कोशी


विद्यालयबाट घर फर्कंदै गरेकी बालिका मृत भेटिइन्, घटना शंकास्पद

विद्यालयबाट घर फर्कंदै गरेकी बालिका मृत भेटिइन्, घटना शंकास्पद

प्रतिकात्मक तस्बिर


नेपालखबर
माघ ३, २०७९ मंगलबार ६:३४, खोटाङ

विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता बनेकी खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित काभ्रेकी १७ वर्षीया बालिका रञ्जिता दाहाल शङ्कास्पद अवस्थामा मृत फेला परेकी छन्। 

त्रिधार्मिकस्थल हलेसीस्थित महेन्द्रोद्धय माध्यमिक विद्यालयबाट आइतबार दिउँसो करिब ३ बजेतिर घर फर्कने क्रममा सम्पर्कविहीन बनेकी बालिका दाहाल सोमबार बिहान आफ्नै घरनजिकै रहेको खन्यु (घाँसजन्य वनस्पति) को फेदमा मृत फेला परेकी हुन्। 

महेन्द्रोद्यय मावि हलेसीको कक्षा–१० मा अध्ययनरत बालिका मंगलबार (माघ–३ गते) देखि विद्यालयमा आयोजना हुने नगरस्तरीय भलिबल, फुटबल र नृत्य प्रतियोगिताको तयारीका लागि गाउँकै साथीसँग विद्यालय पुगेकी थिइन्। प्रतियोगिताको तयारी सकेपछि उनी साथीसँगै दिउँसो साढे ३ बजेतिर घर फर्केकी थिइन्। 

बाटैमा पर्ने साथीको घरमा रोटी खान आग्रह गर्दा हतार छ भन्दै रोटी बोकेर हिँडेकी बालिका घरभन्दा करिब २०० मिटर टाढा मृत फेला परेकी छन्। विद्यालयबाट घर फर्केकी छोरी बाटैमा मृत फेला परेपछि परिवार शोकमा परेको छ। घटनास्थलमा पातलो सलको टुक्रा घाँटीमा र एक टुक्रा सल रुखको हाँगामा रहेको अवस्थामा शव भेटिएको महादेवस्थानका वडाध्यक्ष कमल गिरीले बताए। “ओठ, आँखा, घाँटीमा चोट देखिएकाले घटनालाई शङ्कास्पद मानिएको छ”, उनले भने, “प्रहरी प्रशासनले कसैको दबाबमा नपरी सत्यतथ्य छानबिन गर्नुपर्छ। घटनाको अवस्था हेर्दा हत्या गरेर झुण्ड्याइएको हुनसक्छ।” 

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले बताए। बालिकाको शव परीक्षणपछि ‘हत्या गरेर झुण्ड्याइएको जस्तो बनाउन खोजिएको वा आफैँ झुण्डिएको’ भन्ने विषय अस्पतालको प्रतिवेदनमा खुल्ने प्रहरीले बताएको छ। 

बालिकाको शव अहिले परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याउने तयारी भइरहेको जनाइएको छ। बालिकाको शङ्कास्पद शव भेटिएपछि विद्यालयको कार्यक्रमसमेत स्थगन गरिएको आयोजकले जनाएको छ। हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसी क्षेत्रमा यसअघि विभिन्न समयमा सुगा राई र ज्ञानीमायाँ विश्वकर्माको हत्या भएको थियो। उनीहरू दुवैको हत्यामा संलग्न अहिलेसम्म पत्ता लागेको छैन। 

हलेसी क्षेत्रमा यसअघि भएको दुवै महिला हत्याको घटना बलात्कारपछि हत्या भएको नगर प्रवक्तासमेत रहेका वडाध्यक्ष गिरीले बताए। प्रहरी प्रशासनले शृङ्खलाबद्ध महिला हत्यामा संलग्न दोषी पत्ता लगाउन असफल भएपछि जिल्लामा हुने हरेक कार्यक्रममा प्रहरी प्रशासनको चर्को आलोचना भइरहेको छ। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad