कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिने तयारी गरेका छन्।
सोमबार सत्तारुढ दलहरुले प्रदेशको भागबन्डा गर्दा कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेलाई दिने सहमति गरेका थिए।
सोहीअनुसार प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले पार्टीलाई कर्णाली सरकारको नेतृत्व छाड्न निर्देशनसमेत दिएका थिए। तर, माओवादीबाट मुख्यमन्त्री बनेका शर्मा सरकार नछाड्ने अडानमा छन्।
शर्माले विश्वासको मत लिनका लागि प्रदेश सभा सचिवालय कर्णाली प्रदेशमा आइतबार पत्रसमेत दर्ता गराइसकेका छन्।
केन्द्रले जस्तो निर्देशन दिए पनि कर्णालीको नेतृत्व नछाड्ने र विश्वासको मत लिएर छाड्ने अडानमा मुख्यमन्त्री शर्मा देखिएका छन्।
यद्यपि यो निर्णय माओवादी केन्द्र प्रदेश संसदीय दलको बैठकले गर्ने बताइएको छ।
यता प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीले मुख्यमन्त्री शर्माले विश्वासको मतका लागि सचिवालयमा पत्र पठाएर पनि दर्ता भइसकेको र आज मंगलबार दिउँसो ३ बज्ने बैठकमा विश्वासको मत लिने जानकारी दिए।
उनका अनुसार यो समाचार तयार पर्दासम्म मुख्यमन्त्री शर्माले विश्वासको मत नलिनेबारे कुनै जानकारी प्रदेशसभामा पुगेको छैन।
यस्तै कर्णाली सरकारको नेतृत्व पाउन लागेको नेकपा एमालेले सरकार गठनका लागि कुनै सुरसार गरेको छैन। प्रदेश भागबन्डा गर्दा कर्णालीको नेतृत्व एमालेलाई परे पनि एमालले सरकार गठनका लागि कुनै गृहकार्य थालेको छैन।
Shares
प्रतिक्रिया