कर्णाली


दैलेखका दुई छुट्टाछुट्टै ठाउँमा भएको झडपमा दुई युवकको मृत्यु

दैलेखका दुई छुट्टाछुट्टै ठाउँमा भएको झडपमा दुई युवकको मृत्यु

नेपालखबर
कात्तिक १०, २०८० शुक्रबार १७:२८, सुर्खेत

दसैँको समयमा दैलेखमा छुट्टाछुट्टै दुई ठाउँमा भएको झडपका क्रममा दुई युवकको मृत्यु भएको छ। कुटपिटबाट घाइते भएका दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा दैलेखको नारायण नगरपालिका–७ का २५ वर्षीय रोहन शाही र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ का २० वर्षीय किशोर बुढा क्षेत्री रहेका छन्।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार बिहीबार राति दैलेखको भैरवी गाउँपालिका–४ सिलङ्गी बजारमा युवाहरूबीच भएको झडपमा घाइते भएका बुढा क्षेत्रीको उपचारको क्रममा मृत्यु भएको छ। युवाहरूबीच भएको झडपमा घाइते भएका किशोरलाई प्राथमिक उपचारपछि थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पुर्‍याइएको थियो।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले सिलङ्गी बजारमा भएको झडपमा परी अन्य एकजना घाइते भएको जानकारी दिए।

उनका अनुसार घाइते भएका भैरवी गाउँपालिका–५ सैनचौरका २१ वर्षीय सुमन शाहीलाई प्रहरीले दुल्लू अस्पताल पुर्‍याएकोमा सामान्य उपचारपछि डिस्चार्ज भएका छन्।

उक्त घटनामा संलग्न रहेको भन्दै प्रहरीले दुईजनालाई पक्राउ गरेको जनाएको छ।

भैरवी गाउँपालिका–५ सैनचौरस्थित ससुराली गएका किशोर बुढा क्षेत्री र उनका जेठान सुमन शाही सिलङ्गी बजारमा गएको समयमा युवाहरूबीच झडप भएको प्रहरीले जनाएको छ।

यस्तै, नारायण नगरपालिका–७ मा दसैँको टीकाको दिन अर्थात् कात्तिक ७ गते राति युवाहरूबीच भएको झडपमा परी घाइते भएका रोहन शाहीको पनि मृत्यु भएको छ। झडपमा घाइते भएका शाहीको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको हो।

उक्त घटनामा संलग्न रहेको भन्दै चारजनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .