डा. मिनेन्द्र रिजाल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद हुन्। उनीसँग महाधिवेशन तयारी, आन्तरिक विवादलगायतका विषयमा नेपालखबरले गरेको वार्ता :
कांग्रेसलाई महाधिवेशन लागिसकेको छ। तर, फागुनमा महाधिवेशन होला त?
देशमा कोरोनाको संक्रमणले भयावह रुप लिने हो कि भन्ने डर छ। त्यसले गर्दा महाधिवेशन भनेकै समयमा होला कि नहोला भन्ने पनि छ। महाधिवेशनसम्बन्धी गतिविधि हामीले फागुनमा रोकेर साउनमा सुरु गरिरहेका छौँ। तर, पछिल्ला दिन कोरोनाबाट मृत्युदर पनि बढ्न थालेको छ। अब त्यसलाई निरन्तरता दिन सक्छौं कि सक्दैनौँ, हेरौं।
अवस्था सामान्य भयो भने त हाम्रो काम सहज रुपमा जाला, मंसिरको मसान्तसम्म क्रियाशील सदस्यता टुंगिन्छ। त्यसको ६ दिनपछि पुस ६ गते वडाको अधिवेशन भनिएको छ। त्यसमा मलाई चिन्ता छ किनकि पहिले हामीले क्रियाशील सदस्यतामा पार्टी सभापति देउवाको हस्ताक्षर भएर सदस्यता पठाएको अढाई महिनापछि वडा तहको अधिवेशन तोकेका थियौं। अहिले ६ दिनपछाडि छ। हामीकहाँ सबैभन्दा बढी विवादित हुने विषय नै क्रियाशील सदस्यता वितरणमा हो। त्यही मतबाट को जित्छ, को हार्छ, टुंगो लाग्छ।
फेरि, अहिले हाम्रो पार्टीमा अन्य पार्टीबाट प्रवेश गर्नेहरु पनि छन्। कोही व्यक्तिगत आएका छन्, कसैले टिम ल्याएका छन्। विजय गच्छदारजी पार्टीमा सामेल भएको अढाई वर्ष भइसकेको छ, तर उहाँको क्रियाशील सदस्यताको कुरा अझै टुंगो लागिसकेको छैन भने अरुको के होला? त्यसैले क्रियाशील सदस्यताको कारण फागुन ७ भन्दा अलि ढिला होला कि? क्रियाशील सदस्यता चित्त नबुझ्ने खालको भयो भने अधिवेशनको प्रक्रिया अगाडि नबढ्ने अवस्था आउन सक्छ। मंसिरभन्दा अगाडि नै नयाँ वितरण र नवीकरण प्रक्रिया चित्तबुझ्दो नभए त्यसले पनि लम्ब्याउन सक्छ। फागुनमा होस्, हुनुपर्छ, सभापतिले गराउँछु भन्नुभएको छ, वरिष्ठ नेताहरुले गराउनैपर्छ भन्नुभएको छ। केहीगरी फागुनमा भएन भने चैतमा होला, चैतमा नभए वैशाख नभए जेठ त होला नि। त्यो भन्दा बढी कति जाला र?
भनेपछि क्रियाशील सदस्यताको कारण महाधिवेशन सर्ने अवस्था छ?
मैले फागुन ७ गते महाधिवेशन गर्न जोखिमहरु छन् भन्न खोजेको हो। पार्टी सभापतिले सहज तरिकाले ७ गते नै गर्छु भन्नुभएको छ। तर, महाधिवेशन गर्नभन्दा पनि अवगाल नपरोस् भनेर उहाँले यो राखेको प्रस्ताव हो भन्ने हामीलाई अनुभूति भएको छ। म आशा गर्छु सभापतिमाथिको यो आशंका गलत प्रमाणित होस्।
सभापति देउवाले विभागहरुमा गरेको मनोनयनले यहाँहरु झस्किनुभएको हो? किन?
निश्चय नै। आज देउवाले सभापतिको रुपमा काम गरिरहनु भएको छैन। उहाँ १४ औं महाधिवेशनको सभापति पदका उम्मेदवार शेरबहादुर देउवाको प्रचार अभियानको रुपमा पार्टीलाई सञ्चालन गरिाख्नुभएको छ। त्यो भन्दा दुःखद् केही पनि हुँदैन। अहिलेसम्म पार्टीको विवादको केन्द्रमा त्यही विषय छ।
मैले आजभन्दा ६ महिना अगाडि नै भनेको थिएँ– उहाँ महाधिवेशनको नतिजा आफ्नो पक्षमा पारेर मात्रै महाधिवेशनमा जान चाहनुहुन्छ। यसो भन्दा शिष्टाचार नहोला। तर, अहिले उहाँको पक्षमा वातावरण देखिन्न। तैपनि प्राविधिक रुपमा आफ्नो पक्षमा वातावरण बनाउन उहाँले जेपनि गर्न सकिन्छ भनेर सबै गर्नुभएको छ। हिजो विभागहरुको संख्या बढाउनुभयो। विभिन्न पार्टीबाट आउनेहरुलाई पार्टी प्रवेश गराउने विषयमा पनि पनि उहाँले कुनै छलफल परामर्श गर्नुभएन। भोलि सभापति बन्दा कति मत बढ्छ भन्ने हिसाब राखेर ती मानिसलाई भित्र्याएको देखिन्छ। यसैले मैले क्रियाशील सदस्यताको चिन्ता जनाएको हो।
मंसिर मसान्तमा बाँडेको सदस्यता पुस २/३ गतेमात्रै वडामा पुग्ला अनि ६ गते अधिवेशन छ। अनि ३ गते पुगेको सूची यो होइन भन्नुपर्यो भने के होला? ६ महिना अगाडिदेखि नै देउवालाई सभापति बनाउन मूल संयन्त्र परिचालित छ। कोभिड संकटको बेला पनि त्यही किसिमले परिचालित भयो। अहिलेसम्म काम सोही दिशामा केन्द्रित छन्। यसरी पार्टीको अधिवेशन कसरी आफ्नो पक्षमा ल्याउन सकिन्छ भन्ने कुराबाट अभिप्रेरित भएर काम गर्दा मुलुकको राजनीति दुर्घटनामा पर्न सक्छ।
अहिले सामान्य बेला छैन। कम्युनिस्ट सरकारप्रति असाध्य निरासा छ। जनता भविष्यप्रति चिन्तित भइरहेको बेला सत्तारुढ पार्टी आफ्नो पकड अझै कसरी बनाउने भन्नेमा केन्द्रित भएर जनतामा निरासा चुलिएको बेला पनि कांग्रेस पनि भरोसायोग्य पार्टी हुन सकेको छैन। योबीचमा हामी प्रभावकारी रुपमा प्रस्तुत हुन सकेनौं। हामी जनताका तमाम समस्या बिर्सेर महाधिवेशन कसरी जित्ने भन्नेतिर लागेका छौं। काम गर्न नसक्ने सरकार, प्रभावहीन विपक्ष अनि जोखिममा संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान पर्छ कि भन्ने मलाई चिन्ता छ।
तपाईं आफैँ सदस्य रहेको संसदमा पनि कांग्रेसको उपस्थिति फितलो देखियो नि?
मैले राम्रोसँग काम गरेको छु भन्नु त आत्मश्लाघा मात्र हुन्छ। म तपाईंलाई इमान्दार भएर भन्छु– संसदमा पसेको दिनदेखि मैले हाम्रा कुरा संसदमै राख्न साथीहरुलाई पनि जोड गरेँ। संसदमा अपोजिसनको भूमिका, शून्य समय, विशेष समयमा बोल्न हाम्रा साथीहरुलाई मैले नै कतिपटक भनेको छु। तर, मैले वा केही साथीहरुले गरेको कामलाई मात्र मान्छेले हेर्दैन। बरु संसदीय दलको नेता, सभापति हाम्रो मूल मान्छे, ४ पल्ट देशको प्रधानमन्त्री भइसकेको मान्छे, संसदमा कसरी उभिनुभएको छ भनेर हेर्छ। हाम्रो दलमा ठूला नेताहरु देउवाजी, शशांकजी, प्रकाशमानजीबाहेक ठूलाखालका नेता सबैले चुनाव हार्नुभएको छ। त्यसैले उहाँहरुको पनि ध्यान संसदमा हाम्रो पार्टीले खेलेको भूमिकामा छ। तर, हाम्रा साथीहरु संसदमा आफ्नो भूमिकाबारे चासो दिनुहुन्न, सरकारले के गरिरहेको छ उहाँहरुलाई याद हुन्न। पार्टीमा देउवा किन प्रभावकारी हुनुभएन, महाधिवेशनमा कसरी परिचालन गर्ने, गुट व्यवस्थापन कसरी गर्ने भन्नेमा मात्र उहाँहरुले ध्यान दिनुभएको छ। म पनि दूधले धोएको मानिस होइन। तर, संसद् छ भन्ने कुरा कांग्रेसका थुप्रै साथीहरुको नोटिसमा छैन। त्यसकारण पनि हामीले प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेका छैनौं।
कुरा मिलुन्जेल भागबण्डा गर्ने अनि बिग्रन थालेपछि यो सबै कमजोरी सभापति देउवाको मात्रै हो भनेर पन्छिन मिल्छ?
त्यसरी भन्न मिल्दैन। म पनि कुनै समय देउवासँग थिएँ, सुशील कोइरालाको विपक्षमा हुँदा। अहिले देउवाले पार्टी विभाग बनाउनेदेखि हरेक कुरामा एकलौटी गर्नुभएको छ यसमा कसैलाई दोष लगाउन पाइँदैन। तर, एउटा कुरा चाहिँ के सत्य हो भने २०७४ को चुनाव सकिनेबित्तिकै हाम्रो पार्टीको संसदमा नभएका प्रायः साथीहरुको ध्यान पार्टीको महाधिवेशनतिर गयो। त्यसले गर्दा वातावरण तिक्त रह्यो। देउवाजीको विकल्पमा हुने हाम्रा नेताहरुले महाधिवेशनतिर ध्यान दिन जति हतार गर्नुभयो, त्यति नै बढी काम ढिलो भयो।
चुनाव लगत्तै विशेष अधिवेशन, देउवाले राजीनामा दिने कुरा उठेको थियो। त्यसबेला मैले दोष सबैभन्दा बढी सभापतिले लिनुपर्छ, अरुको पनि दोष छ, देउवाले मैले दोष लिन्छु भन्नुभयो भने कुरा टुंगिन्छ, यसलाई विवादको विषय नबनाऊँ, नयाँ संविधान बनायौं तर, सोही अनुसारको हाम्रो पार्टी समायोजन भएको छैन, समायोजन गरौं भन्दाखेरी मेरै समूह (कोइराला–पौडेल) का साथीहरुले मीनेन्द्र सधैँ कुरालाई अर्काेतर्फ लैजानुहुन्छ, चुनावमा पार्टी सर्मनाक रुपमा हारेको बेला तपाईं समायोजनको कुरा गर्ने भन्नुभयो। सवा दुई वर्षअघि मैले उठाएको कुरालाई फजुलमा उठाएको भनेर साथीहरुले आरोप लगाउनुभयो तर आजसम्म पनि समायोजन टुंगिएको छैन। ७ सय ५३ स्थायीय तह ६ हजार ७ सय ४३ वडाहरु छन्। समायोजन गरेको भए उहिले नै महाधिवेशन भएर नयाँ नेतृत्व आइसक्थ्यो। त्यो बेला देउवा जोगाउन खोज्यो भनेर आफ्नै साथीहरुबाट मैले अवगाल सहेको थिएँ। धेरै हतारिएको मान्छे भन्दा बिस्तारै हिँडेको मान्छे चाँडै गन्तव्यमा पुग्छ। देउवा हटाउन चाहनेहरुले यति हतार गरे कि अहिलेसम्म हटाउन पनि सकेनन्, महाधिवेशन पनि भएको छैन। आउने महाधिवेशन पनि देउवाले आफ्नो पक्षमा पार्न सबै उपाय अपनाउनु होला भन्ने चिन्ता गर्नुपर्ने बेला भएको छ।

पार्टीभित्रको यस्तो संक्रमणको अन्त्य गर्न तपाईंसहितको नयाँ पुस्ता नेतृत्व हातमा लिन तयार छ त?
बुढो त हामी पनि भयौं। तर, हाम्रो पनि दाइ पुस्ताको उमेरले हामीलाई छोपेको छ र हामी बुढो भएको मानिसले देखेका छैनन्। अरु पार्टीमा मेरै उमेरका साथीहरु प्रमुख नेतृत्वमा छन्। म भन्दा ४÷५ वर्षमात्रै जेठो प्रचण्ड, माधव नेपाल मूल नेतृत्वमा हुनुहुन्छ। मेरै उमेरका साथीहरु उता पार्टीको निकै माथिल्लो पद प्रचण्ड, नेपाल पछिको पदमा पुगेका छन्। अलिअलि बुढो भनेको झलनाथजी, वामदेवजी र ओलीजी मात्रै हो। तर, मेरो उहाँहरुसँग रत्तिपनि गुनासो छैन। मैले देउलाई लामो समय साथ दिएँ, उहाँलाई छोडेको ५/६ वर्षमात्रै भएको छ। मलाई यहाँसम्म ल्याउन उहाँको सहयोग छ। म कृतज्ञ छु। म जुन समूहमा छु, यता पनि गुनासो छैन। म विस्तारै आफूलाई कन्भिन्स गरिरहेको छु, अहिले पनि ठूला नेताहरुलाई दोष दिएर हामी उम्कने बेला छैन। उहाँहरुले नगरे आफले जिम्मेवारी लिने हो।
तर, मैले मूल नेतृत्वमा चुनौती दिनसक्ने अवस्था छैन। चाहना त छ तर, त्यसले मात्रै भएन। म सभापति हुनेगरी अहिले नै भोट पाउने अवस्था बनिसकेको छैन। सभापति बन्न भोट आउने अवस्था भए मै चुनौती दिन्थेँ। तर, जसको भोटको आधार मेरोभन्दा बलियो छ, बाबुबाजेको पालामा राजनीति गरेको हुनुहुन्छ, उहाँहरुले सके नेतृत्वमा आए हुन्छ। त्यसैले अहिले देउवा, रामचन्द्र पौडेललाई गुनासो गरेर, निरासा व्यक्त गरेर भन्दा हामीले गरेर देखाउन सक्ने हामी हुनुपर्यो। आजसम्म कांग्रेसमा एक नम्बरमा मैले मत पाउने अवस्था देख्दिनँ। एक नम्बर पछाडिको नेतृत्वमा मैले जित्नसक्ने आत्मविश्वास छ र म आफूलाई त्यसैरुपमा अधिवेशनमा प्रस्तुत गर्नेछु।
उपसभापतिमा?
त्यसमा बहस हुनसक्ला दुई नम्बर पद के हो भनेर। सबै प्रतिष्ठान चलाउने उपसभापति हो कि महामन्त्री हो? मान्छेको रुचि, काम गर्ने शैली पनि हुन्छ। जे होला त्यसमा कहीँ न कहीँ सम्झौता गर्ने ठाउँ मैले पनि राख्न खोजेको हो।
त्यसोभए कसैले सभापतिमा उम्मेदवारी दिएर कांग्रेसमा नयाँ धार जन्मिने सम्भावना छैन?
गम्भीर रुपमा आफ्ना उम्मेदवारीको बारेमा विमलेन्द्र निधिले कुरा बाहिर ल्याउनुभएको छ। उहाँको उम्मेदवारी पनि रह्यो भने त्यसले कांग्रेसको राजनीति चलायमान गराउँछ। त्यसैले आजकै दिनमा कांग्रेसको राजनीति कसरी जान्छ, कसको पक्षमा परिणाम आउँछ, भन्न गाह्रो छ। ५–६ जना उम्मेदवार हुने सम्भावनालाई पनि नर्कान सकिन्न। तर, अहिले भएकामध्येबाटै उत्तम छान्नुपर्ने बेला पनि आउन सक्छ। अहिले नै अर्को धार बन्नेमा पुगेको छैन। सबैले कार्यकर्ता तहमा परीक्षण गर्ने बेला छ। आजको दिनमा प्राविधिक रुपमा देउवा बलियो हुनुहोला तर, आम जनमानसमा उहाँप्रति आकर्षण बाँकी छैन। त्यसैले साथीहरु देउवालाई मै पो हराउन सक्छु भनेर विस्तारैविस्तारै आफ्नो ग्राउन्ड बुझिसकेपछि एउटा सम्झौतामा पुग्नुहोला। त्यो हेर्न बाँकी छ।

नेपाली कांग्रेसका कार्यकर्ताले कस्तो नेतृत्वको अपेक्षा गरेका छन् भन्ने तपाईंलाई लाग्छ?
यता धेरै कुरा नगरौं। म आफ्नो भविष्यलाई जोखिममा राखेर बोल्न सक्दिनँ। तर यति भन्नैपर्छ, हामीले विगतमा जसरी सनातनी रुपमा पार्टी चलायौं, त्यसरी कांग्रेस चल्दैन भन्ने सन्देश देशभरका युवादेखि वृद्धसम्मका कार्यकर्ता र नेताहरुले दिनुभएको छ। प्रष्ट रुपमा साथीहरुले यो कुरा उठाउनुभएको छ। त्यसैका आधारमा हो मैले पहिलो होइन, दोस्रो पदमा उठ्छु भन्ने आत्मविश्वास लिएको।
यतिबेला कांग्रेस कुन विचारको अनुशरण गरिरहेको छ?
कांग्रेस पनि संघर्ष र बलिदानबाट अघि बढेको पार्टी हो। ७५ वर्षअघि र अहिलेको तुलना गर्न मिल्दैन, स्वभाविक रुपमा हिजोको परिस्थिति आज छैन। सोच, प्रविधि, सम्पर्क सञ्जालजस्ता कयौँ बदलाव आइसकेको छ। तर, यसलाई हेक्का नगरी विस्तारै हाम्रो पार्टी सीमित मान्छेको घेराको पार्टी बन्दै गएको छ। बीपी कोइरालाले सीधै आम जनतासँग जोडिने योजना अघि सार्नुभयो। उहाँ आफ्ना कुरा आम नागरिकलाई सुनाउन चाहनुहुन्थ्यो। गणेशमान सिंहले प्रजातन्त्र पुनःस्थापनाको नेतृत्व लिनुभयो। गिरिजाप्रसाद कोइरालाले लोकतन्त्र र गणतन्त्रको नेतृत्व लिनुभयो। मूल नेताले जनतासँग सीधै संवाद गर्ने हो भन्ने उहाँहरुले देखाउनुभयो।
सिधैं जनतासँग जोडिने कांग्रेस, जनतासँग सिधैं संवाद गर्ने र जनताको नारीबाट, जनताको विचारबाट, जनताको मनोकांक्षाबाट कांग्रेस प्रभावित हुने पार्टी थियो। आजको दिनमा त्यो पार्टी छैन। हाम्रो पार्टीमा सबैभन्दा हराएको विषय के हो भने हामी सीमित कोठामा बस्ने मानिसहरु, माथिल्लो तहमा देखिएका नेताहरुको मनमा रहेको कुराले मात्र पार्टी प्रभावित हुन थाल्यौँ। हाम्रो मन आम नागरिकको विचारबाट प्रभावित भएको छैन। त्यसैले हाम्रो पार्टी ‘मास बेस्ड’ पार्टी छैन, आम जनताको पार्टी छैन।
आजको कांग्रेसको चुनौती भनेको शेरबहादुर देउवाको सट्टा रामचन्द्र पौडेल वा देउवा– पौडेलको सट्टा अर्को कोही भन्दा २५ वर्ष कम युवा कांग्रेसको सभापति हुने भन्दा पनि हाम्रो पार्टी फेरि आम जनताको पार्टी बन्ने कि नबन्ने? भन्ने हो। बीपी कोइरालाको पार्टी आम जनताको पार्टी हो, गणेशमान जीको पार्टी आम जनताको पार्टी हो। गिरिजाप्रसाद कोइरालाको पार्टी आम जनताको पार्टी हो। कृष्णप्रसाद, सुवर्ण शम्सेर, सुशील कोइरालाको पार्टी आम जनताको पार्टी हो। अब हामी आम जनताको पार्टी बनाउनेतर्फ जानुप¥यो। जनतालाई आन्दोलनमा लिएर गएर ठूलो परिवर्तन गराउन सक्ने क्षमता भएको बीपी, गणेशमान, गिरिजा प्रसाद कोइरालाको मैले नाम लिए। इतिहास त त्यो हो नि त। अरु केही विशेषतामा अरु नेता माथि हुनुहुन्थ्यो। सुवर्ण जीको योगदानलाई पार्टीमा कसैले कमजोर आक्न सक्तैन। उहाँ नभएको भए कति वर्षपछि कांग्रेस बन्थ्यो होला थाहा छैन। कृष्णप्रसाद भट्टराईको निष्ठाको राजनीतिलाई कसैले केही भन्न सक्तैन। सुशील कोइरालालको ‘सिम्प्लीसिटी’ नभएको र अहिलेका फुर्तीफार्ती धाकधक्कु लगाउने मान्छे भएको भए नेपालको संविधान बन्थ्यो जस्तो लाग्दैन। उहाँले संविधान बनाउँदा जसरी सामान्य मानिस जसरी आफूलाई प्रस्तुत गर्नुभयो र संविधान बन्यो। तर, जनतालाई समाएर, जनताको विचारबाट आफ्नो पचिालित हुने, आफ्नो विचारबाट जनतालाई परिचालन गर्नेहरु बीपी कोइराला, गणेशमान र गिरिजाले देखाउनुभएको त्यो परम्परामा आज कांग्रेस छैन। त्यसैले आज को नेता बन्छ भन्ने भन्दा त्यो परम्परा पुनस्थापित हुन्छ कि हुँदैन १४ औं महाधिवेशनमा त्यो चै चुनौति हो जस्तो लाग्छ।
— Nepalkhabar (@nepalkhabar) August 4, 2020
तर, गिरिजाले पार्टीलाई गणतन्त्रमा लगेकै कारण कांग्रेसको दुर्गति भएको कांग्रेसकै नेताहरुले खुलेआम बताइरहेका छन् नि?
देशमा १८ हजार मानिसको ज्यान गएको थियो। दैनिक मारिने क्रम रोकिएको थिएन। हामी गाउँ जान सकेका थिएनौं। सरकार गाउँमा थिएन, सदरमुकाम र काठमाडौंकेन्द्रित थियो। राजाले जनताका अधिकार खोस्दै निरकुंश शासन चलाउँदै लगेका थिए। यस्तो बेलामा माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याएर संसद् पुर्याई नेपालीको ज्यान जोगाउनु कसरी गलत भयो? हामी सत्तामा कहाँ छौं भन्ने कुरा महत्वपूर्ण होइन, जनताको जिउने कुरा र शान्तिको चाहनालाई गिरिजाले बुझ्नुभएको हो। सीधै जनताको विचार र भावना सम्बोधन गर्नुभएको हो। जनताले संविधान बनाउने ठाउँमा हामी पुग्यौं। त्यो बेला गिरिजाले ल्याउनुभएको विचार देशभरको आम नागरिकको विचार भयो। योभन्दा ठूलो सफलता केही पनि हुन सक्तैन। हाम्रा गतिविधिले हामी कमजोर भएको हो, लाइनले होइन। सरकारप्रति असाध्यै धेरै निरासा छ, तर, हामीप्रति पनि भरोसा गर्ने स्थिति निर्माण हुन सकेन। त्यसैले आज ४ पुस्ताले दुःख गरेर बनाएको संविधान र लोकतन्त्र जोखिममा छ।
त्यसलाई बचाउन दोस्रो तहका नेता किन अघि सर्न नसकेका त?
प्रक्रियामा छ। यही होला भनिहाल्न सक्ने अझै अवस्था बनेको छैन। कार्यकर्ताले कसलाई विकल्प ठान्छन्, त्यो हेर्न बाँकी छ। तर, अहिले हाम्रो पार्टीको दायरा फराकिलो छ। क्रिकेटको मैदानमा ब्याट लिएर बसेको मान्छेले जतापनि छक्का हान्न सक्ने सम्भावना हुन्छ।
नेता भुइँदेखि उठ्नुपर्छ। नेपाली कांग्रेसको कार्यकर्ता नयाँ र दोस्रो तहको नेतृत्वको लागि तयार छन्। तर, त्यो जिम्मेवारी उठाउन ब्याट्सम्यान तयार हुने हो कि होइन? यदि तयार हुने हो भने अवसर राम्रो छ। होइन हामी नेताहरुलाई मिलाउनतिर लाग्यौं, कोइराला, पौडेल, देउवा सिटौला मिलाउने कुरा गर्यौं भने त्यो ब्याट्सम्यानले केहीपनि हान्न सक्तैन। प्राविधिक रुपमा नयाँ नेतृत्व आउँछ। नयाँ भनेको देउवाजी नै हुनुहोला वा अरु। नेपाली जनता जोड्ने, कार्यकर्ताले खोजेको जस्तो, नयाँ उर्जासहितको पार्टी बनाउन एक्लै भएपनि भिड्छु भन्ने नेता मैदानमा आउनुपर्यो। यदि बलियो गरी अडियो र जस्तो कडा बल आएपनि ब्याटिङ गर्न तयार छु भनेर उभियो भने कांग्रेसको महाधिवेशनले ठूलै आश्चर्य पनि निम्त्याउन सक्छ।
जोखिम लिन तयार हुनुपर्छ। मेरो उमेरका साथीहरु, मभन्दा अलि बढी लाभ भएको, एउटा परम्परा विरासत भएको साथीहरुले अहिले जोखिम उठाउन तयार हुनुभएन भने पछि कहिल्यै पालो आउँदैन। १५ औं महाधिवेशनसम्म मेरो उमेरका साथीहरुको जोखिम लिने ठाउँ पनि बाँकी रहँदैन। हाम्रो नेतृत्व हेर्न पनि कार्यकर्तामा उत्साह हुँदैन। मैले भन्ने गरेको छु, सक्नुहुन्छ अहिले जोखिम लिनुस्, १५ औं महाधिवेशनले तपाईंहरुलाई कुर्दैन।

नयाँ पुस्ताले नेतृत्वमा हस्तक्षेप गर्नुपर्यो भन्ने तपाईंको कुरा होइन त?
म त्यही भाषा त प्रयोग गर्दिनँ। तर, हाम्रा केही युवा साथीहरुले हस्तक्षेपकारी भूमिका खेल्ने बताउनुहुन्छ। हस्तक्षेप गर्नुपरेन। जोखिम उठाए पुग्छ। मलाई मान्नुहुन्छ कि देउवालाई मान्नुहुन्छ? मलाई मान्नुहुन्छ कि पौडेललाई मान्नुहुन्छ? म यसो गर्छु। सक्नुहुन्छ र पत्याउनुहुन्छ भने म यो जोखिम उठाउन तयार छु नेतृत्वमा राख्नुस् भनेर एकदिन अन्तर्वार्ता दिनेमात्र होइन, तलैदेखि नेतृत्व लिन हिम्मत गर्छ कसैले भने आजका दिन ग्राउन्ड चाहिँ छ। कसैले हिम्मत गर्यो भने कल्पना नगरेको परिवर्तन कांग्रेस नेतृत्वमा आउनेछ भन्ने मलाई लाग्छ।
प्रसङ्ग बदलौं, भारतले मिचेको नेपाली भूमि समेटेर नयाँ नक्सा जारी भएको छ। त्यो जमिन फर्काउन के गर्नुपर्छ?
मैले प्रधानमन्त्रीलाई संसदमै सोधेको थिएँ, कागजमा मात्रै जमिन फिर्ता ल्याउने हो कि साँच्चै भूमि ल्याउने हो? संसदमा कटु आलोचना गर्दागर्दै मैले देशबाहिरका मिडियामा बोल्दा देशको पक्षमा, सीमाको पक्षमा बोलेको छु। देशको सीमा जहाँ पुगेर सकिन्छ, त्यहाँबाट मेरो र प्रधानमन्त्रीको मतभिन्नता सकिन्छ र हामी एउटै देशका देशभक्त नेपाली नागरिक हुन्छौं। मलाई केही साथीहरुले भनेका पनि थिए, यस्तो अलोकप्रिय मानिसलाई जोगाउन किन मरिहत्ते गरेको? उनकै पार्टीलाई जिम्मा दिए त भइहाल्यो नि। हामीले नेपाली भूभागसहितको नक्सा त जारी गर्यौं तर, प्रधानमन्त्रीले भूमि फिर्ताको पहल गर्नुभन्दा पनि वातावरण भड्काउने काम गर्नुभयो। संसदमा बोल्दा र बाहिरका कार्यक्रममा बोल्दा पनि प्रधानमन्त्री ओलीजीले कुरा बिगार्न थाल्नुभयो। पछिल्लो दिन अयोध्याको विषयमा विवादास्पद अभिव्यक्ति दिएर उहाँले भारतसँग कटुतापूर्ण, तिक्ततापूर्ण सम्बन्ध बनाउनुभयो। तर, उहाँले भारतविरोधी अभियान जस्तै चलाउनुभएको नारा बिकेन यो पटक।
राष्ट्रवादी छवि बनाएर जसरी उहाँले चुनावमा जित्नुभएको थियो, नेपालीको आत्मासम्मान जोगाउने भनेर मत पाएको व्यक्ति प्रधानमन्त्री भएपछि गफाडी, चटकी, अर्कालाई चिढ्याउने, होच्याउने गर्दाे रहेछ भन्ने पर्न थालिसकेको छ। नेपालले चीनको उक्साहटमा हरेक गतिविधि गरिहेको आरोप भारतले लगाइरहेका बेला, भारतसँग नेपाली मन कुँडिएको बेला ओलीले भारतविरोधी नक्कली प्रचारबाट राजनीति गर्ने कार्यनीति बनाउनुभयो, जुन चलेन। भूमि फिर्ता ल्याउन सरकार गम्भीर भएन। प्रधानमन्त्री ओलीजी ठूलो अवसर छ, काम गर्नुस्। भूमि फिर्ता आउँछ। नेपालीको साथ भएको बेला काम गर्ने हो।
भारतसँग सम्बन्ध नबिगारी कसरी मिचिएको भूमि फिर्ता ल्याउन सकिन्छ?
हामीसँग असाध्यै बलियो अकाट्य प्रमाण छ। अहिलेसम्म हामीले भनेको के हो भने भारतको पनि प्रमाण ल्याउनुस् हामी पनि प्रमाण ल्याउँछौं। २३ वर्षदेखि हामीले भनेको हाम्रो प्रमाण हेर्नुस् तपाईंहरुको प्रमाण ल्याउनुस् भिडाएर हेरौं। तपाईंहरुको एक इन्च भूमि चाहिँदैन, प्रमाणअनुसार हाम्रो भूमि हामीले फिर्ता पाउनुपर्छ। अब हामीले दुई पक्ष बसेर प्रमाण हेर्ने वातावरण बनाउनुपर्यो।

पछिल्ला दिनमा चिनियाँ राजदूतले कांग्रेसका नेताहरू देउवा र पौडेललाई पनि भेट्नु भएछ, नेपालमा चीनको भूमिकालाई कसरी लिनुभएको छ?
चीनको महत्व दुनियाँमा बढेको छ। नेपालमा मात्र होइन, अफ्रिकासम्म बढेको छ। नेपालमा भूमिका बढ्नु अस्वाभाविक होइन। तर, ३० वर्षअघि भारतको जस्तो भूमिका थियो, त्यस्तो चीनको भूमिका छ भन्नु पलिसी मिस्टेक हुन्छ। तर, सँगसँगै हामीले भारतसँग कटुतापूर्ण सम्बन्ध गर्ने अनि चीनका राजदूत सरकारी पार्टीको झगडा मिलाउँदै हिँड्ने लज्ज्जाजनक राजनीति गर्यौं भने कसैका लागि पनि हितकर हुँदैन। आज कसैको सत्ता जोगिएला, कोही सत्तामा पुग्ने बाटो बन्द होला तर, दीर्घकालीन रुपमा यसले देशलाई कमजोर बनाउँछ। नेपालका राजनीतिक दलमा माइक्रोम्यानेज गर्न भारत दौडिन्छ भन्ने आरोप थियो। अहिले त्यही माइक्रोम्यानेज गर्न चीन दौडेको छ।
अहिले त भारतसँग हामीलाई रिस उठेको छ भइहाल्यो भनौँला, सामान्य लाग्ला। तर, नेपाली मानसले सहँदैन। हामी आत्मसम्मानलाई महत्व दिन्छौं। कुनैपनि मुलुकले नेपालको राजनीतिलाई सूक्ष्म व्यवस्थापन गर्नुपर्छ भन्नेगरी काम गर्यो भने जनताले अपमानित महसुस गर्छ।
राजदूतले कांग्रेस, कम्युनिष्ट सबै पार्टीका नेतासँग राजनीतिक संवाद गरेपछि कसरी सत्तारुढ पार्टीमा मात्रै प्रभाव पार्न खोजेको भन्न मिल्छ र?
चीनलाई अलि असहज पनि लाग्यो होला एउटा पार्टी मात्रैलाई भेट्दा। सायद रामचन्द्र पौडेललाई भेटेको दिन हाम्रो पार्टी सभापति देउवालाई पनि भेटेको हुनुपर्छ।
मैले रामचन्द्र पौडेललाई सोधेको थिएँ। उहाँले हामीलाई गर्नुभएको ब्रिफिङ अनुसार सामान्य शिष्टाचारको भेट भएको बताउनुभयो। चिनियाँ राजदूतले बुझ्नुभएन र चीनले बुझेन भने, चीनप्रति रहेको सद्भाव पनि धेरै दिन कायम रहँदैन। नेपालको कम्युनिस्ट पार्टी सत्ताबाट बाहिरिन थाल्यो कि, फुट्न थाल्यो कि भनेर चीनको कम्युनिस्ट पार्टीकै सदस्य रहने राजदूतको दौडादौड हुनु ठिक होइन। त्यो खालको सम्बन्ध चीनले नेपालमा राख्न खोजेको हो त? नेपालीको मनमा चिसो पसेको छ। चीनले नेपालको एउटामात्रै राजनीतिक पार्टीसँग सम्बन्ध राख्न खोजेको त होइन होला।

प्रतिक्रिया