नेपाली कांग्रेस र नेकपा (एकीकृत समजवादी)ले प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेका छन्। दुवै दलको आज बसेको बैठकले कार्कीको विपक्षमा मत हाल्ने निर्यण गरेका हुन्।
नेपाली कांग्रेस संसदीय दलका नेता उद्वव थापाले दलको बैठकबाट विपक्षमा मत हाल्ने निर्णय गरेको जानकारी दिए।
प्रदेश १ का मुख्यमन्त्री कार्कीले अहिले प्रदेश सभामा विश्वासको मत लिँदैछन्। नेकपा एमाले संसदीय दलका नेता कार्की एमालेसहित माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा पुस २४ गते मुख्यमन्त्री नियुक्त भएका थिए।
अहिले बसिरहेको प्रदेश सभामा कार्कीले विश्वासको मत लिन लागेका हुन्।
नेपालको संविधान २०७२ को धारा १६८ को २ बमोजिम मुख्यमन्त्री नियुक्त कार्कीले संविधानको धारा १६८ को ४ बमोजिम नियुक्त भएको १ महिनाभित्र विश्वासको मत लिनुपर्छ।
९३ सदस्यीय प्रदेशसभामा एमालेको ४०, माओवादीको १३, राप्रपाको ६ र जसपाको १ सहित कार्कीलाई समर्थन गर्नेको संख्या ६० छ।
प्रतिक्रिया