कर्णाली


उपप्रमुख सिंहसहित ५५ जनाको दाहसंस्कार

उपप्रमुख सिंहसहित ५५ जनाको दाहसंस्कार

नेपालखबर
कात्तिक १९, २०८० आइतबार १६:२८, काठमाडौँ


जाजरकोट भूकम्पमा परी निधन भएका नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहसहित ५५ जनाको दाहसंस्कार गरिएको छ। 

उपप्रमुख सिंहको निधन सदरमुकाम खलंगा भएपछि श्रद्धाञ्जलीका लागि पार्थिव शरीरलाई नलगाड ल्याइएको थियो।

जाजरकोटको त्रिवेणी नदीमा उपप्रमुख सिंहलाई राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिन अर्पण गरिएको छ।

श्रद्धाञ्जली दिन उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का पनि त्रिवेणी नदीमा पुगेका थिए।

उपप्रधानमन्त्री खड्काले भूकम्पपीडितको उपचार, राहत र पुनःस्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए।

उनले राज्यको सम्पूर्ण संयन्त्र परिचालन गरेर एकैदिनमा घाइतेलाई उद्धार गर्न सरकार सफल भएको बताउँदै आइतबारदेखि राहत वितरण सुरू गरिने जानकारी दिए।

‘दुई दिनभित्र सबै भूकम्पपीडित नागरिकसम्म पुग्ने गरी राहत सामग्री पठाएका छौँ, थप केही आउने क्रम जारी छ’, उनले भने, ‘जसरी भूकम्पका घाइतेको उद्धार गरेका छौँ, सोही गतिमा राहत पनि वितरण गर्छौं।’ 

उपप्रधानमन्त्री खड्काले राहत लगत्तै पुनःनिर्माणको काममा सुरु हुने बताए। उनले घाइतेहरूको उपचार सुर्खेत, नेपालगञ्ज र काठमाडौंमा भइरहेको बताउँदै उपचारमा कुनै किसिमको कमि हुन नदिने प्रतिबद्धता जनाए।

गत शुक्रबार राति ११ः४७ बजे जाजरकोट केन्द्रविन्दु बनाएर गएको छ दशमलव चार म्याग्निच्युडको भूकम्पका कारण नलगाड नगरपालिकामा उपमेयर सिंहसहित ५५ जनाको ज्यान गएको थियो भने जाजरकोट र रुकुम पश्चिमका विभिन्न क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति भएको थियो।

नलगाड नगरपालिका वडा नं ४ का अध्यक्ष बद्रीबहादुर पन्तले उपप्रमुख सिंहको निधनबाट पालिकालाई ठूलो क्षति पुगेको बताए।

‘पालिकाको विकास र समृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्ति गुमाउँदा ठूलो पीडा भएको छ’, उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .