कर्णाली


सरकारी जग्गाका संरचनामा मेयर ढकालको डोजर, व्यवसायीले गरे ढुंगामुढा

सरकारी जग्गाका संरचनामा मेयर ढकालको डोजर, व्यवसायीले गरे ढुंगामुढा

सरकारी जग्गामा बनाइएका संरचना भत्काउँदै डोजर, वीरेन्द्रनगर नगरपालिकाकी मेयर मोहनमाया ढकाल


दिनेश बुढा
चैत १, २०८० बिहिबार ८:२६, सुर्खेत

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाकी प्रुमख मोहनमाया ढकालले सरकारी जग्गामा बनेका संरचनामा डोजर चलाएकी छन्। बुधबार बिहानदेखि नगरपालिकाको सरकारी जग्गामा बनेका अवैध संरचनामा डोजर चलाउन थालिएको हो। 

वीरेन्द्रनगर नगरपालिका–६, स्थित बजारको घण्टाघरबाट सरकारी जग्गामा बनाइएका संरचना भत्काउन सुरु गरिएको हो।

नगरपालिकाले सुर्खेत उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा भाडामा लिएर बनाइएका संरचना हटाउन बुधबारसम्मको समय दिएको थियो। पुनः सोमबार नगर क्षेत्रमा माइकिङ गर्दै संरचना हटाउन भनिए पनि नहटाइएका संरचनामा नगरपालिकाले डोजर चलाउन सुरु गरेको हो। 

संरचना हटाउनुको साटो व्यवसायी शनिबारदेखि उल्टै नगरपालिकाविरुद्ध आन्दोलमा उत्रिएका थिए। शक्तिको आडमा नगरपालिकालाई व्यवसायीले नटेरेपछि वीरेन्द्रनगरकी मेयर ढकाल अन्ततः डोजर चलाउने निर्णयमा पुगेकी हुन्। यस क्रममा नगरपालिकाको टोली र व्यवसायीबीच केही बेर घम्साघम्सी समेत चलेको थियो। 

बुधबार संरचना हटाउन पुगेको नगरपालिकाको डोजरमा केही व्यवसायीले ढुंगामुढासमेत गरेका थिए। ढुंगामुढाले डोजरको सिसा फुटेको छ भने चालकसहित नगरकका तीन कर्मचारी घाइते भएका छन्। केही बेर तनावग्रस्त बनेको घण्टाघर क्षेत्र नगरपालिकाले संयमता अपनाउँदा अप्रिय घटना हुन पाएन। 

नगर प्रमुख ढकाल सुर्खेत उपत्यका नगर विकास समितिको अध्यक्ष पनि हुन्। 

नगरपालिकाले नगर क्षेत्रभित्र बनेका १ सय २५ वटा व्यावसायिक संरचना हटाउने बताएको छ। 

गत वर्ष जेठमै संरचना हटाउने निर्णय गरेको नगरपालिकाले व्यवसायीहरूको मागअनुसार झण्डै एक वर्षसम्म पर्खेको थियो। तर व्यवसायीले अटेर गरेपछि माघ १८ मा नगरपालिकाले संरचना हटाउन अन्तिम पटक ३५ दिने सूचना जारी गरेको थियो। 

मेयर ढकालका अनुसार नगर विकास समितिको स्वामित्वमा रहेका सरकारी जग्गामा बनाइएका अस्थायी संरचना हटाएर त्यसलाई पार्किङका रुपमा विकास गरिने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .