ad ad

अन्तर्वार्ता


इलाम २ मा मसँग एमालेको भन्दा ४ हजार बढी मत छ : कांग्रेसका उम्मेदवार डम्बर खड्का (अन्तर्वार्ता)

‘३५ वर्षका भाइहरूभन्दा म पक्का युवा हुँ’
इलाम २ मा मसँग एमालेको भन्दा ४ हजार बढी मत छ : कांग्रेसका उम्मेदवार डम्बर खड्का (अन्तर्वार्ता)

कांग्रेस उम्देवार डम्बर खड्का। तस्बिर : सरोज बैजु


सागर न्यौपाने
चैत २२, २०८० बिहिबार २०:३१, काठमाडौँ

प्रतिनिधि सभा अन्तर्गत इलाम २ मा वैशाख १५ गते हुन लागेको उपचुनावमा नेपाली कांग्रेसले डम्बर खड्कालाई उम्मेदवार बनाएको छ। उनी कांग्रेसका इलाम जिल्ला सभापति हुन्। संस्थापन पक्षका खड्का सिफारिस भएका ६ जनालाई पछि पार्दै टिकट पाउन सफल भए।

सो क्षेत्रमा एमालेले सुवास नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार बनाएको छ। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ। पहिचानवादीका तर्फबाट डकेन्द्रसिंह थेगिम उठेका छन्। उनीहरूसँग लड्न ५० वर्षीय खड्का फेरि कस्सिएका छन्।

टिकट लिनकै लागि काठमाडौँमा एक हप्ताभन्दा लामो समय नेताहरूकहाँ धाएका उनी बिहीबार विहानदेखि तनाव मुक्त भएको बताउँछन्। उपचुनावको सेरोफेरोमा खड्कासँग नेपालखबरले गरेको संवाद :

सबै दलले उम्मेदवार टुंगो लगाएर चुनाव प्रचारमा हिँडिसक्दा तपाईंलाई त कांग्रेसबाट टिकट पाउनै निकै सकस भयो नि!
टिकट पाउनको लागि सकसभन्दा पनि नेपाली कांग्रेसमा यसपालि उम्मेदवारका आकांक्षीबीचमै सहमति होस् र माथिबाट नेतृत्वले हस्तक्षेपरुपी निर्णय गर्न नपरोस् भनेर यो तीनचार दिन हामीलाई समय दिनुभएको थियो, महामन्त्रीज्यू अनि सभापतिज्यूले।

त्यसमा हामीले आफूआफू छलफल गर्‍यौैँ, बस्यौँ र सहमतिको अन्तिम विन्दुमा पुग्न ढिलाइ भएको हो। टिकट पाउनकै लागि सकस भएको होइन।

तर, भेषराज आचार्य र तपाईंमध्ये कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा कांग्रेस पदाधिकारी नै विभाजित भए त।
यो मिडियामा आएजस्तो चाहिँ होइन। तर, आदरणीय दाइ विश्वप्रकाश शर्मा, गगन थापा, नेताहरू भीष्मराज आङदेम्बे लगायतले दिएको फिल्ड भिजिटको जुन रिपोर्ट छ, त्यसमा अध्ययन गर्दा मेरै पक्षमा राम्रो आएको मैले सूचना पाएको छु।

त्यसपछि उहाँ (भेषराज) र म बीच मात्र होइन, सातैजना आकांक्षीको राम्रै रिपोर्ट आएको हो।

पछिबाट हामी सबैजना बसेर सहमति गरौँ भन्ने भइसकेपछि आज बिहान (चैत २२ गते) गएर बस्यौँ। त्यसपछि उम्मेदवारबीचमा सहमति जुट्यो। अनि केन्द्रीय पदाधिकारीबीचमा पनि सहमति जुटिसकेपछि सर्वसम्मत रुपमा मलाई टिकट दिएर पठाउने निर्णय भएको हो।

यो त टिकट नपाउनेले चुनावमा असहयोग नगरुन्, टिकट नपाएको झोँक नफेरुन्, विवाद नदेखियोस् भनेर भन्नुभएको होला।
होइन होइन, मैले माथि भनेकै कुरामा सत्यता छ।

किनभने हामी आकांक्षीहरू धेरै चरण बस्यौँ। पहिलो चरण बस्दा मलाई दुईजनाले समर्थन गर्नुभयो, दोस्रो चरण बस्दा आदरणीय केशव थापा दाइ, नगेन्द्र कुमाल र रमेश लिङ्देनले मलाई समर्थन गर्नुभयो।

र, अन्तिम चरण भेषबहादुर दाइ र म पनि बस्यौँ, अनि हामीले केन्द्रले जे निर्णय दिन्छ, त्यो मान्छौँ भनेर फेरि सातैजना गइसकेपछि अनि फिल्ड भिजिटको रिपोर्ट आइसकेपछि ल तपाईं यसो गर्नुस्, तपाईंलाई नै सम्मानित ठाउँमा हामी ल्याउँछौँ भनेर भन्नुभयो।

०७९ मंसिर ४ गते भएको चुनावमा तपाईं ११४ मतले पराजित हुनुभएको थियो, अहिले फेरि टिकट पाउनुभयो। इलाम–२ को अहिलेको वस्तुस्थिति कस्तो छ? 
म इलाममा बसेर २ दशकदेखि समाजसेवामा लागेको छु। त्यहाँ मैले स्कुल, संघसंस्था, धार्मिक मठमन्दिरबाट समाजसेवा गरेवापत् दर्जनौँ सम्मान पाइसकेको छु।

गरिब, दुःखी, बिरामी, प्राकृतिक प्रकोपका बेलामा, कोरोनाको बेलामा त्यहाँका नागरिकलाई र त्यहाँबाट यहाँ काठमाडौँ आएकालाई घरैसम्म पुर्‍याइदिएको छु। अघिल्लो पटकको चुनावपछाडि म जनतासँगै निरन्तर जोडिएको छु।

अब पनि यस ठाउँबाट जितेर जाँदा मेरो लक्ष्य एउटै नै हो, समाजसेवालाई अझै बढाउँछु। त्यसकारण मैले अहिलेसम्म गरेको कामको मूल्यांकन यसपटक हुन्छ। हिजो राष्ट्रले मानेको सम्मानित व्यक्तित्वसँग मैले चुनाव लडेँ, अहिले उहाँजस्तो सम्मानित व्यक्ति छैनन्। 

यसपालि तपाईंले म बलियो छु भन्न खोज्नुभएको हो?
अहिले मेरो कामका आधारले म बलियो छुजस्तो लाग्छ। 

इलाम २ का जनताले डम्बर खड्कालाई जित्ने मत दिएर पठाउँछन्?
हिजो पनि दिनुभएको हो। सम्पूर्ण मतदातालाई म सम्मान गर्दछु।

त्यत्तिको शालीन व्यक्तित्व, राष्ट्रिय छवि भएको व्यक्तित्वसँग म चुनाव लड्दा हाराहारी मत दिनुभएको भनेको मलाई माया गर्नुभएको हो। अब एकपल्ट फेरि मलाई इलाम २ का जनताले सेवा गर्ने मौका दिनुहुन्छ भन्नेमा म विश्वस्त छु।

तर, त्यसबेला तपाईंलाई नेकपा माओवादी र एकीकृत समाजवादीले साथ दिएका थिए, यसपटक कांग्रेस एक्लै चुनाव लड्नुपर्छ, त्यो पनि एमालेसहितको गठबन्धनसँग? त्यसमाथि मत नै बाँडिन्छ होइन र? 
मेरो गठबन्धन जनतासँग हो। विकास निर्माणसँग हो। र, इलाममा विकास निर्माण नपाएका जनतासँग मेरो गठबन्धन हुन्छ। निरन्तर रुपमा मैले जसलाई अप्ठेरो पर्छ त्यसबेला सहयोग गरेका ती व्यक्तिहरूसँग मेरो गठबन्धन हो।

त्यसैले अहिले इलामका मतदाताहरू अति शिक्षित हुनुहुन्छ, गठबन्धनभन्दा पनि इलामलाई कुन व्यक्तिको आवश्यकता छ? त्यो माटोमा भिजेको, त्यो बाटोघाटो चिनेको, छरछिमेक चिनेको र यो काम गर्नसक्ने, भोलि केन्द्रीय बजेट पार्नसक्ने, काम गर्न सक्ने र जनतालाई आवश्यक परेको बेलामा सेवा, सुविधा र साथ दिनसक्नेलाई उहाँहरूले यसपालि विजयी गराएर पठाउनुहुन्छ भन्नेमा म विश्वस्त छु।

तपाईं आफैँ जिल्लाको सभापति रहेका आधारमा केन्द्रीय राजनीतिसँग सम्बन्धको कुरा गर्नुभयो तर, एमाले र रास्वपाले उठाएका उम्मेदवार ३५ वर्षमुनिका युवा छन्। त्यसमाथि एमालेले त सुवास नेम्वाङकै छोरालाई टिकट दिएको छ। युवासँग लड्दा जित्नुहोला त?
दुईजना भाइहरू उठ्दै हुनुहुन्छ, उहाँहरूलाई म शुभकामना दिन्छु। मतका कुरा गर्दा कसलाई कति विश्वास गर्छन् भन्नेकुरामा जान्छ। इलामी जनताले हिजोको गतिविधि हेरेर मूल्यांकन गर्नुहुनेछ।

मैले गएर के गर्ने भन्ने कुरा हिजोको पुरानो गतिविधिले देखाइसकेको छ। हरेक अप्ठेरोमा परेको अवस्थामा र विकास निर्माणमा म जोडिएर काम गरिराखेको छु। भोलि म ती कामलाई निरन्तरता दिन्छु। त्यसैले उहाँहरूले मलाई विश्वास गर्नुहुन्छ भन्ने मलाई लाग्छ।

एमालेको बलियो संगठन, त्यसमाथि माओवादी र एकीकृत समाजवादीको समर्थन। पछिल्लो दिन रास्वपाप्रति देखिएको लहर। यस्तोमा, मतदाताले तपाईंलाई किन हेर्ने?
इलाम २ को अहिलेको अवस्था हेर्नु त। हाइवेबाहेक भित्र छिर्ने कति ठाउँका बाटोघाटो कस्तो छ? टेलिफोन टावर कति ठाउँमा पुगेको छ? कति ठाउँमा अस्पतालको सम्पूर्ण सुविधा पुगेको छ? इलाम २ का धेरै ठाउँ विकास निर्माणको प्रतीक्षामा बसेको छ। पश्चिमको कर्णाली हो भनेर भन्ने गरिन्थ्यो पहिला, अहिले पनि अवस्था उस्तै छ।

पटकपटक विश्वास गरेर चुनाव जितेका पार्टी छन्, तर, त्यहाँको विकास निर्माण कस्तो भयो भन्ने कुरा मलाईभन्दा बढी त्यहाँका सर्वसाधारणलाई थाहा छ। त्यसैले अब भने काम गर्न सक्ने व्यक्तिको खोजी सो क्षेत्रमा भइरहेको छ। त्यसमा व्यक्ति र पार्टी हाम्रै छ।

कांग्रेसभित्रै असन्तुष्टि छ नि त। जिन्तदगीभर कांग्रेस हुने, भोट चाहिँ अन्तै हाल्ने चलन बस्यो भनेर तपाईंहरूकै नेता भन्नुहुन्छ। इलाममा त्यो दोहोरिन्छ कि दोहोरिँदैन?
जिन्दगीभर नेपाली कांग्रेसमा रह्यो, चुनावमा भोट चाहिँ नदिने स्थिति अब रहँदैन।

नेपाली कांग्रेसभित्र गठबन्धन गरेका छौँ। टिकट लिन ढिलाइ गर्‍यौँ तर सबै सहमत गराएर भयो। एकले अर्कालाई सहयोग गर्ने हामीबीच सहमति भइसकेको छ। 

भन्नाले अब गगन, विश्वप्रकाश, शेखर कोइरालासहितका सबै नेता इलाम २ पुगेर माहोल तताउनुहुन्छ? 
एकदम सबै जानुहुन्छ। म निकट भनेको इलामेली जनतासँग हो।

मलाई आवश्यक पर्ने नेताहरूसँग पनि निकट छु। किनभने, जसले मलाई माया गरिराख्नुभएको छ, त्यसमा गगन थापाजी पर्नुहुन्छ। आदरणीय विश्व दाइ, भीष्म दाइ पर्नुहुन्छ। उहाँहरूको संयुक्त सहमतिमै मलाई टिकट दिइएको हो। सभापतिको एकल निर्णयले दिएको होइन नि। संसदीय बोर्ड र पदाधिकारी बैठक बसेर सर्वसम्मत टिकट दिइएको हुनाले सबै पार्टीका अभिभावकहरू मलाई सहयोग गर्न जानुहुन्छ। 

त्यो लावालस्कर गएर २०५६ सालदेखि (२४ वर्ष) हारेको क्षेत्र जिताउन नेताहरू सफल होलान् त? 
हामीले फर्काइसक्यौँ त, २४ वर्षपछि इलाम नगरपालिका। दुई तिहाईले हामीले जितेका छौँ।

चुलाचुली गाउँपालिका हामीले दुई तिहाईले जितेका छौँ। त्यो वडामा मत गन्दा हामी अगाडि छौँ। २२ वटा वडा हामीले जितेका छौँ, ती वडावडा जोड्दा हामीसँग ३६ हजार मत छ अहिले। एमालेसँग ३२ हजार मत छ। चार हजार मत त अहिले हामीसँग यसैपनि बढी छ र हामी अगाडि नै छौँ।

पहिचानवादी उम्मेदवारको प्रभावले पनि मत घट्ला!
पहिचानवादीले कसको मत काट्छन्, हामीले देखिसकेका छैनौँ नि। पहिचानको विषयमा १४ वटा सभापतिबाट निर्णय गराएको छु, कि, पहिचान भनेको हाम्रो सभ्यता हो। सभ्यतामा हामीहरू रमाएका छौँ।

त्यसकारणले यो कोसी नामकरणको विषयमा नेपाली कांग्रेसले सोच्नुपर्छ। र पहिचानको पक्षमा लड्दै आएको साथीभाइलाई उचित न्याय दिनुपर्छ भनेर मैले निर्णय नै गराएर सभापति शेरबहादुर देउवाज्यू समक्ष राखेको छु।

त्यसकारण पहिचानको पक्षमा म पहिलेदेखि बोल्दै आएको छु। यस्तै नामाकंनको विषयमा पनि पार्टीभित्रै धारणा राखिरहेको छु। त्यसकारणले यो समस्या समाधान गर्ने पनि नेपाली कांग्रेस हो।

पहिचानवादीको पनि भोट आउँछ भन्ने तपाईंको दाबी?
आउँछ। 

अनि धर्मगुरु आत्मानन्द लिङ्देनको आशीर्वाद?
मलाई गुरुको आशीर्वाद छ। किनभने, म गुरुको भक्त हुँ। मैले गुरुलाई कांग्रेसको तर्फबाट एउटा ठूलो ‘नागरिक अभिनन्दन’ गरेको छु।

किनभने किरात धर्मका प्रचारक आत्मनन्द लिङदेन गुरुज्यू र पवित्रा आङ्मा दुईजनालाई पहिलोपल्ट एकैठाउँमा राखेर नागरिक अभिनन्दन गरेको छु। त्यस्तो सम्मान अरु पार्टीले दिएका छैनन्।

तपाईंले कांग्रेसको ३६ हजार र एमालेको ३२ हजारको मत हिसाब गर्नुभयो तर, रास्वपाले ल्याउने मतबारे केही भन्नुभएन नि!
मत अहिले हामीले सर्वेक्षण गरेका छैनौँ। उहाँहरू भर्खर आउनुभएको साथीहरू हुनुहुन्छ। इलाममा उहाँहरूले धेरै उम्मेदवार लिन खोज्नुभयो। पछि हाम्रै साथीलाई उम्मेदवार बनाउनुभयो।

उहाँहरूको मत कति आउला म ठ्याक्कै भन्न सक्तिनँ। जे होस् भाइ राम्रै हुनुहुन्छ। उहाँलाई पनि शुभकामना छ।

आजको दिन तपाईंको प्रतिस्पर्धी एमाले कि रास्वपा कि पहिचानवादीले उठाएका उम्मेदवार?
मेरो प्रतिस्पर्धी उठेका उम्मेदवार सबै हुन्। किनभने सबै उम्मेदवार म जित्छु भनेर हिँडिराख्नुभएको छ। 

त्यो त हो, तर मतदाताको मन युवातिर ढल्किने हो कि?
म युवै छु नि। म युवाभन्दा कहाँ कम छु र? साथीहरू ३२/३५ वर्षका हुनुहुन्छ। म ४८/५० वर्षको छु। 

भाइहरूभन्दा अलिकति माथि छु भनेपछि पक्का युवा चाहिँ म हो। कांग्रेसको पक्का युवा मै हो। किनभने, कांग्रेसमा ७०/७२ सम्म युवै हुन्छ। अन्य पार्टीमा ३२ वर्षमा युवा हुन्छ।

अन्त्यमा, तपाईंले अघि २४ वर्षको एमाले पकड तोड्ने बताउनुभयो। त्यसको सबभन्दा बलियो आधार के?
पहिलो, इलाम २ का सबै जनता, धर्मगुरु, बुद्धिजीवी लगायतले साथ दिनुहुनेछ।

दोस्रो, त्यहाँको समस्या समाधान गर्ने मसँग योजना, लक्ष्य र क्षमता छ। केन्द्रीय तहदेखि प्रदेश सम्म विकासको खाका कोर्ने मात्र होइन फिल्डमै काम गर्नसक्ने उर्जा मसँग छ। निरन्तर खटिएर आएको हुनाले म त्यहाँ जनताका समस्या समाधान गर्न सक्छु भन्ने विश्वास दिलाएको छु। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .