कर्णाली


कर्णाली प्रदेशमा पहाड र हिमालले छेक्यो रास्वपाको ‘आँधी’, पुरानै दलले मारे बाजी

कांग्रेस पहिलो, नेकपा दोस्रो, एमालेको अवस्था कस्तो?
कर्णाली प्रदेशमा पहाड र हिमालले छेक्यो रास्वपाको ‘आँधी’, पुरानै दलले मारे बाजी

माथिल्लो लहरमा कांग्रेसका विजयी, दोस्रोमा नेकपाका र तल्लो लहरमा बायाँबाट क्रमश: राप्रपा, एमाले र रास्वपा


दिनेश बुढा
फागुन २५, २०८२ सोमबार १२:२५, सुर्खेत

यही फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अभूतपूर्व जित भइरहँदा कर्णाली प्रदेशमा भने पुरानै दलको दबदबा देखिएको छ। कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये रास्वपाले एउटामा मात्र विजय हासिल गर्‍यो।

प्रदेशका १० जिल्लामध्ये सुर्खेत र दैलेखमा २/२ र बाँकी ८ जिल्लामा १/१ क्षेत्र। यी सबै निर्वाचन क्षेत्रको चुनावी नतिजा आइतबारै सार्वजनिक भइसकेको छ। 

जसमा पुराना दल नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीकै वर्चस्व देखिएको छ। 

कर्णाली प्रदेशमा प्रत्यक्ष प्रणालीतर्फ सबैभन्दा बढी नेपाली कांग्रेसले ५ सिट जितेको छ। हुम्ला, मुगु, दैलेख १, सुर्खेत १ र जाजकोटमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन्। 

यसपछि दोस्रोमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) देखिएको छ।

नेकपाले कालीकोट, सल्यान, रुकुमपश्चिम र डोल्पामा जित हासिल गरेको हो। चार सिट जितेर नेकपाले कर्णालीमा माओवादीको जनाधार कायमै रहेको सन्देश दिएको छ।

एमालेले भने कर्णालीमा एउटा निर्वाचन क्षेत्र दैलख २ मात्र जित हासिल गर्न सक्यो। 

उता जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही नै लगातार दोस्रोपटक विजयी भए। 

यस्तै रास्वपाका तर्फबाट कर्णालीका १२ निर्वाचन क्षेत्रमध्ये सुर्खेत २ मा रमेशकुमार सापकोटा मात्र विजयी भए।

रास्वपा कर्णाली प्रदेशका सहमहामन्त्री हरिप्रसाद अधिकारीले कर्णालीमा आफ्नो पार्टीले ८ सिट जित्ने दाबी गरेका थिए। तर १ सिटमै खुम्चियो।

रास्वपाका पक्षमा देशभर चलेको ‘आँधी’लाई कर्णाली प्रदेशमा भने पहाड र हिमालले छेकिदिएको छ। 

कर्णालीका १२ निर्वाचन क्षेत्रमध्ये ७ वटामा त रास्वपाका उम्मेदवारको जमानत नै जफत भएको छ। 

नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकतापछि २०७४ मा भएको निर्वाचनमा नेकपाले कर्णालीका १२ सिटमध्ये ११ वटामा विजय हासिल गरेको थियो। त्यसबेला एमालेतर्फका ६ र माओवादी केन्द्रतर्फका ५ उम्मेदवार विजयी भएका थिए। बाँकी एउटा सिटमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका थिए। 

तर माओवादीसँगको एकता भंग भएपछि २०७९ को निर्वाचनमा कर्णालीमा एमाले बढारियो। उक्त निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबिच गठबन्धन भएको थियो। कर्णालीका १२ क्षेत्रमध्ये गठबन्धनले ११ वटा आफ्नो पोल्टामा पार्‍यो।

जसमा माओवादीले ५, कांग्रेसले ४ र एकीकृत समाजवादीले ३ सिट जितेका थिए। एउटा क्षेत्र जुम्लामा मात्र माओवादी उम्मेदवार गोम कुँवर गौतम हारेकी थिइन्। उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानबहादुर शाहीले हराएका थिए।

अब लागौँ भर्खरै सम्पन्न निर्वाचनको नतिजातर्फ

हुम्ला  
यहाँ नेपाली कांग्रेसका जयपति रोकाया विजयी भएका छन्। उनले ८ हजार ७९७ मत प्राप्त गर्दै जित हासिल गर्दा निकटतम प्रतिस्पर्धी नेकपाका दीपेन्द्र रोकाया ७ हजार २४३ मत ल्याउँदै पराजित भएका छन्। नेकपा एमालेका दल फडेराले ४ हजार ३३१ मत, राष्ट्रिय स्वतन्त्र पार्टीकी टासी ल्हामले १ हजार ६४ मत प्राप्त गरेकी छन्।

अन्य उम्मेदवारतर्फ प्रगतिशील लोकतान्त्रिक पार्टीका जटिल कार्कीले २४८ मत, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का कुम्भ बुढाले १२८ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका छक्क बुढाले १२४ मत प्राप्त गरेका छन्।

मुगु
मुगुमा नेपाली कांग्रेसका खड्क शाहीले विजयी हुँदै विरासत जोगाए। शाहीले ७ हजार ९१४ मत ल्याउँदै चुनाव जितेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पूर्णबहादुर रोकायाले ६ हजार ७१८ मत प्राप्त गरे। 

नेकपाका उम्मेदवार चन्द्रबहादुर शाहीले ५ हजार ५५८ मत प्राप्त गर्दा रास्वपाका उम्मेदवार भुवन टमटाले ५३० भोट मात्र पाए। 

यस्तै नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का रंगवीर परियारले २८०, राष्ट्रिय प्रजातन्त्र पार्टीका बलबहादुर मल्लले २०३ र प्रगतिशील लोकतान्त्रिक पार्टीका ऐटनकुमार मल्लले २२ मत प्राप्त गरेका छन्।

जुम्ला 
जुम्लामा यसपटक पनि राप्रपाका ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही विजयी भए। उनी १४ हजार ८१६ मत प्राप्त गर्दै लगातार दोस्रोपटक प्रतिनिधि सभा सदस्य बनेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपाका नरेश भण्डारीले ११ हजार ६३५ मत प्राप्त गरे। नेपालीका कांग्रेसका दीपबहादुर शाहीले ७ हजार १४३ मत पाए भने एमालेका शान्तिलाल महतका पक्षमा ४ हजार ५१८ मत खसे। अनि रास्वपाकी बिनिता कठायतले ४२१ मत मात्र पाइन्।

कालीकोट 
कालिकोटमा ‘ह्याट्रिक’ गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार महेन्द्रबहादुर शाही निर्वाचित भएका छन्। उनले ११ हजार ३३८ मत प्राप्त गरे। शाहीले एमाले उम्मेदवार नगिन्द्र शाहीलाई ९८६ मतान्तरले हराएका हुन्। एमाले नगिन्द्र शाहीले १० हजार ३५२ मत पाए। 

यस्तै नेपाली कांग्रेसका हर्षबहादुर बमले ७ हजार १३३, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का खड्गबहादुर विश्वकर्माले ४ हजार ५९९, रास्वपाका प्रकाश न्यौपानेले २ हजार ९३७, नेपाल मजदुर किसान पार्टीका नन्दबहादुर शाहीले ५९७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर शाहीले ५६६ मत प्राप्त गरेका छन्।

यसैगरी राष्ट्रिय जनमोर्चाका अजबहादुर गिरीले १६९, स्वतन्त्र उम्मेदवार अस्मिनकुमार विष्टले ६४ र अर्का स्वतन्त्र उम्मेदवार मानबहादुर तिरुवाले ६ मत प्राप्त गरे।

दैलेख-१
दैलेख निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसकी उम्मेदवार वासना थापा विजयी भइन्। उनले १२ हजार ३७२ मत ल्याएर एमालेका उम्मेदवार रवीन्द्रराज शर्मालाई ६७६ मतले उछिनेकी हुन्। पराजित शर्माले ११ हजार ७९६ मत प्राप्त गरे।

यस्तै रास्वपाका बस्नेतले ८ हजार १५१, नेकपाका अम्मरबहादुर थापाले ४ हजार २५६, राप्रपाका रणबहादुर सिंहले ५९८, नेपाल मजदुर किसान पार्टीका जगतबहादुर ओलीले ३०२, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का रामलाल विश्वकर्माले २३५, राष्ट्रिय जनमोर्चाका नरबहादुर सिंहले ९१, स्वतन्त्र लोगबहादुर बोगटीले २९ र आम जनता पार्टीका मेनका श्रेष्ठले १६ मत प्राप्त गरेका छन्। 

दैलेख-२ 
दैलेख निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार लक्ष्मीप्रसाद पोखरेल निर्वाचित भएका छन्। उनले १३ हजार ८८९ मत ल्याउँदै नेपाली कांग्रेसका दिक्पालकुमार शाहीलाई ४ हजार ३३७ मतान्तरले हराए। पराजित शाहीले ९ हजार ५५२ मत प्राप्त गरे। 

यस्तै रास्वाका बखतबहादुर शाहीले ६ हजार ७९७ मत प्राप्त गर्दै तेस्रो बने। नेकपाका योगेन्द्रबहादुर शाहीले ३ हजार ८५१, नेपाल मजदुर किसान पार्टीका बखतबहादुर थापाले १ हजार ५१२ मत प्राप्त गरे।

सुर्खेत-१ 
सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का निर्वाचित भएका छन्। उनले नेकपा एमालेका ध्रुवकुमार शाहीलाई ८ हजार ७ मतान्तरले हराएका हुन्। खड्का २६ हजार ८९७ मत प्राप्त गर्दै विजयी भएका हुन्। प्रतिस्पर्धी शाहीले १८ हजार ८९० मत प्राप्त गरे।

यस्तै यहाँ रास्वपाका टेकबहादुरसिंह ठकुरीले १४ हजार ७२९, नेकपाका जितबहादुर रानाले २ हजार ८२८ र राप्रपाका रविहमाल ठकुरीले १ हजार ४९ मत प्राप्त गरेका छन्।

सुर्खेत-२
सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रमेशकुमार सापकोटा भारी मतले विजयी भएका छन्। उनले ३० हजार ८२६ मत पाए। सापकोटाले नेपाली कांग्रेसका नारायणकुमार कोइरालालाई १४ हजार ४३४ मतान्तरले हराएका हुन्। कोइरालाले १६ हजार ३९२ मत मात्रै प्राप्त गरे।

यस्तै एमालेका कुलमणि देवकोटाले १३ हजार ११५, नेकपाका झकबहादुर मल्लले ४ हजार ५८७, श्रम संस्कृति पार्टीका राजेन्द्र रामजालीले १ हजार ६४६, राप्रपाका कविराम पुरीले १ हजार ३१५, उज्यालो नेपाल पार्टीका गम्भीरसिंह भुलले १८४, नेपाल मजदुर किसान पार्टीका तुल्छी खडकाले १५८, नेकपा मओवादीका धर्मराज देवकोटाले १५०, राष्ट्रिय जनमोर्चाका पूर्णबहादुर शाहीले १३०, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) का प्रेमबहादुर तारामीले ६३ मत प्राप्त गरेका छन्।

यसैगरी जनता समाजवादी पार्टी, नेपालका दिपबहादुर नेपालीले ५२, स्वतन्त्र उम्मेदवार कृष्ण खत्रीले ३८, गतिशील लोकतान्त्रिक पार्टीका पवन थापा मगरले ३४, स्वतन्त्र उम्मेदवार रमेश परियारले २३, नेपाल जनसेवा पार्टीका हृदयन्द्र अधिकारी ७ र स्वतन्त्र उम्मेदवार उदीराम चुनाराले ६ भोट पाएका छन्।

सल्यान 
सल्यानमा नेकपाका उम्मेदवार रमेशकुमार मल्ल निर्वाचित भएका छन्। उनी २३ हजार १८९ मत ल्याएर सांसद बनेका हुन्। मल्लका निकटम प्रतिद्वन्द्वी रास्वपाका ललितकुमार चन्दले २० हजार ९०४ मत प्राप्त गरे।

कांग्रेसका केशबहादुर विष्टले १७ हजार ५५८, नेकपा एमालेका गुलावजंग शाहले १५ हजार ३७३, नेकपा माओवादीका चन्द्रबहादुर खड्काले ९४३ र राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार अनिशा नेपालीले ९०२ मत प्राप्त गरेकी छन्।

रुकुमपश्चिम 
रुकुमपश्चिमा जनार्दन शर्मालाई हराउँदै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार गोपाल शर्मा विजयी भएका छन्। गोपालले २१ हजार ६०९ मत ल्याएर सांसद पदमा निर्वाचित भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजु केसीले १६ हजार ६६१ मत प्राप्त गरे। 

प्रचण्डसँग अलग भएका प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मा भने यसपटक तेस्रो नम्बरमा खुम्चिए। जनार्दनले १४ हजार ३४६ मत मात्रै प्राप्त गरे। रास्वपाका उम्मेदवार मानबहादुर शाहीले ४ हजार ७६ मत प्राप्त गरे।

जाजरकोट
जाजरकोटमा नेपाली कांग्रेसका खडकबहादुर बुढा विजयी भएका छन्। बुढाले २० हजार १४२ मत प्राप्त गरे। उनका निकटम प्रतिद्वन्द्वी नेकपाका शक्तिबहादुर बस्नेतले १७ हजार ४०७ मत मात्रै प्राप्त गरे।

एमालेका डम्बरबहादुर सिंहले १६ हजार ८८३ मत प्राप्त गर्दै तेस्रो भए। रास्वपाका उम्मेदवार राघव कार्कीले २ हजार ४७१ मत प्राप्त गरे। अनि यहाँ राप्रपाका कृष्णविक्रम शाहले ३५९ मत प्राप्त गरे।

डोल्पा
डोल्पामा नेकपाका उम्मेदवार धनबहादुर बुढा ६ हजाार ८०२ मत प्राप्त गर्दै  निर्वाचित भए। उनले नेकपा एमालेका उम्मेदवार लंकबहादुर रोकायालाई १ हजार ३०६ मतान्तरले हराए। रोकायाले ५ हजार ३९६ मत प्राप्त गरे।

विजयी धनबहादुरका दाइ नेपाली कांग्रेसका कर्णबहादुर बुढा भने तेस्रो स्थानमा खुम्चिए। उनले २ हजार ९४७ मत मात्रै प्राप्त गरे। 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका देवसिहं ऐडीले १८१, राष्ट्रिय प्रजातन्त्र पार्टीका हरिप्रसाद डाँगीले ९२ मत, स्वतन्त्र उम्मेदवार ओमेन्द्रबहादुर केसीले ५४, प्रगतिशील लोकतान्त्रिक पार्टीका विकास बुढाले २१, उज्यालो नेपाल पार्टीका दिलबहादुर विष्टले ११ र मितेरी पार्टी नेपालका जुनु भण्डारीले २ मत मात्र पाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad