छ।

पहिले नेप्से इन्डेक्स तयार पारिसकेपछि डेरिभेटिभ कारोबार जान सकिन्छ। त्यसको लागि सञ्चालक समिति र विज्ञ राखेर छलफल गरिसकेका छौँ। सम्बन्धित कम्पनीको डाटा पूर्ण रुपमा उपलब्ध नहुँदा केही ढिलाइ भएको छ। अपुग डाटा उपलब्ध गराउन थालेका छौँ। 

नेप्से ५० को कुरा गर्नुभयो, यसमा कस्ता कम्पनी रहन्छन्?  
नेप्से ५० बारे घनीभूत छलफल भइरहेको छ। यसका लागि क्राइट एरिया (निश्चित दायरा) बनाउँछौँ। त्यसको लागि इन्टरनेशनल स्ट्यान्डर्ड फलो गरी क्राइट एरियाभित्र पर्ने कम्पनी यस इन्डेक्समा पर्छन्। समयमा सबै काम भए भने आगामी वैशाखभित्र यो सम्पन्न हुन्छ। 

तपाईं आइसकेपछि सिम्युलेसन ट्रेडिङको लागि काम भइरहेको भन्ने छ। के हो सिम्युलेसन ट्रेडिङ? 
नयाँ व्यक्तिले अभ्यास गरेर मात्र रियल सेयरबजारमा आउँछु भन्दा त्यसको विकल्प छैन। सिम्युलेसन ट्रेडिङ ‘डेमो’ प्राक्टिस गर्ने एउटा सफ्टवेयर हो। अहिले हामी परीक्षणको चरणमा छौँ। परीक्षण चरण पूरा भएपछि त्यसलाई हाम्रो साइटमा राख्छौँ। यसमा सेयरबजारमा आउन चाहने लगानीकर्ताले खरिद बिक्रीको अभ्यास गर्ने हो। यसलाई निःशुल्क प्रयोग गर्न सकिनेछ।

यसबाट अभ्यस्त भइसकेपछि लगानीकर्ताले दोस्रो बजारमा कारोबार गर्न सकिने हाम्रो उद्देश्य हो। कस्तो गर्दा घाटा हुन्छ र कस्तो गर्दा नाफा हुन्छ यसमार्फत हेरेर लगानीकर्ता दोस्रो बजारमा कारोबार गर्न सक्नेछन्। यसले नयाँ लगानीकर्तालाई सहज गर्छ भन्ने हाम्रो अनुमान छ। 

दशैँअघि नै सञ्चालनमा ल्याउने भनिएको ब्रोकरको टीएमएसमा किन ढिलाइ भइरहेको छ? 
हामीले ब्रोकरको टीएमएस (ट्रेड मेनेजमेन्ट सिस्टम) लाई एक्सेस दिएको दुई महिना पूरा भइसकेको छ। टीएमएस राख्ने ब्रोकरले त्यसमा काम पनि गरिरहनुभएको छ। ब्रोकरले आफ्नो काम सम्पन्न गरिसक्नुभएको छैन। नेप्सेको काम ब्रोकरलाई एक्सेस दिने हो। हाम्रो आईटी टिम तयार छ। उहाँहरुले काम नै सुरु गर्नुभएको छैन। 

तर ब्रोकरले सबै काम सम्पन्न गरिसक्यौँ भनिरहेका छन्। धितोपत्र बोर्डले कनेक्सन जोड्न निर्देशन दिँदा पनि तपाईंहरुले नमानेको भन्ने छ नि? 
त्यस्तो होइन। काम भइरहेको छ। बुझाइमा केही फरक परेको हुनसक्छ तर  ब्रोकरलाई जसले प्राविधिक सहयोग गर्छौँ भनेको थियो उहाँहरु वा ब्रोकर साथीहरुकै बुझाइमा फरक प¥यो भनेर बुझ्छु। सबै काम नेप्सेले गर्ने पनि होइन। यसमा नेप्सेले गर्दा ढिलाइ भएको छैन। 

नेपाल धितोपत्र बोर्ड र नेप्सेबीच तालमेल नमिलेको देखियो। तपाईंहरुबीचको टसलले गर्दा लगानीकर्ता मारमा परे नि होइन? 
नेप्से र बोर्डबीच टसल हुनुपर्ने कुनै आधार नै छैन। बोर्ड र नेप्सेबीच टसल छ भन्नु आशंका मात्रै हो। हामीले त धितोपत्र बोर्ड विनियमावलीअनुसार टीएमएसलगायतका काम अघि बढाएका हौँ। यसमा त हामी पनि छिटो होस् भन्ने चाहन्छौँ। यो आइसकेपछि यसले सिस्टम राम्रो हुन्छ। बोर्डको चाहना पनि चाँडो भए हुन्थ्यो भन्ने हो।

कार्यान्वयनमा जाँदा दुई पाटी भए। उहाँहरुले तयारी गरेर यता पठाएको सूचनाको टेक्निकली रेस्पोन्स गर्नु हाम्रो काम हो भने उहाँहरुले तयारी गर्ने हो। तयारी गर्ने पक्षले तयारी नै नगरेको हो। ब्रोकर साथीहरुले विदेशी मुद्रा भर्खर मात्र पठाउनुभएको भन्ने सुनेको छु। अब पेमेन्ट पठाएपछि सुरु हुन्छ कि भन्ने लाग्छ।  

नेप्सेले बोर्डको निर्देशन नमान्ने गरेको भनिन्छ। वास्तविकता के हो? 
हामी बजार सञ्चालक हो। बजार सञ्चालकले नियामक निकायले स्वीकृति गरेको कुराभित्र रहेर हामीले काम गर्ने हो। यसमा कुनै द्विविधा छैन। बाहिर बजारमा के कुरा चलेको छ, थाहा भएन। तर, बोर्ड र नेप्सेबीच विवाद छैन। हामी बोर्डको निर्णय, निर्देशनअनुसार नै चलिरहेका छौँ। चल्नु पनि पर्छ। 

तपाईं आइसकेपछि नेप्से पुनर्संरचनाको लागि अध्ययन प्रतिवेदन तयार भएको छ। त्यसमा के–के कुरा छन्? 
नेप्से पुनर्संरचनाको लागि कन्सल्ट्यान्ट राखेर अध्ययन प्रतिवेदन तयार पारेका छौँ। र, त्यसबारे सञ्चालक समितिमा पनि छलफल भइसकेको छ। सञ्चालक समितिले फिड ब्याक (राय÷सुझाव) पनि दिनुभएको छ। त्यसलाई अपडेट पनि गरेर ल्याउँछौँ। 

नेप्सेका सीईओले आफूअनुकूल पुनर्संरचनाको लागि अध्ययन प्रतिवेदन तयार पार्न लगाउने गरेको पनि भनिन्छ। कति सत्य हो? 
अहिलेको अवस्थामा छिमेकी देशका स्टकमा हेर्दा धेरै काम भइसकेको र अगाडि बढेको देखिन्छ। हामी भने परम्परागत अवस्थामै छौँ। जसले गर्दा लगानीकर्ताको चाहनालाई र प्रविधिलाई कसरी धेरैभन्दा धेरै सदुपयोग गर्ने र नेप्सेको संरचनामा पनि चेन्ज गर्न आवश्यक छ कि छैन लगायतका कुरा छन्।

अध्ययनको पूर्ण विवरण आइसकेपछि पब्लिकलाई सहभागिता गराउने कुरा, पब्लिकलाई सेयर जारी गर्ने कुरा, अरु संस्थालाई सेयर जारी गर्ने कुरा हुनसक्छन्। ती कुरा अध्ययनमा छन्। सरकारको स्वीकृतिपछि मात्र कार्यान्वयन हुन्छ। 

नेप्सेमा अनधिकृत व्यक्ति भित्र्याएर संवेदनशील सूचना चुहाए पनि भनिन्छ नि?   
यो प्रायोजित हल्ला हो। यसमा कुनै सत्यता छैन। हामीले विज्ञ राखेका थियौँ। उहाँले केही समय काम गर्नुभयो, त्यसपछि छोड्नुभयो। 
हामीले नेप्से ५० लगायतका काम अगाडि बढाउन विज्ञ राखेका थियौँ। उहाँलाई सिस्टम दिएको भन्ने कुरा प्रायोजित कुरा हो। 

बजारमा कम्पनी हेरेर चलखेल हुने गरेको छ, यसलाई रोक्न नेप्सेले के गरेको छ?
यसमा धेरै सुधार भइसकेको छ। अझै केही प्राविधिक सुधार गर्नुपर्ने देखिन्छ। प्राविधिक साथीहरुलाई हेर्न भनिरहेका पनि छौँ। त्यसमा हामी चनाखो भएर हेरिरहेका छौँ। 

नेप्सेका सीईओ र केही ब्रोकर मिलेर नयाँ स्टक र ब्रोकर लाइसेन्स रोक्नलागेका कुरा आइरहेका छन्, खासमा के हो कुरा?  
विनियमावली संशोधन भएर आइसकेको छ। हामीले किन रोक्नुपर्यो? रोक्नुपर्ने कारण पनि छैन। हामीले नयाँ स्टक र ब्रोकर किन रोक्नुपर्यो? हामीसँग इन्फ्रास्ट्रक्चर राम्रो छ, ९० प्रतिशत सेयर सरकारको छ, काम गर्नको लागि ठूलो ब्याकअप पनि छ। अनि हामी किन नयाँ स्टक रोक्न लाग्नुपर्यो? हामीलाई जति प्रतिस्पर्धा गर्न नयाँ आउने स्टकलाई सजिलो छैन। 

नेप्सेले गलत गर्ने कम्पनीलाई कारबाही गर्न सकेन भन्ने गुनासाबारे के भन्नुहुन्छ? 
हामीले गर्नसक्ने कारबाही गरिरहेका छौँ। हामीले कम्पनीलाई बढीमा कारोबार रोक्का गर्नेसम्मको अधिकार छ। कम्पनीहरुले गरेको गल्तीको अवस्था हेरेर कारबाही गरिरहेकै छौँ नि! 

सेयरबजारमा इन्साइडर टे«डिङका कुरा पनि आइरहन्छन्, त्यसो हुन नदिन नेप्सेले के कस्तो काम गरिरहेको छ?  
इन्साइडर ट्रेडिङ हुन नदिन सर्भिलेन्स (अनुगमन) टोली नै बनाएका छौँ। टिमले दैनिक कारोबारमा निगरानी गर्छ। कुनै कम्पनीको कारोबार शंकास्पद देखिए, अनुसन्धान गर्नुपर्ने रहेछ भने अनुसन्धान हुन्छ। त्यसबाट कहाँ कारबाही गर्न सकिन्छ, कहाँ सुधार गर्ने हो चनाखो भएर लागिरहेका छौँ। 

नेप्सेका आगामी योजना के छन्? 
हामी अहिलेसम्म सेक्युरिटिजमा मात्र छौँ। अब हामी नयाँ डेरिभेटिभ लगायतका विकल्पमा जान्छौँ। नयाँ विकल्पमा जान हामीले विज्ञ राखेका थियौँ। डेरिभेटिभमा जान काम पनि गरेका छौँ। बजारमा नयाँ कुरा ल्याउनुपर्छ भन्ने हाम्रो बुझाइ हो। यसमा प्रतिबद्ध पनि छौँ।

सेयरबजारमा आउन चाहने नयाँ लगानीकर्तालाई के सुझाव दिनुहुन्छ? 
सेयरबजारमा लगानी गर्न इच्छुक नयाँ लगानीकर्ताले योजना बनाउन जरुरी हुन्छ। कस्तो कम्पनीको सेयर खरिद गर्ने त्यसको अध्ययन गरेर आउनुपर्छ। नयाँ लगानीकर्ता एकै पटक दोस्रो बजारमा आउनुपहिले प्राथमिक सेयर (आईपीओ)मा अभ्यस्त हुनुपर्छ।

दोस्रो बजारमा पनि रिस्क कम भएका म्युचुअल फण्डबाट जाने, त्यसबाट अभ्यस्त भइसकेपछि कम्पनीहरुको कारोबार गर्न थाल्ने, दोस्रो बजारमा कारोबार गर्नुपहिले कम्पनीका प्रोफाइल हेर्ने गर्नुपर्छ। 

यसमा पनि कम्पनीको वित्तीय विवरण हेर्ने, आम्दानीको आकार कस्तो छ लगायतका कुरा अध्ययन गर्नुपर्छ। त्यसपछि दोस्रो बजारमा आउनुपर्छ। सेयरबजारमा अलि रिस्क छ, यसलाई कसरी कम गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिन जरुरी छ। हल्ला सुनेरभन्दा बुझेर मात्र सेयरबजारमा आउन नयाँ लगानीकर्तालाई सुझाउँछु। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .