कालीकोटको खाँडाचक्र नगरपालिका प्रमुख र उप–प्रमुखबीच भनाभन भएको छ। आइतबार दिउँसो पालिकाको कार्यकक्षमै प्रमुख कमलबहादुर शाही र उप–प्रमुख गणेशबहादुर शाहीबीच लफडा भएको हो।
उनीहरुबीच बजेटको विषयलाई लिएर लफडा भएको हो।
उनीहरुबीचको विवाद अहिले सामाजिक सञ्जालमा भाइरल बनाइएको छ।
के हो विवाद?
गत असार मसान्तमा नयाँ बजेट आउँदा नगरपालिका भित्रका विद्यार्थीहरुका लागि भनेर पाँच लाख बराबरको बजेट छुट्टाएको थियो।
उक्त बजेट पालिकाभित्र बसोबास गर्ने विपन्न परिवारका विद्यार्थीहरुलाई कम्प्यूटर सिकाईका लागि भनेर छुट्टाइएको थियो।
जसमा एसईई पास गरेका विद्यार्थीहरुका लागि कम्प्यूटर सीप सिकाउने योजनासहित पालिकाले बजेट विनियोजन गरेको थियो। सिप सिकाउने उद्देश्यका साथ पालिकाका कर्मचारीहरुले सम्झौता गरे अनुसार ११ वडाका २२ जनाको नाम छनौट भएको थियो।
उक्त विषयलाई लिएर आइतबार पालिका प्रमुख कमलबहादुर शाही, उपप्रमुख गणेशबहादुर शाही, पालिकाका कर्मचारीहरु उक्त विषयमा सामान्य छलफल भएको थियो।
स्रोतका अनुसार उक्त छलफलमा पालिकाबाट छानिएका २२ जना विद्यार्थीहरुमा एक÷एक जना थप गर्ने कुरा उपमेयर गणेशले गरे।
‘मेयर कमलले एक/एक जना थप गर्नका लागि त्यो रकमले पुग्छ कि पुग्दैन भन्ने कुरा कर्मचारीहरुले सल्लाह गर्ने कुरा भएको र यदी पुग्छ भने पठाए हुन्छ भनेका थिए। तर, उपमेयर गणेशले विद्यार्थीहरुलाई खाना नदिने, दिउँसो खाजा मात्रै दिने भएपछि पाँच लाख रकम धेरै हुन्छ। एक/एक जना थप्नुपर्यो भन्ने कुरा गरे’ स्रोतले भन्यो।
उप–मेयरको कुरापछि मेयरले फेरि ‘त्यो मैले हैन की त्यो कुरा कर्मचारीले निर्णय गर्ने हो। हामीले त बजेट विनियोजन गर्यौं। कर्मचारीले सल्लाह गर्ने हो। हाकिमले सल्लाह गर्नुहुन्छ’ भनेका थिए।
त्यसपछि उपमेयरले झर्किँदै ‘कस्तो कुरा गरेको हो? तपाईंलाई थाहा नभएर कसलाई थाहा हुन्छ?’ भने।
अनि मेयर रिसाएर भने, ‘हत्तेरी तपाईं कस्तो कुरा गर्नुहुन्छ। कार्याकक्षमा बसेको समयमा यस्तो कुरा बोल्नुहुन्न। हामी बाहिर आएको बेला बोले जस्तो।’
उनीहरुबीच विवाद हुँदा कर्मचारीहरु कार्यालयमै थिए।
त्यसपछि मेयर–उपमेयरबीच विवाद बढ्दै जाँदा आफू बसेको ठाउँबाट उठेर एक–आपसमा झम्टिन पुगे। उनीहरुलाई कर्मचारीहरुले सम्झाउनुपरेको थियो।
नाताले उपमेयर काका र मेयर भतिजा पर्छन्।
प्रतिक्रिया