कर्णाली


मुगुमा एकै परिवारका चार जनाको हत्या : प्रहरीको विशेष टोली परिचालन

मुगुमा एकै परिवारका चार जनाको हत्या : प्रहरीको विशेष टोली परिचालन

नेपालखबर
कात्तिक १०, २०८० शुक्रबार २१:१७, काठमाडौँ

सामूहिक हत्याको आशङ्का गरिएको घटनाबारे अनुसन्धान गर्न कर्णाली प्रदेश प्रहरीको विशेष टोली आज बेलुका घटनास्थल छायानाथ रारा नगरपालिका–६ स्थित मन्दु गाउँतर्फ प्रस्थान गरेको छ। 

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भीम ढकालका अनुसार मुगु घटनाको अनुसन्धानका  लागि जुम्लाबाट एक र सुर्खेतबाट दुई टोली मुगुतर्फ हिँडेको छ।

प्रहरी नायब महानिरीक्षक ढकालका अनुसार सुर्खेतबाट विशेष अनुसन्धान गर्ने वरिष्ठ प्रहरी नायब उपरीक्षक नारायण शर्माको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली र अर्को एक टोली अनुसन्धान गर्न मुगु गएको छ।

टोली आज राति  कालिकोट बसेर शनिबार बिहानै मुगु पुग्ने उनले जानकारी दिए।

आज मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा र एक छोरी मृतावस्थामा फेला परेका थिए।

मृतास्थामा फेला पर्नेमा छायानाथ रारा–६ मन्दु गाउँकी २६ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र  आठ महिनाका छोरा रहर रहेका छन्। 

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार घटनाको खबर पाउनासाथ आज बिहान ११ बजे प्रहरी घटनास्थलमा प्रहरी पुगेको थियो।

घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट दक्षिण पूर्वमा रहेको छ। हत्याको आशंका गरिएका चारैजनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुमा ल्याइएको छ। 

मृतकका श्रीमान् वैदेशिक रोजगारीमा रहेका बताइएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार मृतक श्रीदेवी छोराछोरीसहित यही कात्तिक ७ गते बिहान दसैँको टीका थाप्न सोही वडा स्थित कोटिल्ला माइत गएकी थिइन्।

यही कात्तिक ८ गते बेलुका घर फर्केका उनीहरूको सोही राति हत्या भएको हुनसक्ने आशंका गरिइएको छ।

छिमेकीहरूले कात्तिक ९ गते बिहानदेखि श्रीदेवीको घरमा ताला लगाएको देखेपछि बिहानै सिमी टिप्न खेत गरातिर गएका होलान् अनुमान लगाएका थिए।

१० गते बिहान पनि घरमा ताला लगाएको देखेपछि छिमेकीहरूले फेरि श्रीदेवी माइती गए कि भनी माइतीमा फोन गर्दा ८ गते नै गएको भनेपछि छिमेकीले आज बिहान १० बजेतिर ढोकाको ताला फाडेर भित्र हेर्दा चारै जनाको हत्या भएको देखेका जनाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .