कर्णाली


सुर्खेतमा मध्यराति प्रहरीलाई पूर्वसैनिकको फोन: ‘सर ! श्रीमती मारेँ, पक्राउ गर्न आउनुहोस्’

सुर्खेतमा मध्यराति प्रहरीलाई पूर्वसैनिकको फोन: ‘सर ! श्रीमती मारेँ, पक्राउ गर्न आउनुहोस्’

घटनास्थल


दिनेश बुढा
साउन ११, २०८२ आइतबार ८:१७, सुर्खेत

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१३ करेखोलामा महिलाको हत्या भएको छ भने उनका श्रीमान्‌लाई प्रहरीले पक्राउ गरेको छ। 

प्रहरीका अनुसार शनिबार मध्यराति करिब १ बजे ४१ वर्षीया रविना ठाडाको हत्या भएको हो।

श्रीमतीको हत्या गरेर आफैँले फोन गरी जानकारी गराएपछि ४२ वर्षीय दानसिंह ठाडालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 

दानसिंहको भनाइ उद्धृत गर्दै प्रहरीले भन्यो, ‘सर, श्रीमती मारेँ, पक्राउ गर्न आउनुहोस्।’

दानसिंहले फोन गरेर आफ्नो घरको ठेगाना दिएको प्रहरीको भनाइ छ।

प्रहरीलाई फोन गर्नुअघि ठाडाले आफूसँग फोन नम्बर मागेको वीरेन्द्रनगर नगरपालिका-१३ का वडाध्यक्ष दीपेन्द्रराज कोइरालाले बताए।

उनले नेपालखबरसँग भने, ‘राति मसँग पनि उसले नम्बर मागेको थियो। घरपरिवार सबैलाई फोन गरेको रहेछ। नेपाली सेनाको जागिरबाट रिटायर्ड भएको केही वर्ष मात्रै भएको थियो।’

वडाध्यक्ष कोइरालाका अनुसार दानसिंहले सुतेकै अवस्थामा दाउराले हानेर हत्या गरेको जस्तो देखिएको छ। 

दानसिंहले खबर गरेलगत्तै प्रहरी चौकी करेखोलाबाट खटिएको टोलीले आइतबार बिहान २ बजेतिर ठाडालाई नियन्त्रणमा लिएको हो।

रविनाको शव पोस्टमार्टमका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको छ।

पूर्वसैनिक ठाडाले किन श्रीमतीको हत्या गरे भन्ने विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।  

दानसिंहको घरमा उनका श्रीमान-श्रीमती मात्र बस्थे।

उनका तीन छोरीमध्ये एक जापान छिन् भने दुइटाको बिहे भएको छ। छोरा दुबईमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad