कर्णाली


सँगै सुतेको छोरालाई शर्मिलाले सकिनन् बचाउन, भावविह्वल मानबहादुर

सँगै सुतेको छोरालाई शर्मिलाले सकिनन् बचाउन, भावविह्वल मानबहादुर

मानबहादुर विक।


दिनेश बुढा
कात्तिक २०, २०८० सोमबार २०:३३, सुर्खेत

शुक्रबार ‍(कार्तिक १७) जाजरकोटको भेरी नगरपालिका–१ की शर्मिला विक र उनको तीन वर्षका छोरा सुतिरहेका थिए। साँझको खाना खाएर शर्मिलाका बुढीसासु, सासु/सासुरा पनि सुत्न गए।

शर्मिलाका श्रीमान् नेपाली सेनामा कार्यरत थिए। कार्यक्षेत्रमै रहेका श्रीमान्‌सँग शर्मिला र उनका तीन वर्षका छोराले फोनमा कुराकानी गरे। 

राकानीमा छोराले बुबा मानबहादुर विकलाई तिहारमा घर आउन पनि भने। तर, शुक्रबार राति आएको विनाशकारी भूकम्पले छोराको ज्यान लियो। 

बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले शर्मिलाको तीन वर्षको छोरासँगै बुढिसासु आमाको मृत्यु भयो।

सोही भूकम्पमा परेकी शर्मिला घाइते बनिन्। गहिरो निन्द्रामा सुतेकी शर्मिलाले ब्युँझिदा भने साथमा सुतेको छोरा गुमाइन्।

शर्मिलले भनिन्, ‘एक्कासी घर हल्लिएर ढल्यो, हत्तपत्त दौडिएर घरबाहिर आएँ। भत्किँदै गरेको घरबाट खसेको ढुङ्गा/माटो शरीरमाथि बजारिरहेको थियो। बाहिर निस्किसकेपछि गाउँभरी होहल्ला र रुवाबासी आवाज मात्रै सुनियो।’

शर्मिलाले सँगै सुतेको छोरा कता पुग्यो पत्ता लाउनै सकिनन्।

‘छोरा कता गयो ठम्याउनै सकिनँ, सासुआमा पनि पुरिनुभएछ, ससुरा ‘बा’ ढोकामा उभिएकाले त्यति चोट लागेन, पछि उद्धार गर्दा छोराको मृत्यु भइसकेको रहेछ,’ उनले भावुक हुँदै सुनाइन्, ‘अकालमै छोरा गुमाउनु पर्दा नबाँचेको भए हुन्थ्यो भन्ने लागिरहेको छ।’ 

भूकम्पमा घाइते शर्मिला र उनको सासु आमा कौशिला कामीको प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको छ। 

नेपाली सेनामा कार्यरत श्रीमान् मानबहादुर वि.क घर पुगेका छन्। उनको भूकम्पले पूरै घर ध्वस्त बनाएको छ।

७० वर्षीया हजुरआमा र तीन वर्षको छोराको मृत्युपछि भावविह्वल छन्, मानबहादुर।

‘म घर बाहिर थिएँ। घरमा हजूरआमा, बुबा/आमा श्रीमति र छोरा थिए। श्रीमति, आमा र बुबा घाइते हुनुभयो। पापी भूकम्पले छोरा र हजुरआमाको ज्यान नै लियो। छोरासँग तिहारमा सँगै बस्ने, खाने र रमाउने सपना अधुरै रह्यो,’ उनले भने।

मानबहादुरकी श्रीमतिको अवस्था सामान्य रहेपनि आमा कौशिलाको होस् अझै राम्रोसँग आउन नसेको उनी बताउँछन्।

भूकम्पबाट ७० वर्षकी हजुरआमा र छोरा गुमाएका मानबहादुर शोकसँगै घरबारविहीन बनेका छन्।

उनले भने, ‘भूकम्प आउँदा घरमा थिइँन। कार्य व्यवस्ताले घर बाहिरै थिएँ। हजुरआमा र छोरालाई सदाका लागि गुमाएँ। यता चिसोमा खुला आकाशमुनि बास बस्नु परेको छ। भएको खाने अन्न, लुगा कपडा, भाँडाकुँडा सबै पुरिए।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .