कर्णाली


कर्णालीमा ओली पक्षमै गुटबन्दी, सचिवको उम्मेदवार बन्न बोगटी र कँडेलबीच रस्साकस्सी

कर्णालीमा ओली पक्षमै गुटबन्दी, सचिवको उम्मेदवार बन्न बोगटी र कँडेलबीच रस्साकस्सी

दिनेश बुढा
मंसिर २४, २०८२ बुधबार २१:३९, सुर्खेत


नेकपा एमालेको ११औँ महाधिवेशनका लागि कर्णाली प्रदेशबाट ११३ प्रतिनिधि छनौट भएका छन्। मंसिर २७ देखि काठमाडौंमा हुने महाधिवेशनमा सहभागी हुन अधिकांश प्रतिनिधि काठमाडौँ पुगिसेका छन्। 

एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलावजंग शाहले रुकुमपश्चिम बाहेक अन्य नौ जिल्लामा सर्वसम्वत प्रतिनिधि छनौट गरिएको जानकारी दिए। उनकाअनुसार ४७ हजार संगठित सदस्य रहेका कर्णाली प्रदेशमा हुम्लाबाट ६ जना, मुगु ६, जुम्ला ६, कालीकोट ८, डोल्पा ८, दैलेख २० जना, सुर्खेत २० जना, जाजरकोट १२ जना, रुकुमपश्चिमबाट ६ जना र सल्यानबाट ८ जना प्रतिनिधि चयन भएका छन्। अन्यमा मजदुर संगठन, कर्णाली सम्पर्क मञ्च र प्रदेश पार्टी कमिटीबाट प्रतिनिधि चयन भएका छन्।

सचिवका लागि ओली समूहमा पर्न बोेगटी र कँडेलबीच प्रतिस्पर्धा
कर्णाली प्रदेशबाट एमालेको केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने २८ जना नेताहरू छन्। ती मध्ये स्थायी कमिटी सदस्यमा सुर्खेतका यामलाल कँडेल र हुम्लाका गोरखबहादुर बोगटी गरी दुई जना छन्। यी दुवै जना महाधिवेशनबाट सचिव बन्न चाहान्छन्। अहिले बोगटी पार्टीको कर्णाली प्रदेश इन्चार्ज र कँडेल मुख्यमन्त्री छन्। 

यस्तै, पोलिटब्यूरो सदस्यहरूमा दैलेखका लक्ष्मीप्रसाद पोखरेल, मुगुका मोहन बानियाँ र जाजरकोटका भैरवसून्दर श्रेष्ठ र अन्य केन्द्रीय सदस्यहरू रहेका छन्। कर्णाली प्रदेशबाट पार्टीको केन्द्रीय नेतृत्वमा रहेका सबै एमाले नेताहरू संस्थापन पक्ष अर्थात् केपी ओली निकट छन्। 

यता पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको साथ लिएर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका ईश्वर पोखरेलको पक्षमा भने कर्णालीका कुनै नेताहरू देखिएका छैनन्। पदाधिकारीमा दाबी गरिरहेका स्थायी कमिटी सदस्य बोगटी र कँडेल दुवै ओलीको पक्षमा छन्। उनीहरूबीच निर्वाचनको समयमा ओलीको टिममा को पर्छ भन्ने धेरै कार्यकर्ताको चासो छ। 

नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा ओली र पोखरेलबीच निर्वाचन हुने पक्का भएपछि ओलीको टिममा परेर चुनाव कसरी जित्ने भन्ने आन्तरिक रणनीतिमा बोगटी र कँडेल छन्। बोगटी हाल काठमाडौँ रहेर नेताहरूसँग भेटघाटमा व्यस्त छन् भने कँडेल प्रदेशमै व्यस्त छन्। 

कर्णाली प्रदेशबाट प्रतिनिधि छनौटमा ओली र पोखरेलको गुट नदेखिए पनि स्थायी कमिटी सदस्य कँडेल र बोगटीबीच आन्तरिक प्रतिस्पर्धा भने गजबको छ। कँडेल र बोगटी पक्षका प्रतिनिधिबीच रुकुमपश्चिमा सहमति नुहँदा निर्वाचनबाट प्रतिनिधि चयन भएका छन्। निर्वाचनबाट चयन भएका ६ जना प्रतिनिधिहरू केन्द्रमा ओली र प्रदेशमा कँडेल पक्षका हुन्। 

केन्द्रमा एकै धार भएका बोगटी र कँडेल कर्णाली प्रदेशमा भने आ–आफ्ना गुट चलाएका छन्। उनीहरूबीच विगतदेखि नै प्रदेशदेखि जिल्ला अधिवेशनमा समेत शक्ति मापन हुँदै आएको छ। 

चितवनमा भएको एमालेको १०औँ महाधिवेशनबाट कँडेल सचिव बन्न चाहन्थे। उनले त्यतिबेला नै पदाधिकारीमा आफ्नो दाबी गरेको मिडियासामु खोलेका थिए। त्यस महाधिवेशनमा माओवादी केन्द्रबाट नेकपा हुँदै एमालेमा समावेश भएका नेताहरूलाई मिलाउँदा पदाधिकारीको लिस्टबाट कँडेल आउट भएका थिए। उनले ११औँ माहाधिवेशनमा पनि पदाधिकारी पदमा आफ्नो दाबी रहेको संकेत गरेका छन्। तर, हालसम्म खुलेर बोलेका छैनन्। 

एमाले सुर्खेतका उपाध्यक्ष तथा महाधिवेशन प्रतिनिधि मोहनसिंह बडुवालले कर्णालीबाट हालसम्म पदाधिकारी नभएको भन्दै ११औँ महाधिवेशनबाट कर्णालीले पनि पदाधिकारी पाउनुपर्ने माग गरे।
उनले भने, ‘कर्णालीमा कुनै गुट छैन, एउटै छ। त्यो प्रदेशमा यामलाल कँडेलको नेतृत्व, केन्द्रमा केपी ओली।’

पदाधिकारीमा मेरो चाहाना स्वभाविक: बोगटी
यता सचिव पदका अर्का दाबेदार गोरखबहादुर बोगटीले नेतृत्वसँगै प्रतिनिधिबीच आफू उम्मेदवार हुने प्रचार गरिरहेका छन्। पार्टी स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज रहेका बोगटीले कर्णाली प्रदेशले स्वभाविक रुपमा पदाधिकारी पाउनुपर्ने बताए। 

उनले भने, ‘हामी सबैको माग भनेको कर्णाली प्रदेशले पदाधिकारी पाउनुपर्छ भन्ने हो। कर्णालीले स्थायी कमिटी सदस्य भन्दा माथिको पदाधिकारीमा कुनै पद पाएको छैन। यस महाधिवेशनबाट पदाधिकारी पाउनेमा हामी ढुक्क छौँ। नेतृत्वले पनि मिलाएर लैजान्छ भन्नेमा कर्णालीका प्रतिनिधिहरू विश्वस्त छन्।’ 

कर्णाली प्रदेशबाट छनौट भएका सबै प्रतिनिधिहरू अध्यक्ष शर्मा ओली निकट रहेका इन्चार्ज बोगटीले बताए। 

उनले कर्णाली प्रदेशलाई यति पदाधिकारी अर्को प्रदेशलाई यति पदाधिकारी नभनेर विगतमा छुटेका प्रदेशलाई प्राथमिकतामा राख्नुपर्ने बताए। 

बोगटीले भने, ‘प्रदेश–प्रदेशमा यति पदाधिकारी भनेर भन्दा पनि मनोविज्ञानका हिसाबले छुटेका प्रदेशहरूलाई प्राथमिकतामा राख्नुपर्ने कुरा हो। त्यही किसिमले सोच्नुपर्छ। प्रदेशका सबै प्रतिनिधिहरू पदाधिकारी पाउनुपर्छ भन्ने विषयमा एक मत छौँ।’ 

उनले थपे, ‘व्यक्तिका हिसाबले मैले सांगठानिक जिम्मेवारी बाहेक अरु कुनै जिम्मेवारी नभएको र विगतदेखि नै निरन्तर पार्टीको काम बाहेक बाहिर नरहेकोले पदाधिकारीमा मेरो चाहाना र ईच्छा स्वभाविक छ।’

कँडेलले मात्रै पदाधिकारी पद पाउनुभयो भने तपाईंले स्वीकार्नु हुन्छ? भन्ने प्रश्नमा बोगटीले नेतृत्वले त्यसका लागि पार्टीमा गरेको कामको मूल्यांकनको आधारमा निर्णय गर्ने विश्वास व्यक्त गरे।

उनले भने, ‘अहिले अध्यक्षमा मात्रै हो रस्साकस्सी। अन्य पदिय जिम्मेवारी मिलाउँछन् होला। सांगठनिक जिम्मेवारी भएका व्यक्तिले पार्टीको जिम्मेवारी पाउनुपर्छ भन्ने कुरा न्यायसंगत नै होला नी! कसैले पार्टी चलाउनु पर्‍यो। कसैले सरकार।’

पहिले अटेर गर्नेहरू पनि ओलीतर्फ ढल्किए
२०८० असोजमा भएको कर्णालीको दोस्रो अधिवेशनमा अध्यक्ष ओलीले भनेको कुरा नमान्ने एमालेका केन्द्रीय कमिटीका नेताहरू महाधिवेशनका समयमा ओलीतर्फ ढल्किएका छन्। उक्त अधिवेशनबाट एमाले कर्णाली प्रदेश अध्यक्ष पदमा सल्यानका गुलावजंग शाह र कालीकोटका मीनबहादुर शाहीबीच निर्वाचन भएको थियो।

त्यस समयमा ओलीले मीनबहादुर शाहीलाई अध्यक्षमा सगाउन कर्णालीबाट केन्द्रमा प्रतिनिधित्व गर्ने प्रत्येक नेताहरूलाई फोन गरेर भनेका थिए। तर, त्यतिबेला अधिकांश केन्द्रीय सदस्यहरूले ओलीको अनुरोधलाई इन्कार गरे। जसका कारण ओलीले सहयोग गरेका उम्मेदवार शाही शाहसँग पराजित भए।

अधिवेशनमा ओलीको आग्रह विपरित शाहलाई स्थायी कमिटी सदस्य यामलाल कँडेल, पोलिटब्यूरो सदस्यहरू मुगुका मोहन बानियाँ, जाजरकोटका भैरवसून्दर श्रेष्ठ, दैलेखका लक्ष्मीप्रसाद पोखरेल तथा केन्द्रीय सदस्यहरू, हुम्लाका दल रावल, डोल्पाकी बद्मी बोहरा, दैलेखका राजबहादुर बुढा, मिनासिंह रखाल, धर्मराज रेग्मी, जाजरकोटका सिपी घर्ती, डम्बरबहादुर सिंह लगायतका नेताहरूले सहयोग गरेका थिए। 

यस्तै, ओलीले सहयोग मागेका मीनबहादुर शाहीको पक्षमा स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज गोरखबहादुर बोगटी, केन्द्रीय सदस्यहरू दैलेखका विनोदकुमार शाह, विष्णु रिजाल, कालिकोटका नगिन्द्र शाही, जुम्लाका रतननाथ योगी, जाजरकोटका निरज आचार्य र रुकुमपश्चिमका चन्द्रबहादुर विश्वकर्मा, सुर्खेतका नवराज रावत लगायतले सहयोग गरेका थिए। 

कर्णाली प्रदेश अधिवेशनमा पार्टी अध्यक्ष ओलीले भनेका उम्मेदवार हराउन अघि बढेका नेताहरू ११औँ महाधिवेशनमा ओलीतर्फ नै ढल्किएका छन्। हालसम्म कर्णालीबाट छनौट भएका प्रतिनिधि मात्रै नभएर कर्णाली प्रदेशबाट एमाले केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने कुनै पनि नेताहरूले पोखरेलको पक्षमा खुल्ने आँट गरेका छैनन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad