इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले इटहरीका पत्रकारमाथि सामाजिक सञ्जालमार्फत अपमानजनक टिप्पणी गरेको भन्दै नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाले आपत्ति जनाएको छ।
महासङ्घका सचिव विनय बाह्रकोटीले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै मेयर पौडेलले ‘समाचार प्रकाशित हुने विषय सचिवालयमा अघिल्लो दिन नै जानकारी हुने र दानापानी नझरेपछि लाज छोप्न प्रकाशनरप्रसारण हुने’ भन्ने अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाएका हुन्।
महासङ्घले यस्तो अभिव्यक्ति पदीय मर्यादा विपरीत भएको भन्दै खेद व्यक्त गरेको छ।
महासङ्घले प्रेस स्वतन्त्रताको खिलाफमा भएको उक्त अभिव्यक्तिको घोर भर्त्सना गर्दै आरोप पुष्टि गर्न मेयर पौडेललाई चेतावनीसमेत दिएको छ।
विज्ञप्तिमा इटहरीमा पटक–पटक मेयर र पत्रकार बिच भइरहेको टकरावले सार्वजनिक वृत्तमा नकारात्मक सन्देश गइरहेको उल्लेख गरिएको छ।
साथै, आलोचना र प्रश्न पत्रकारिताको धर्म भएको भन्दै महासङ्घले पत्रकारको भूमिकालाई सम्मान गर्न आग्रह गरेको छ।
Shares

प्रतिक्रिया