कोसी प्रदेश सरकारले पर्यटन क्षेत्रको नीतिगत सुधारको लागि छलफल थालेको छ। २०८२ लाई पर्यटन वर्ष घोषणा गरेको सरकारले यो अवधिमा नीतिगत सुधार तथा गन्तव्यहरूको प्रवर्द्धन गर्ने विषयहरूमा छलफलको विषय बनाएको हो।
कोसी प्रदेश सरकार पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा सुनसरीमा भएको छलफलमा पर्यटनसँग सम्बन्धित छुट्टै निकाय बनाएर जानु पर्ने विषयमा उठेको छ। पर्यटनको संरचनागत व्यवस्थाको कुरा पनि उठेको छ।
पर्यटनसँग सम्बन्धित मन्त्रालय अन्तरगत दुई वटा कार्यालयहरू छन् र एउटा पर्यटन विकास आयोजना छ। रहेका दुई वटा कार्यालयमा कार्य बोझ बढी रहेकोले संरचनागत रूपमा पनि छुट्टै मन्त्रालय वा पर्यटन विभाग वा कार्यालयको संरचना बढाउने हो कि भन्ने विषयमा पनि छलफल भएको मन्त्रालयका सचिव विशाल घिमिरेले जानकारी दिए।
‘संरचनात्मक कुरामा विभिन्न विकल्पहरूमा छलफल भए,’ उनले भने, ‘पर्यटन क्षेत्र सञ्चालन गर्ने कार्यालय र संरचना पनि ल्याउनु पर्छ भन्ने कुरा पनि आएको छ।’
यसअघि गठन गरिएको कोसी प्रदेश पर्यटन बोर्ड खारेजीको विषय पनि उठेको छ। यसको आवश्यकता र औचित्यको बारेमा पनि छलफल भएको थियो। बोर्डहरू बनाउँदै खारेज गर्दै गर्नु राम्रो नभएको भन्दै छलफलको क्रममा राख्दाको औचित्य र खारेज हुँदाको औचित्य पुष्टि गर्न सक्नु पर्ने सहभागीले प्रश्न गरेका थिए।
आगामी वर्षको कार्यक्रमको लागि टुक्रा आयोजना भन्दा पनि देखिने गरी काम गर्ने योजना बनाउन मुख्यमन्त्रीले छलफलको क्रममा मन्त्री र सचिवलाई निर्देशन दिएका थिए।
पर्यटन सुरक्षाको विषय छलफल भएको छ। पर्यटकीय क्षेत्रको सुरक्षा, पर्यटक प्रहरी विस्तार गर्ने, पर्यटक प्रहरीको संरचना र क्षमता विस्तार गर्ने विषयलाई सरकारले प्राथमिकतामा राख्ने जनाएको छ। त्यस्तै सरकारले निजी क्षेत्रलाई परिचालन गर्ने भनिएको छ।
निजी क्षेत्रलाई परिचालन गर्नको लागि अहिलेको खर्च प्रणालीको मापदण्डमा कतिपय कुराहरू सम्भव छैन, व्यवहारिक छैन भनेँ त्यसको लागि आवश्यक कानुन र कार्यविधि परिमार्जन गरेर जाने छलफल भएको पर्यटन वर्ष २०८१ का सह संयोजक भविश श्रेष्ठले बताए।
छलफलमा कोसी प्रदेश सरकारले प्रदेशको पर्यटन नीति आवश्यक रहेको औँल्याएको छ। बजेट राख्दा पर्यटन विकास र भौतिक पूर्वाधारको विकाससँगै प्रवर्द्धनका क्रियाकलापलाई ध्यान दिएर राख्नु पर्ने पर्यटन व्यवसायीको माग छ।
आगामी आर्थिक वर्षको लागि पर्यटन क्षेत्रको नीति, कार्यक्रम र बजेट बनाउँदा ध्यान दिनु पर्ने कुराहरू छलफलमा आएको थियो। आएको सुझावको आधारमा आगामी वर्षको पर्यटन सम्बन्धी योजना बन्ने सचिव घिमिरेले बताए।
पर्यटन वन तथा वातावरण मन्त्रीको संयोजकत्वमा कोसी प्रदेश पर्यटन वर्ष २०८२ निर्देशक समिति गठन गरेर सरकारले आगामी वर्षलाई पर्यटन वर्षको रूपमा अघि बढाउने यस अघि नै निर्णय गरेको थियो।
सरकारले घोषणा गरेको पर्यटन वर्षको गतिविधि प्रभावकारी नभएको भन्दै सांसदहरूले सरकारको आलोचना गर्दै आएका छन्।
१५ सदस्य निर्देशक समितिमा मन्त्री संयोजक, ७ जना निजी क्षेत्रबाट, २ जना सह संयोजकहरू, अर्थ, आन्तरिक मामिला, मुख्यमन्त्री कार्यालय र पर्यटन सचिव (४ जना सचिव) र सदस्य सचिव पर्यटन महाशाखाको रहने व्यवस्था छ।
नीतिगत अन्तरक्रियामा पर्यटन मन्त्री, संसद्को पर्यटनसँग सम्बन्धित समिति, मन्त्रालयका सचिवहरू, निजी क्षेत्र, कोसी प्रदेश पर्यटन वर्षको निर्देशक समितिका सदस्यहरू तथा पर्यटन व्यवसायी कार्यक्रममा सहभागी थिए।
कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पर्यटन प्रवर्द्धन र विकास दीर्घकालीन सोचका साथ अघि बढ्ने गरी पर्यटन वन तथा वातावरण मन्त्रालयले काम गर्न निर्देशन दिए।
उनले भने, ‘पर्यटनको विकास र प्रवर्द्धन बिहे गरेजस्तो एक दिने कार्य होइन, यो वर्षौं लगाएर गर्ने काम हो। त्यसैले दीर्घकालीन सोचका साथ अगाडि बढ्नुपर्छ।’
Shares

प्रतिक्रिया